बिहिवार, मंसिर ४, २०८३
Sancharmanch

स्वदेशमै रोजगारी सिर्जना गर्दै युवा उद्यमी अनन्तलाल महतो, बिर्तामोडमै उत्पादन हुन थाले सिजनअनुसारका ब्रान्डेड कपडा

Posted by:
बिहिवार, मंसिर ४, २०८३
गणपति गार्मेन्टले ३० जनालाई दियो रोजगारी, वार्षिक एक करोड रुपैयाँको कारोबार; नेपाली बजारमा स्थानीय उत्पादनको माग बढ्दै बिर्तामोड । स्वदेशमै उद्योग स्थापना गरेर उत्पादन र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् युवा उद्यमी अनन्तलाल महतो। बिर्तामोड उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका महतोले सञ्चालन गर्दै आएको गणपति गार्मेन्ट अर्थात् कपडा सिलाइ उद्योगले ३० जना युवालाई रोजगारी प्रदान गरेको छ। बिर्तामोडमै सञ्चालित यस उद्योगले गर्मी र जाडो दुवै मौसमका लागि आवश्यक विभिन्न प्रकारका कपडा उत्पादन गर्दै आएको छ। महिला, पुरुष तथा बालबालिकाका लागि तयार पारिने यहाँका कपडा अहिले नेपाली बजारका विभिन्न क्षेत्रमा बिक्री–वितरण हुन थालेका छन्। बजारमा प्रचलित नयाँ डिजाइन र फेसनअनुसार कपडा उत्पादन गर्दै आएको उद्योगले गुणस्तरीय कपडा, आकर्षक डिजाइन र सिलाइको उत्कृष्ट फिनिसिङलाई प्राथमिकता दिएको सञ्चालक महतो बताउनुहुन्छ। बजारमा माग बढ्दै गएका कारण मागअनुसार उत्पादन गर्नसमेत कठिन भइरहेको उहाँको भनाइ छ। उद्योगभित्र कपडा उत्पादनका विभिन्न चरणमा कर्मचारीहरू परिचालित छन्। डिजाइनअनुसार कपडा तयार पार्ने, सिलाइ गर्ने, फिनिसिङ गर्ने र बजारमा पठाउनेसम्मका काम उद्योगबाटै हुने गरेका छन्। यहाँ उत्पादित कपडा नेपालका विभिन्न स्थानमा बिक्रीका लागि पुग्ने गरेको उद्यमी महतोले बताउनुभयो। उद्योगमा विपन्न परिवारका सदस्यहरूले समेत रोजगारी पाएका छन्। स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुर्‍याउनु उद्योगको अर्को महत्त्वपूर्ण पक्ष रहेको छ। महतोका अनुसार उद्योगले वार्षिक करिब एक करोड रुपैयाँको कारोबार गर्दै आएको छ। व्यवसाय सञ्चालनका लागि पछिल्लो समय बैंकको ब्याजदर घट्दा केही सहज भएको सञ्चालक महतोको अनुभव छ। सरकारको उत्पादनमुखी नीतिले स्वदेशमै उद्योग स्थापना गरी वस्तु उत्पादन गर्न प्रोत्साहन मिलेको उहाँ बताउनुहुन्छ। उद्योगका लागि आवश्यक कच्चा पदार्थ तथा सामग्री आयात र भन्सार प्रक्रियामा समेत थप सहजीकरण हुन सके उत्पादन लागत घटाउन र नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने उहाँको धारणा छ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीति, उद्यमशील युवाको लगानी र स्थानीय श्रमशक्तिको उपयोगले रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा योगदान पुर्‍याउन सक्छ। बिर्तामोडमै सिजनअनुसारका कपडा उत्पादन गरेर देशका विभिन्न बजारमा पुर्‍याइरहेको गणपति गार्मेन्टले स्थानीय उद्योगको सम्भावना र क्षमतालाई उजागर गरेको छ। रोजगारीका लागि विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला आफ्नै ठाउँमा उद्योग स्थापना गरेर ३० जनालाई रोजगारी दिनु सकारात्मक प्रयास हो। यस्ता उद्योगलाई राज्यको नीतिगत सहयोग, सहुलियतपूर्ण वित्तीय पहुँच र बजार विस्तारमा साथ मिल्न सके स्थानीय उत्पादनले थप बजार पाउनुका साथै स्वदेशमै रोजगारीका अवसर विस्तार हुन सक्छन्।
सम्बन्धित खबर