मोरङको रतुवामाईस्थित जानकी आधारभूत विद्यालयका विपन्न समुदायका विद्यार्थीलाई ट्र्याकसुट प्रदान; प्रतिष्ठानले शिक्षा, सीप विकास र महिला सशक्तीकरणका क्षेत्रमा सहयोग गर्दै
मोरङ । गोपाल गौरी दिगो विकास प्रतिष्ठान, चाबहिल–७, काठमाडौँले सामुदायिक विद्यालयमा अध्ययनरत १४५ जना विद्यार्थीलाई न्यानो कपडास्वरूप ट्र्याकसुट वितरण गरेको छ।

मोरङ जिल्लाको रतुवामाई नगरपालिका–४ मा रहेको श्री जानकी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीलाई लक्षित गरी कपडा वितरण गरिएको प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष इन्दिरा शर्मा गौतमले जानकारी दिनुभयो।

प्रतिष्ठानकी अध्यक्ष शर्माले पारिवारिक जीवनमा श्रीमान् तथा तीन छोराको निधनपछि आफ्नो सम्पूर्ण सम्पत्ति प्रतिष्ठानलाई समर्पण गरी संस्था स्थापना गर्नुभएको हो। व्यक्तिगत पीडालाई सामाजिक सेवामा रूपान्तरण गर्दै उहाँले विपन्न तथा पछाडि पारिएका समुदायको उत्थानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ।

प्रतिष्ठानले विद्यालयका विद्यार्थीलाई गरेको सहयोगले विपन्न समुदायका बालबालिकालाई विद्यालयमा नियमित उपस्थित हुन थप प्रेरणा मिलेको विद्यालयका प्रधानाध्यापक भोला अधिकारीले बताउनुभयो। उहाँका अनुसार यस्ता सहयोगले विद्यार्थीको शैक्षिक निरन्तरतामा सकारात्मक योगदान पुर्याउँछन्।

अध्यक्ष शर्माका दुई सन्तानको पुण्यतिथि हरिबोधिनी एकादशीका दिन पर्ने भएकाले प्रतिष्ठानले उक्त दिनलाई स्मृतिमा जोड्दै वार्षिक कार्यक्रमका रूपमा हरेक वर्ष फरक–फरक सामुदायिक विद्यालयका विद्यार्थीलाई कपडा वितरण गर्दै आएको जनाएको छ।

शिक्षा क्षेत्रमा सहयोगसँगै प्रतिष्ठानले सीप विकास र महिला सशक्तीकरणका कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ। झापाको झिलझिलेमा आफ्नै स्वामित्वमा तीनतले भवन निर्माण गरी विपन्न परिवारका महिला तथा पछाडि पारिएका महिलालाई आवास सुविधासहित ढाका बुनाइ, सिलाइकटाइ, झोला सिलाइ लगायतका सीप सिकाउँदै आएको छ। सीपमार्फत महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रतिष्ठानले यस्ता कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

यसैगरी, प्रतिष्ठानको केन्द्रीय कार्यालय भवन निर्माणका लागि अध्यक्ष शर्मा गौतमको जीवनमा आधारित पुस्तक बिक्री अभियानसमेत सञ्चालन गरिएको छ। पुस्तक बिक्रीबाट प्राप्त रकम तथा अन्य स्रोतको सहयोगमा निर्माण गरिने भवनबाट विपन्न समुदायका नागरिकलाई सीप सिकाएर आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरिने अध्यक्ष शर्माले जानकारी दिनुभयो।

विपन्न विद्यार्थीलाई शैक्षिक निरन्तरताका लागि सहयोग गर्ने र महिलालाई सीप तथा रोजगारीसँग जोड्ने प्रतिष्ठानका यी गतिविधिले सामाजिक सेवाको दायरालाई फराकिलो बनाउने अपेक्षा गरिएको छ।