झापा : डिजिटल पत्रकारिताको क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै अन्तु मिडिया प्रा.लि.द्वारा सञ्चालित अनलाइन न्युज पोर्टल ‘अन्तु टाइम्स डटकम’ सञ्चालनमा आएको छ।

झापाको बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको यस सञ्चार माध्यमले खोजमूलक पत्रकारिता, तथ्यपरक समाचार र जनसरोकारका विषयलाई प्राथमिकता दिने लक्ष्य लिएको छ।
अन्तु मिडिया प्रा.लि. सञ्चार क्षेत्रसँग सम्बन्धित रहेर काम गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो। कम्पनी रजिस्ट्रारको कार्यालयमा आर्थिक वर्ष २०७६/०७७ मा दर्ता भएको यस कम्पनीले पछिल्लो समय डिजिटल पत्रकारितामार्फत आफ्नो कार्यक्षेत्र विस्तार गरेको हो। कम्पनीका सञ्चालकमा सुरेन्द्र भण्डारी र चान मोहम्मद रहेका छन् भने नवीन भण्डारी सम्पादक छन्।
विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सुरेन्द्र भण्डारी खोजमूलक पत्रकारितामा विशेष रुचि राख्छन्। उनकै नेतृत्वमा पत्रकारहरूको टोलीले अन्तु टाइम्स डटकम सञ्चालन गर्नेछ। छापा पत्रकारिताको अनुभवलाई आधुनिक डिजिटल प्रविधिसँग जोड्दै विश्वसनीय र जनमुखी पत्रकारिताको अभ्यास गर्ने लक्ष्य सञ्चार माध्यमले लिएको छ।
सूचना प्रविधिको तीव्र विकाससँगै समाचार प्राप्त गर्ने माध्यम र पाठकको रुचिमा परिवर्तन आएको छ। मोबाइल फोन र इन्टरनेटको पहुँचले सूचना प्रवाहलाई सहज र तीव्र बनाए पनि गलत सूचना, अपुष्ट समाचार र भ्रामक सामग्रीको चुनौती बढ्दै गएको छ। यस्तो अवस्थामा समाचार छिटो सम्प्रेषण गर्नु मात्र पर्याप्त हुँदैन, त्यसको सत्यता, विश्वसनीयता र सन्तुलन कायम गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
यही आवश्यकतालाई आत्मसात् गर्दै अन्तु टाइम्सले तथ्यको खोजी, समाचार स्रोतको प्रमाणीकरण, सम्बन्धित पक्षको धारणा र विषयवस्तुको सन्तुलित प्रस्तुतिलाई प्राथमिकता दिने लक्ष्य लिएको छ। सार्वजनिक सरोकारका विषय, विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, सुशासन, अनियमितताका सम्भावित घटना र नागरिकले भोगिरहेका समस्यालाई तथ्यका आधारमा उजागर गरिने प्रकाशकसमेत रहेका भण्डारीले बताए।
अन्तु टाइम्सले खोजमूलक समाचारसँगै समाजमा सकारात्मक परिवर्तन ल्याएका व्यक्ति तथा संस्थाका सफलताका कथा, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन र साहित्यसम्बन्धी सामग्रीलाई पनि प्राथमिकताका साथ प्रस्तुत गर्ने भण्डारीले बताए। स्थानीयस्तरका समस्या, सम्भावना र उपलब्धिलाई उजागर गर्दै आम नागरिकका आवाजलाई सञ्चारको मूल प्रवाहमा ल्याउने उनको भनाइ छ।
लिखित समाचारसँगै श्रव्यदृश्य सामग्रीको उत्पादन र प्रसारणलाई पनि प्राथमिकता दिइने भण्डारीले बताए। आधिकारिक फेसबुक पेज र युट्युबमार्फत भिडियो समाचार तथा सूचनामूलक सामग्री सार्वजनिक गर्ने तयारी गरिएको उनले जानकारी दिए। यसबाट समाचार पढ्न रुचाउने पाठकसँगै भिडियोमार्फत सूचना प्राप्त गर्न चाहने दर्शकमाझ पनि पहुँच विस्तार हुने अपेक्षा गरिएको उनको भनाइ छ।
डिजिटल सञ्चार माध्यमबीच बढ्दो प्रतिस्पर्धाका क्रममा आर्थिक स्थायित्व, दक्ष जनशक्ति, प्रविधिको प्रयोग र समाचारको गुणस्तर कायम राख्नु चुनौतीपूर्ण रहेको अर्का सञ्चालक चान मोहम्मदले बताए। उनका अनुसार अन्तु टाइम्सले लोकप्रियता र सनसनीपूर्ण प्रस्तुतिभन्दा तथ्य, निष्पक्षता र जनविश्वासलाई प्राथमिकता दिनेछ। पत्रकार आचारसंहिताको पालना, समाचार र विचारबीचको स्पष्ट भिन्नता तथा त्रुटि सच्याउने व्यावसायिक अभ्यासले सञ्चार माध्यमको विश्वसनीयता बलियो बनाउने उनको भनाइ छ।
अन्तु टाइम्सको उद्देश्य समाचार सम्प्रेषणमा मात्र सीमित नरही समाजका विविध सवाल उजागर गर्नु, सार्वजनिक निकायलाई जवाफदेही बनाउन सहयोग गर्नु र सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नु पनि रहेको मोहम्मदले बताए। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी, वातावरण र सुशासनजस्ता विषयलाई प्राथमिकता दिँदै स्थानीय मुद्दालाई व्यापक बहसमा ल्याउने लक्ष्य रहेको उनले जानकारी दिए।
सूचनाको भीडमा सत्य र तथ्य पहिचान गर्न कठिन हुँदै गएको वर्तमान समयमा अन्तु टाइम्सले जिम्मेवार डिजिटल पत्रकारिताको अभ्यासलाई अघि बढाउने सम्पादक नवीन भण्डारीले बताए। सञ्चार माध्यमको वास्तविक पहिचान घोषणाबाट नभई समाचारको गुणस्तर, सम्पादकीय स्वतन्त्रता, व्यावसायिक आचरण र पाठकको विश्वासबाट स्थापित हुने उनको भनाइ छ।