मङ्गलवार, कार्तिक ४, २०८३
Sancharmanch

विपन्न परिवारको घरमा दसैँको खुसी बाँड्दै रास्वपा बिर्तामोड

Posted by:
मङ्गलवार, कार्तिक ४, २०८३
बिर्तामोड । दसैँ सबैका लागि खुसी, उमङ्ग र उत्सवको पर्व हो। तर आर्थिक अभावका कारण कतिपय परिवारका लागि दसैँको खुसी टाढाको विषय बन्ने गरेको छ। यस्तै अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिर्तामोड नगर समितिले विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्दै दसैँको खुसी बाँड्ने प्रयास गरेको छ। रास्वपा बिर्तामोड नगर समितिले बडादसैँको पूर्वसन्ध्यामा महाअष्टमीका दिन बिर्तामोड नगरपालिका–४, कञ्चनजङ्घा टोलमा स्थायी बसोबास गर्दै आउनुभएका सोममाया कुमाल र उहाँका श्रीमान् जोगेन्द्र रायलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो। छरछिमेकमा दसैँको रमझम चलिरहेका बेला आर्थिक अभावका कारण चाडपर्व मनाउन कठिनाइ भोगिरहेका परिवारलाई सहयोग गर्ने उद्देश्यले नगर समितिले सञ्चालन गरेको ‘सबैको दसैँ’ अभियानअन्तर्गत उक्त सहयोग गरिएको हो। परिवारको अवस्थाबारे जानकारी पाएपछि रास्वपा नगर समितिका पदाधिकारी तथा सदस्यहरू उहाँहरूको बासस्थानमै पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए। चाडपर्वका बेला विपन्न परिवारको घरमा पनि मिठोमसिनो पाक्न सकोस् र उनीहरूले समेत दसैँको खुसी अनुभूति गर्न सकून् भन्ने उद्देश्यले सहयोग गरिएको समितिले जनाएको छ। सुकुम्बासी रहेका सोममाया र जोगेन्द्रको परिवारमा उहाँहरू दुई जना मात्रै बसोबास गर्दै आउनुभएको छ। आर्थिक अवस्था कमजोर रहेका कारण चाडपर्व मनाउनसमेत कठिनाइ भइरहेको अवस्थामा गरिएको सहयोगले उहाँहरूको मुहारमा खुसी ल्याउने अपेक्षा गरिएको छ। दसैँलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी दुःखमा रहेका नागरिकसँग खुसी साट्ने अवसरका रूपमा लिनुपर्ने सन्देशसमेत यस अभियानले दिएको छ। चाडपर्वको वास्तविक खुसी एकअर्कालाई सहयोग गर्ने, मानवीय संवेदना देखाउने र समाजमा आपसी सद्भाव कायम राख्ने कार्यमा निहित हुन्छ। रास्वपा बिर्तामोड नगर समितिको ‘सबैको दसैँ’ अभियानले आर्थिक अभावमा रहेका परिवारलाई चाडपर्वको खुसीमा सहभागी गराउने प्रयास गरेको छ। यस्ता मानवीय पहलले सामाजिक उत्तरदायित्व र सहकार्यको भावना विकास गर्न सहयोग पुर्‍याउन सक्छन्।
सम्बन्धित खबर