२०४५ सालदेखि विद्यार्थी राजनीतिबाट सुरु भएको ढकालको राजनीतिक यात्रा प्रदेश सभा क्षेत्रीय सभापतिमा पुनः निर्वाचित भएसँगै नयाँ जिम्मेवारीमा
झापा । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति झापा–४ (१) को पहिलो बैठक सभापति विनोद ढकालको सभापतित्वमा सम्पन्न भएको छ। बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबीच परिचयात्मक कार्यक्रम, धन्यवाद ज्ञापन र शुभकामना आदानप्रदान गरिएको थियो।

बैठकमा प्रदेश सभा क्षेत्रभित्रका महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, प्रदेश कार्यसमिति सदस्य, वडा तथा गाउँ–नगर सभापतिलगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले नवनिर्वाचित सभापति ढकालसहित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

सभापति ढकालको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। उहाँले वि.सं. २०४५ मा श्री मोती माध्यमिक विद्यालय, शिवसताक्षी–२ (साबिक धरमपुर गाविस–५) मा नेपाल विद्यार्थी संघको इकाइ सचिवको जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रा सुरु गर्नुभएको थियो।

वि.सं. २०५५ मा कनकाई क्याम्पस, सुरुङ्गाको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा निर्वाचित हुनुभएका ढकालले त्यसपछि स्थानीय तह तथा पार्टी संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। उहाँले वि.सं. २०५८ देखि २०७३ सम्म धरमपुर गाविस सञ्चालन संयन्त्रमा रहेर काम गर्नुभएको थियो।

नेपाली कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा धरमपुर गाउँ कार्यसमितिको सभापतिमा निर्वाचित हुनुभएका ढकाल १४औँ महाधिवेशनमा झापा क्षेत्र नम्बर ४ (१) को प्रदेश सभा क्षेत्रीय सभापति बन्नुभएको थियो। पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका उहाँ २०८३ असोज १३ गते सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट पुनः सभापतिमा निर्वाचित हुनुभएको हो।
राजनीतिक गतिविधिसँगै सहकारी तथा सामाजिक क्षेत्रमा पनि ढकालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।
झापा क्षेत्र नम्बर ४ (१) अन्तर्गत ११ वटा वडा समेटिएका छन्। यस क्षेत्रभित्र शिवसताक्षी नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ८ र ११ तथा गौरीगञ्ज गाउँपालिकाका वडा नम्बर १ र २ एवं गौरादह नगरपालिकाको वडा नम्बर ९ पर्दछन्।
पहिलो बैठकसँगै नवनिर्वाचित क्षेत्रीय कार्यसमितिले आफ्नो कार्यकालको औपचारिक सुरुवात गरेको छ। अब क्षेत्रभित्रका वडा तथा स्थानीय तहका पार्टी संरचनालाई समन्वय गर्दै संगठन विस्तार, कार्यकर्ताबीच एकता र पार्टी गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी नयाँ नेतृत्वसामु रहेको छ।