झापा । झापाको अर्जुनधारा नगरपालिका–७ मा लामो समयदेखि सञ्चालनमा रहेको शंकर अस्पतालले विशेषज्ञ चिकित्सकसहित आधुनिक स्वास्थ्य सेवाहरू विस्तार गरेको छ।

केही युवाको सामूहिक लगानीमा सञ्चालित अस्पतालले ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै चौबिसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

अस्पतालमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकमार्फत सर्वसुलभ उपचार सेवा प्रदान भइरहेको छ।

आधुनिक फोर डी भिडियो एक्सरे सेवा सञ्चालनमा आएपछि रोग पहिचान तथा उपचार प्रक्रियामा थप सहजता भएको अस्पतालले जनाएको छ।

अस्पतालमा आधुनिक उपकरणसहितको शल्यक्रिया कक्ष स्थापना गरिएको छ। यसको व्यवस्थापनसम्बन्धी काम अन्तिम चरणमा पुगेको जनाइएको छ।

आगामी दिनमा शल्यक्रियासहितको प्रसूति सेवा सञ्चालन गर्ने तयारीसमेत गरिएको छ। यसबाट गर्भवती महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले अस्पतालले हरेक महिनाको पहिलो सोमबार सबै नागरिकका लागि निःशुल्क मधुमेह (सुगर) परीक्षणको व्यवस्था गरेको छ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष सुजन सिवाकोटीले विशेषज्ञ चिकित्सक तथा आधुनिक उपकरणसहित उपचार सेवा विस्तारलाई प्राथमिकता दिइएको बताउनुभयो।

मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोषकुमार यादवले बिरामीलाई गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यले अस्पतालले आवश्यक सेवा तथा सुविधालाई व्यवस्थित गर्दै लगेको जानकारी दिनुभयो।

त्यस्तै, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. सुमित शर्माले अस्पतालमा हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीको चाप दिनप्रतिदिन बढिरहेको बताउनुभयो।

विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र सर्वसुलभ उपचार सेवालाई विस्तार गर्दै शंकर अस्पतालले स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास गरिरहेको छ।