झापा । श्री मिलनसार बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापाको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले सेयर सदस्यलाई ८ लाख १६ हजार ५३८ रुपैयाँ १६ पैसा लाभांश वितरण गर्ने घोषणा गरेको छ।

सहकारीका अध्यक्ष लक्ष्मीप्रसाद बाँस्कोटाको अध्यक्षतामा सम्पन्न साधारणसभा नेपाल सरकारको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले २०८२ भदौ १७ गते जारी गरेको निर्देशनअनुसार सञ्चालन गरिएको अध्यक्ष बाँस्कोटाले बताउनुभयो। सहकारीलाई नियमनकारी निकायको निर्देशनअनुसार व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो।

सहकारीका ज्येष्ठ सदस्य वीरबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाका प्रमुख नरेश कामतीको समेत उपस्थिति रहेको थियो।

वि.सं. २०६६ साल चैत १५ गते ४१ जना सेयर सदस्यबाट ४ लाख १० हजार रुपैयाँ सेयर पुँजी संकलन गरी स्थापना भएको सहकारीले आफ्नो वित्तीय अवस्था विस्तार गर्दै लगेको छ। संस्थाले चालु आर्थिक वर्ष २०८२/०८३ मा सेयर पुँजी २ करोड ३९ लाख ४७ हजार रुपैयाँ पुर्याउन सफल भएको जनाएको छ।
सहकारीको वित्तीय आधारका रूपमा रहेको जगेडा कोषमा पनि वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा ६ लाख ७४ हजार ५२८ रुपैयाँ ५२ पैसा वृद्धि भई आर्थिक वर्ष २०८२/०८३ मा जगेडा कोषको कुल रकम ७१ लाख ९४ हजार ३२८ रुपैयाँ ९७ पैसा पुगेको संस्थाले जनाएको छ।

सहकारीका सल्लाहकार तथा पूर्वअध्यक्ष वसन्तप्रेमी राजभण्डारीले संस्थाको उन्नति र विकासका लागि कार्यसमितिले राम्रो काम गरिरहेको बताउनुभयो। सहकारीको संस्थागत विकाससँगै सदस्यको आर्थिक हितलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

संस्थाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा निक्षेप मौज्दात ६ करोड ४० लाख ६३ हजार ७८२ रुपैयाँ २६ पैसा रहेको छ। साधारणसभामा सदस्यको बचतलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न आकर्षक ब्याजदर, सेवा सुविधा तथा भावी योजना र कार्यक्रमसमेत सार्वजनिक गरिएको थियो।
सहकारीले साधारणसभाका अवसरमा उत्कृष्ट बचतकर्ता, बाल बचतकर्ता, असल ऋणी, शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थी तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ।
उत्कृष्ट बचतकर्तातर्फ अशोक रजक, डम्बरलाल राजवंशी र श्यामबहादुर कोइराला सम्मानित भएका छन्। बाल बचतकर्तातर्फ इभा खनाल सम्मानित हुनुभएको छ। त्यसैगरी असल ऋणीतर्फ मोहम्मद आलम मियाँ, श्रीलाल राजवंशी र कुमारी तामाङलाई सम्मान गरिएको छ।
सेयर सदस्यका छोराछोरीमध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट जीपीए हासिल गर्ने दुई विद्यार्थी शाश्वत बस्नेत र प्रतीक्षा थापालाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। संस्थामा कार्यरत कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै बजार प्रतिनिधि नम्रता कटुवाललाई पनि नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको सहकारीले जनाएको छ।
सहकारीले सदस्यको बचत परिचालन, ऋण प्रवाह तथा विभिन्न सेवा सुविधामार्फत संस्थाको आर्थिक गतिविधि विस्तार गर्दै आएको छ। साधारणसभामा प्रस्तुत वित्तीय विवरण र आगामी योजनाले सदस्यको आर्थिक हित संरक्षण गर्दै संस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
सहकारीका उपाध्यक्ष अजयकुमार देवले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव कैलाश पोख्रेलले गर्नुभएको थियो।