झापा / पुस्तक पढ्ने बानी घट्दै गएको बहस भइरहेका बेला झापाको बिर्तामोडमा सम्पन्न ‘ईशा बुक्स किताब मेला २०८३’ ले नयाँ पुस्तामा पठन संस्कृतिप्रतिको आकर्षण देखाएको छ। चार हजारभन्दा बढीले अवलोकन गरेको मेलामा एक हजार १५० जनाले पुस्तक खरिद गरेका छन्।

आयोजक ईशा बुक्सका अनुसार मेलामा दुई हजार ३०० थान पुस्तक बिक्री हुँदा करिब सात लाख रुपैयाँको कारोबार भएको छ। विगत चार वर्षदेखि निरन्तर आयोजना हुँदै आएको किताब मेलामा यस वर्ष युवा पाठकको उल्लेखनीय सहभागिता देखिएको आयोजक केशवप्रसाद मैनालीले बताए।
उनका अनुसार मेलामा युवाहरूले आफ्नो रुचिअनुसारका पुस्तक छान्ने, नयाँ लेखकका कृति खोज्ने र पुस्तक खरिद गर्ने उत्साह देखाएका थिए। डिजिटल माध्यमको प्रभाव बढिरहेका बेला युवाको यस्तो सहभागिताले छापा पुस्तकप्रतिको रुचि अझै कायम रहेको सन्देश दिएको मैनालीको भनाइ छ।
पुस्तकसँग जोडिँदै नयाँ पुस्ता
मैनालीका अनुसार मेलाको उपलब्धि पुस्तक बिक्रीमा मात्र सीमित छैन। साहित्य संवाद, लेखकसँग भेटघाट र पुस्तकमा हस्ताक्षरजस्ता गतिविधिले लेखक तथा पाठकबीच प्रत्यक्ष संवादको अवसरसमेत सिर्जना गरेको छ।
बालबालिकालाई आफ्नै रुचिअनुसार पुस्तक छान्ने वातावरण उपलब्ध गराउनुले सानै उमेरदेखि पठन संस्कृतिको विकासमा सहयोग पुग्ने उनको विश्वास छ। मेलाबाट मिनी लाइब्रेरीका लागि पुस्तक खरिद गरिनुले व्यक्तिगत पठनसँगै सामुदायिक पठन संस्कृतिको विस्तारमा पनि योगदान पुगेको उनले बताए।
मेलामा चार हजारभन्दा बढीको सहभागिता, एक हजार १५० पुस्तक खरिदकर्ता र दुई हजार ३०० थान पुस्तक बिक्री हुनुले बिर्तामोडमा साहित्यिक तथा ज्ञानमूलक पुस्तकको बजार विस्तारको सम्भावना देखाएको आयोजकको निष्कर्ष छ।
पठन संस्कृतिलाई निरन्तरता दिने लक्ष्य
आयोजकले आगामी दिनमा युवा लक्षित पुस्तक क्लब तथा नियमित पठन समूह निर्माण गर्ने, विद्यालय र क्याम्पसमा पुस्तक परिचर्चा चलाउने तथा लेखकसँग संवाद कार्यक्रम विस्तार गर्ने योजना अघि सारेको छ।
युवाको रुचिअनुसार साहित्य, दर्शन, विज्ञान, उद्यमशीलता, इतिहास र व्यक्तित्व विकाससम्बन्धी पुस्तक प्रवर्द्धन गर्नुपर्नेमा पनि मैनालीले जोड दिएका छन्।
‘ईशा बुक्स किताब मेला २०८३’ ले युवा पुस्तालाई पुस्तकसँग जोड्न सकिने सम्भावना देखाएको उनको भनाइ छ। पुस्तक खरिदलाई नियमित पठनमा रूपान्तरण गर्न सके यसले युवाको ज्ञान, विचार र सिर्जनशीलता विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
‘पुस्तक पढौँ, उज्यालो फैलाऔँ’ भन्ने सन्देशसहित आयोजित मेलाले बिर्तामोडमा पठन संस्कृतिको विकासका लागि निरन्तर अभियान चलाउनुपर्ने आवश्यकता औँल्याएको छ।