बिहिवार, कार्तिक २०, २०८३
Sancharmanch

उद्घाटन भयो बिर्तामोड वडा नं. ६, ७ र ८ जोड्ने बुट्टाबारी–प्याकुरेल चोक सडक

Posted by:
बुधवार, कार्तिक १९, २०८३
बिर्तामोड, १८ कात्तिक / बिर्तामोड नगरपालिका वडा नं. ६, ७ र ८ जोड्ने बुट्टाबारी–प्याकुरेल चोक सडकको औपचारिक उद्घाटन गरिएको छ। एक औपचारिक कार्यक्रमका बीच आज कोशी प्रदेशका सांसद पूर्व खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की र बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले रिबन काटेर सडकको उद्घाटन गर्नुभएको हो। विश्व बैंकको ५८ करोड ८३ लाख ५९ हजार ५ सय ६५ रुपैयाँ लागतमा निर्माण गरिएको उक्त सडकको लम्बाइ ६.२५ किलोमिटर र चौडाइ १२ मिटर रहेको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिनुभयो। यस सडक निर्माणका लागि २०८० वैशाख २९ गते आरपी साप समता जेभीले ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो। नगरप्रमुख प्रसाईले २०८० वैशाख २६ गते सडक निर्माणको शिलान्यास गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद कार्कीले पछिल्लो समय देशमा केही नभएको भन्दै गलत भाष्य निर्माण गरिए पनि पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय काम भएको बताउनुभयो। बुट्टाबारी–प्याकुरेल सडक निर्माणका लागि आफूहरूले लामो समयदेखि गरेको पहलले सार्थकता पाएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो। त्यस्तै नगरप्रमुख पवित्रा महतारा प्रसाईले विभिन्न चुनौतीको सामना गर्दै सडक निर्माण सम्पन्न गरिएको बताउनुभयो। हेर्दा सामान्य देखिए पनि भौगोलिक अवस्थाका कारण निर्माण कार्य कठिन रहेको उल्लेख गर्दै उहाँले सडकलाई नमुना सडकका रूपमा निर्माण गरिएको बताउनुभयो। उहाँले सडकको दायाँबायाँ सोलार बत्ती जडानका लागि प्रदेश सरकारसँग पहल भइरहेको जानकारी दिनुभयो। सडक निर्माण सम्पन्न भएसँगै स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै यस क्षेत्रको विकास र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। नगर प्रमुख प्रसाईको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल सहरी शासकीय पूर्वाधार आयोजना कार्यालयका निर्देशक लीला खतिवडा, नेकपा एमालेका नेता देवराज कार्की, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति कुलप्रसाद संग्रौला, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति दीपक दाहाललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका स्थानीय नेतृत्व, कर्मचारी तथा स्थानीय उपभोक्ताको उपस्थिति रहेको थियो।
सम्बन्धित खबर