सोमवार, कार्तिक १७, २०८३
Sancharmanch

कञ्चनजङ्घा एफएम ९२.६ मेगाहर्ज: सम्झनामा ती दिनहरू, मनमा ती आवाजहरू

Posted by:
सोमवार, कार्तिक १७, २०८३
सृजन अधिकारी, बिर्तामोड–२, झापा/ केही आवाजहरू समयसँगै टाढा हुन्छन्, तर तिनले मनमा छोडेका सम्झनाहरू कहिल्यै टाढा हुँदैनन्। कञ्चनजङ्घा एफएम ९२.६ मेगाहर्ज मेरा लागि एउटा रेडियो स्टेसन मात्र होइन, बाल्यकाल र युवावस्थाका अविस्मरणीय सम्झनाहरू बोकेको एउटा आत्मीय इतिहास हो। २०५९ साल असोज २१ गते स्थापना भएको कञ्चनजङ्घा एफएमका संस्थापक आदरणीय चन्द्र भण्डारीज्यू हुनुहुन्थ्यो। झापामा रेडियो पत्रकारिता र स्थानीय प्रसारणको जग बसाल्न महत्त्वपूर्ण योगदान पुर्‍याएको यस एफएमले त्यस समयका श्रोताहरूको मनमा छुट्टै स्थान बनाउन सफल भएको थियो। त्यतिबेला एफएममा कार्यक्रम सञ्चालन गर्नुहुने आदरणीय व्यक्तित्वहरू कृष्ण धरावासी, शिरो सान्दाइ, लीला अनमोल, दीपेन्द्र पौडेल, केशव भट्टराई, उज्ज्वल प्रसाईँ, पिनाकी कोइरालालगायतलाई आज पनि सम्मानपूर्वक स्मरण गर्छु। ‘समवेदना’, ‘कार्यक्रम १५ मिनेट’ र ‘माटोको सुगन्ध’ जस्ता कार्यक्रमहरू कञ्चनजङ्घा एफएमका सम्झनासँग जोडिएका विशेष नाम हुन्। शिरो सान्दाइले सञ्चालन गर्नुहुने ‘समवेदना’, पिनाकी कोइरालासँग जोडिएको ‘कार्यक्रम १५ मिनेट’ र चन्द्र भण्डारीज्यूको ‘माटोको सुगन्ध’ ले रेडियोप्रतिको आत्मीयतालाई अझ गहिरो बनाएका थिए। स्थापना भएको पहिलो दिन नै फोन गरेर आफ्नो उपस्थिति जनाउँदाको त्यो सम्झना आज पनि ताजै छ। त्यतिबेला फोन गरेर कार्यक्रम सुन्ने, आफ्ना कुरा राख्ने र रेडियोका माध्यमबाट जोडिने जुन आनन्द थियो, त्यो आजका सामाजिक सञ्जालका माध्यममा कहाँ पाइएला र? बिहान राष्ट्रगानबाट सुरु हुने एफएमको प्रसारणसँगै दिनको सुरुवात गर्ने बानी धेरै श्रोताका लागि विशेष थियो। रेडियोबाट सुनिने आवाज, समाचार, गीत–सङ्गीत र कार्यक्रमहरूले हाम्रो दैनिकीलाई नै आत्मीय बनाएका थिए। मलाई सम्झना छ, बिर्तामोड–१ मा रहेको कञ्चनजङ्घा एफएमको तत्कालीन कार्यालय पुग्न अहिलेको राजगढ बसस्ट्यान्डबाट उत्तरतर्फ लागेर धर्मेन्द्र लिङ्देनज्यूको घरभन्दा केही उत्तर पुगेपछि करिब २५० मिटर पश्चिमतर्फ जानुपर्थ्यो। पछि एफएमको कार्यालय हरिकलाल मार्गमा सारिएको थियो। ‘कार्यक्रम १५ मिनेट’ कै क्रममा म स्वयं पनि एफएममा पुगेको थिएँ। आदरणीय कार्यक्रम सञ्चालक पिनाकी कोइरालाज्यूसँग आफ्ना विचार र अनुभवहरू राख्ने अवसर पाएको त्यो क्षण मेरा लागि विशेष सम्झना बनेर बसेको छ। आज समय बदलिएको छ। सञ्चारका माध्यम बदलिएका छन्। प्रविधिले फड्को मारेको छ। सामाजिक सञ्जालले संसारलाई नजिक ल्याएको छ। तर रेडियोको त्यो आत्मीयता, फोनको घण्टीसँग जोडिएको उत्सुकता र कार्यक्रम सञ्चालकसँग प्रत्यक्ष संवाद गर्न पाउँदाको खुसीको आफ्नै महत्त्व थियो। आज बिर्तामोडलाई सम्झँदा कञ्चनजङ्घा एफएमबिनाको बिर्तामोड केही अधुरो–अधुरो लाग्छ। कञ्चनजङ्घा एफएमले केवल गीत–सङ्गीत र सूचना मात्र प्रसारण गरेन; यसले स्थानीय आवाजलाई स्थान दियो, समाजलाई जोड्यो र झापामा रेडियो पत्रकारिताको विकासमा योगदान पुर्‍यायो। त्यसैले यस एफएमसँग जोडिएका सम्झनाहरू व्यक्तिगत स्मृतिमा मात्र सीमित छैनन्, यो हाम्रो स्थानीय सञ्चार इतिहासको पनि एउटा महत्त्वपूर्ण पाटो हो। आज पनि ती पुराना कार्यक्रम, ती परिचित आवाज र ती अविस्मरणीय दिनहरू सम्झँदा मन भावुक हुन्छ।कञ्चनजङ्घा एफएमका संस्थापक चन्द्र भण्डारीज्यूलगायत यस यात्रामा योगदान पुर्‍याउनुहुने सम्पूर्ण अग्रज, कार्यक्रम सञ्चालक, प्राविधिक, पत्रकार तथा कर्मचारीहरूप्रति हार्दिक सम्मान र कृतज्ञता व्यक्त गर्दछु। कञ्चनजङ्घा एफएम ९२.६ मेगाहर्ज—हाम्रो सम्झनामा, हाम्रो मनमा र झापाको सञ्चार इतिहासमा सधैँ सम्मानका साथ रहनेछ।
सम्बन्धित खबर