मधुमेह, थाइराइडलगायत हर्मोन तथा ग्रन्थीसम्बन्धी रोगको विशेषज्ञ उपचार उपलब्ध हुने; डा. अञ्जल विष्टद्वारा सेवा प्रदान
बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका–५, सिटी सेन्टर उत्तर धर्मकाँटा रोडस्थित कनकाई अस्पतालमा इन्डोक्राइनोलोजी (हर्मोन तथा ग्रन्थी रोग) सम्बन्धी विशेषज्ञ सेवा सुरु भएको छ।

लामो समयदेखि बिर्तामोड क्षेत्रमा गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले विशेषज्ञ सेवाको दायरा विस्तार गर्ने क्रममा नयाँ सेवा सञ्चालनमा ल्याएको हो।

इन्डोक्राइनोलोजीमा डीएम उपाधि हासिल गर्नुभएका विशेषज्ञ चिकित्सक डा. अञ्जल विष्टद्वारा मंसिर २ गतेदेखि हर्मोन तथा ग्रन्थीसम्बन्धी रोगको विशेषज्ञ उपचार सेवा सुरु गरिएको अस्पतालले जनाएको छ। आइतबार अस्पताल परिसरमा सञ्चारकर्मीसँग भेटघाट कार्यक्रम आयोजना गरी अस्पतालले नयाँ सेवाबारे जानकारी दिएको हो।

अस्पतालका अध्यक्ष युवराज डाँगीका अनुसार डा. विष्टले विशेषगरी मधुमेह (डायबिटिज), थाइराइड, पिट्युटरी ग्रन्थी, एड्रिनल ग्रन्थी तथा महिलामा देखिने पीसीओएसलगायत हर्मोनसम्बन्धी विभिन्न रोग तथा स्वास्थ्य समस्याको विशेषज्ञ उपचार प्रदान गर्नुहुनेछ।

वीर अस्पतालमा लामो समयसम्म अध्ययन, अध्यापन तथा चिकित्सकीय अभ्यासको अनुभव हासिल गर्नुभएका डा. विष्ट इन्डोक्राइनोलोजी क्षेत्रका अनुभवी विशेषज्ञ चिकित्सक हुनुहुन्छ। उहाँले रुमाटोलोजी (बाथरोग) तथा क्लिनिकल इम्युनोलोजीमा समेत फेलोसिप प्रशिक्षण पूरा गर्नुभएको अस्पतालले जनाएको छ।

डा. विष्टको शैक्षिक, अध्यापन तथा चिकित्सकीय अनुभवबाट यस क्षेत्रका बिरामीले हर्मोन तथा ग्रन्थीसम्बन्धी जटिल स्वास्थ्य समस्याको पहिचान, परामर्श र विशेषज्ञ उपचार स्थानीय स्तरमै प्राप्त गर्न सहज हुने अस्पतालको अपेक्षा छ।

पत्रकार भेटघाटका क्रममा डा. विष्टले हर्मोन तथा ग्रन्थीसम्बन्धी रोग के हुन्, तिनले मानव शरीरमा पार्न सक्ने असर, रोगका लक्षण, पहिचान तथा उपचार विधिबारे जानकारी दिनुभएको थियो।

नयाँ विशेषज्ञ सेवा सञ्चालनसँगै मधुमेह, थाइराइड तथा अन्य हर्मोनसम्बन्धी समस्याबाट प्रभावित बिरामीलाई उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने विश्वास अस्पतालले व्यक्त गरेको छ।