शनिवार, कार्तिक २२, २०८३
Sancharmanch

बिर्तामोडमा स्थानीय फूलको बजार विस्तार, आयातित फूललाई विस्थापित गर्ने प्रयास

Posted by:
शनिवार, कार्तिक २२, २०८३
विषादीयुक्त आयातित फूललाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता, ‘अनुकृति गार्डेन’मा सम्झना फूल बनेर फुल्दै बिर्तामोड । झापाको व्यस्त सहर बिर्तामोडमा स्थानीय स्तरमै उत्पादित फूलले बजार पाउन थालेको छ। बिर्तामोड नगरपालिकाले आयातित फूलको बिक्रीलाई निरुत्साहित गर्दै स्थानीय कृषकले उत्पादन गरेका फूललाई प्राथमिकता दिन थालेपछि नेपाली फूलले बजार विस्तार गर्ने अवसर पाएको हो। नगरपालिकाको यो पहलले फूलमा आत्मनिर्भर बन्ने सम्भावना बढाउनुका साथै स्थानीय कृषकलाई उत्पादन र बजारीकरणमा प्रोत्साहन गरेको छ। बिर्तामोड नगरपालिका–१० तेलकानीमा राम खत्रीले व्यावसायिक रूपमा फूल खेती गर्दै आउनुभएको छ। यसअघि च्याउको बीउ उत्पादन तथा बिक्री गर्दै आउनुभएका खत्रीले पारिवारिक दुःखद घटनापछि फूल खेती सुरु गर्नुभएको हो। परिवारकी सानी नानी अनुकृतिको टिपर दुर्घटनामा परी निधन भएपछि उहाँकै सम्झनामा खत्रीले फूल खेती सुरु गर्नुभएको हो। ‘अनुकृति गार्डेन’ नामबाट सञ्चालन गरिएको फूल खेतीको नारा छ—‘जहाँ सम्झना फूल बनेर फुल्छन्।’ व्यक्तिगत पीडालाई सिर्जनात्मक कर्ममा रूपान्तरण गर्दै सुरु गरिएको यो फूल खेती अहिले स्थानीय उत्पादन र बजारीकरणको एउटा उदाहरण बनेको छ। शनिबार बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष रोहित प्रसाईले अनुकृति गार्डेनको स्थलगत अवलोकन गर्नुभएको थियो। स्थानीय कृषकलाई प्रोत्साहन गर्ने तथा उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले उहाँले फूल खेतीको अवस्थाबारे जानकारी लिनुभएको हो। स्थानीय फूल उत्पादक कृषकलाई बजारीकरणमा सहजता पुर्‍याउन बिर्तामोड–५ स्थित कृषिथोक बजारभित्र छुट्टै फूल बिक्री स्टल स्थापना गर्न पनि वडाध्यक्ष प्रसाईको महत्त्वपूर्ण भूमिका रहेको छ। यसले कृषकलाई आफ्नो उत्पादन बिक्री गर्न सहज वातावरण तयार गरेको छ। त्यसैगरी, बिर्तामोड नगरपालिका कृषि विकास शाखाका प्राविधिक सुजित शाहले फूल खेतीको अवलोकन गर्नुका साथै कृषकलाई आवश्यक प्राविधिक सहयोगसमेत गर्दै आउनुभएको छ। उत्पादन बढाउन, खेतीलाई व्यवस्थित बनाउन र गुणस्तरीय फूल उत्पादन गर्न प्राविधिक सहयोग महत्त्वपूर्ण हुने देखिन्छ। बिर्तामोड नगरपालिका–३ स्थित बिर्ता बजारको कृषि भवन अगाडि पनि फूल बिक्रीका लागि स्टल स्थापना गरिएको छ। स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले नगरपालिकाले विभिन्न स्थानमा बिक्रीको व्यवस्था मिलाउन थालेको हो। ‘पारिको होइन, बारीको खाऔँ’ भन्ने नारासहित कृषि गतिविधि अघि बढाउँदै आएको बिर्तामोड नगरपालिकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिएको छ। आयातित फूलमा विषादी प्रयोग तथा गुणस्तरसम्बन्धी जोखिम हुन सक्ने भन्दै त्यस्ता फूलको बिक्रीलाई निरुत्साहित गरी स्थानीय कृषकले उत्पादन गरेका फूललाई बजारमा प्राथमिकता दिने पहल गरिएको हो। नगरपालिकाको यो निर्णयले स्थानीय कृषकलाई उत्पादनको उचित मूल्य पाउने वातावरण सिर्जना गर्न सहयोग पुर्‍याएको छ। साथै उपभोक्ताले पनि स्थानीय स्तरमै उत्पादित फूल खरिद गर्न पाउने भएका छन्। बिर्तामोडजस्तो तीव्र सहरीकरण भइरहेको सहरमा फूलको माग ठूलो छ। यस मागलाई स्थानीय उत्पादनबाटै पूरा गर्न सके कृषकको आम्दानी बढ्नुका साथै बाह्य बजारमाथिको निर्भरता पनि घट्न सक्छ। तर, यसका लागि फूल खेतीलाई मौसमी उत्पादनमा मात्र सीमित नराखी व्यावसायिक विस्तार, गुणस्तरीय उत्पादन, नियमित बजार व्यवस्थापन र कृषकलाई निरन्तर प्राविधिक सहयोग आवश्यक देखिन्छ। स्थानीय उत्पादनलाई बजारमा प्राथमिकता दिने नगरपालिकाको पहलले कृषक र उपभोक्ता दुवैलाई लाभ पुर्‍याउने अपेक्षा गरिएको छ। अब स्थानीय फूलको उत्पादन र बजारीकरणलाई थप व्यवस्थित बनाउन सके बिर्तामोड फूलमा समेत आत्मनिर्भर सहर बन्ने सम्भावना देखिएको छ।
सम्बन्धित खबर