झापा/ झापाको बिर्तामोड नगरपालिका–६ स्थित स्यालडाँगी कुनै समय सामाजिक तथा सांस्कृतिक गतिविधिका दृष्टिले बिर्तामोडकै अग्रणी क्षेत्रका रूपमा परिचित थियो।

तर, आर्थिक अभाव र रोजगारीका अवसरको खोजीमा युवाहरू क्रमशः विदेशिन थालेपछि गाउँमा हुने सामाजिक तथा सांस्कृतिक गतिविधि पनि सुस्ताउँदै गए।

यससँगै स्थानीय समुदाय विभिन्न परम्परा र सांस्कृतिक गतिविधिबाट टाढिँदै गएको थियो।

यद्यपि, सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद केही युवाले सामाजिक सक्रियतालाई निरन्तरता दिइरहे। यही सक्रियतालाई संस्थागत रूप दिँदै युवाहरूको एउटा समूह ‘एक्टिभ ग्रुप’का रूपमा अघि बढेको छ।

एल्विन्द्र खत्रीको नेतृत्वमा २०८३ सालको विजयादशमी नजिकै विधिवत् रूपमा स्थापना भएको एक्टिभ ग्रुपले छोटो समयमै सामाजिक तथा सांस्कृतिक क्षेत्रमा उल्लेखनीय गतिविधि सञ्चालन गरेको छ।

संस्था स्थापनासँगै विजयादशमीको अवसरमा दुर्गा पूजा, समाजमा योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान तथा विविध सांस्कृतिक र सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो।

त्यसपछि हिन्दू धर्मावलम्बीहरूको अर्को महत्वपूर्ण पर्व छठका अवसरमा पनि बृहत् कार्यक्रम आयोजना गर्दै समूहले स्थानीय कला, संस्कृति, परम्परा र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने प्रयास गरेको छ।

एक्टिभ ग्रुपका गतिविधि केवल पर्व र उत्सवमा सीमित छैनन्। समाजमा सकारात्मक योगदान पुर्याउने व्यक्तिहरूको सम्मानमार्फत सामाजिक उत्तरदायित्व र सेवाभावलाई प्रोत्साहन गर्ने अभियानसमेत समूहले अघि बढाएको छ। सांस्कृतिक कार्यक्रमसँगै समाजसेवीहरूको सम्मानले नयाँ पुस्तालाई सामाजिक काममा जोड्न र समुदायप्रति जिम्मेवार बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

स्यालडाँगीमा युवाहरूको यस्तो सक्रियताले सामाजिक तथा सांस्कृतिक गतिविधिलाई पुनर्जीवित गर्ने संकेत देखिएको छ। स्थानीय परम्पराको संरक्षण, सामाजिक सद्भावको प्रवर्द्धन र सामूहिक सहभागितालाई प्राथमिकता दिँदै अघि बढेको एक्टिभ ग्रुपले युवाशक्तिलाई समाज रूपान्तरणको अभियानमा जोड्ने प्रयास गरिरहेको छ।

आर्थिक तथा रोजगारीका कारण गाउँबाट युवाहरू बाहिरिने क्रम बढिरहेका बेला गाउँमै रहेर सामाजिक काममा सक्रिय युवाहरूको यो पहलले स्थानीय समुदायमा नयाँ उत्साह थपेको छ।

निरन्तरता, सामूहिक सहकार्य र संस्थागत योजनासहित अघि बढ्न सके स्यालडाँगीलाई सामाजिक तथा सांस्कृतिक गतिविधिको नमुना क्षेत्रका रूपमा स्थापित गर्न एक्टिभ ग्रुपको भूमिका महत्वपूर्ण हुने देखिन्छ।