बिर्तामोड, झापा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिर्तामोड नगर समितिको आयोजनामा सञ्चालित बृहत् देउसी–भैलो कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

रास्वपा बिर्तामोड नगर समितिका सचिव सृजन अधिकारीको नेतृत्वमा २०८३ साल कार्तिक २३ र २४ गते बिर्तामोड नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन गरिएको उक्त कार्यक्रममा पार्टीका नगर समिति पदाधिकारी, विभिन्न वडा सभापति, पार्टीका सदस्य, समर्थक तथा शुभचिन्तकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

तिहारको सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै सामाजिक एकता, भाइचारा, आपसी सद्भाव र सामूहिक सहभागिताको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगर समितिका सचिव अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त देउसी–भैलो कार्यक्रम नेपाली मौलिक संस्कृति र परम्पराको सम्मान गर्दै राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सामाजिक एकता र सद्भावलाई प्राथमिकतामा राखी सञ्चालन गरिएको थियो।

कार्यक्रममा सहभागी समर्थक तथा शुभचिन्तकहरूले उत्साहजनक सहभागिता जनाउँदै भाइटीकाको दिनसमेत देउसी–भैलो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।

पूर्वनिर्धारित कार्यक्रम तालिकाअनुसार कार्तिक २३ र २४ गतेको कार्यक्रम सम्पन्न गरिए पनि समर्थक तथा शुभचिन्तकहरूको आग्रहलाई मध्यनजर गर्दै भाइटीकाको दिनसमेत देउसी खेल्ने सम्भावना रहेको नगर समितिले जनाएको छ। उक्त कार्यक्रमले पार्टीका नेता तथा कार्यकर्ता, विभिन्न वडा तहका प्रतिनिधि र शुभचिन्तकहरूबीच आपसी सम्बन्ध, सहकार्य र संगठनात्मक एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ।

संस्कृतिको संरक्षण, सामाजिक एकता र सद्भावको प्रवर्द्धन गर्ने सन्देशसहित सम्पन्न बृहत् देउसी–भैलो कार्यक्रमले तिहारको मौलिकता र सामूहिक सहभागिताको महत्त्वलाई थप उजागर गरेको छ।