बुद्धशान्ति–२ को सुधुकुटीमा स्थानीयको उल्लेखनीय सहभागितामा देउसी–भैलो कार्यक्रम सम्पन्न
तारा आचार्य(रिजाल)/बुद्धशान्ति/ बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका–२, सुधुकुटीस्थित कमलेश्वर महादेव मन्दिरको व्यवस्थापन तथा आवश्यक खर्च जुटाउने उद्देश्यले आयोजित देउसी–भैलो कार्यक्रम सम्पन्न भएको छ।

हिन्दूहरूको महान् पर्व शुभदीपावलीको अवसर पारेर मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको देउसी–भैलो कार्यक्रम वडाका विभिन्न टोलमा पुगेर सम्पन्न भएको हो।

कार्यक्रममा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।

देउसी–भैलो कार्यक्रममार्फत हालसम्म एक लाख १० हजार रुपैयाँ संकलन भएको र केही रकम संकलन हुने क्रम अझै जारी रहेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रामप्रसाद उप्रेतीले जानकारी दिनुभयो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारदमणि आचार्यको नेतृत्वमा आयोजना गरिएको कार्यक्रममा स्थानीयवासीले उत्साहपूर्वक सहभागिता जनाउँदै मन्दिरको व्यवस्थापनका लागि आर्थिक सहयोग गरेका थिए।

स्थानीय संस्कार, संस्कृति र परम्पराको संरक्षण गर्दै सामुदायिक एकता र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष देउसी–भैलो कार्यक्रम आयोजना गरिँदै आएको अध्यक्ष आचार्यले बताउनुभयो।

धार्मिक तथा सांस्कृतिक परम्पराको निरन्तरतासँगै सामुदायिक सहभागिताबाट धार्मिक स्थलको व्यवस्थापनका लागि स्रोत जुटाउने उदाहरणका रूपमा कमलेश्वर मन्दिरको देउसी–भैलो कार्यक्रमलाई लिन सकिन्छ।