बिर्तामोड । झापाको बिर्तामोड–५ मा रहेको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाको कार्यालय परिसरमा शनिबार आयोजित साधारणसभामा ज्येष्ठ उपभोक्ता तथा लामो समयदेखि कार्यरत कर्मचारीलाई सम्मान गरिएको छ।
उपभोक्ता र कर्मचारी सम्मानित, दैनिक २ करोड २५ लाख लिटर पानी उत्पादन गरी २४ घण्टा वितरण भइरहेको अध्यक्ष बाँस्तोलाको भनाइ

संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत उपभोक्ता र कर्मचारीलाई सम्मान गरेको हो। सम्मानित हुनेमा बिर्तामोड नगरपालिका–३ का ७८ वर्षीय लक्ष्मीप्रसाद ओली र बिर्तामोड–५ की ८१ वर्षीया विष्णुमाया गुरुङ रहनुभएको छ।

त्यस्तै, लामो समयदेखि संस्थामा कर्मचारीका रूपमा कार्यरत नरप्रसाद कट्टेललाई पनि सम्मान गरिएको संस्थाका व्यवस्थापक खडगराज गिरीले जानकारी दिनुभयो।

साधारणसभामा संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले आफ्नो कार्यकालमा भएका प्रगति विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो।

प्रतिवेदनमा संस्थाका समस्या तथा चुनौती, दीर्घकालीन सोच र भावी योजना, खानेपानीको गुणस्तर तथा नियमित आपूर्ति, बोरिङ, मोटर र वितरण प्रणालीको व्यवस्थापन, पूर्वाधार विकास तथा सेवा विस्तारलगायत विषय समेटिएका छन्।

त्यसैगरी आर्थिक व्यवस्थापन तथा वित्तीय पारदर्शिता, डिजिटल प्रविधि र उपभोक्ता सेवा सुधार, जलस्रोत संरक्षण तथा वातावरणीय सरसफाइ, उपभोक्ता सहभागिता तथा जनचेतना, जोखिम व्यवस्थापन तथा आकस्मिक सेवा र अनुगमन, मूल्याङ्कन तथा कार्यान्वयनका विषयमा पनि अध्यक्ष बाँस्तोलाले जानकारी गराउनुभयो।

अध्यक्ष बाँस्तोलाका अनुसार संस्थाका पाँचवटा स्किमअन्तर्गत १४ वटा सबमर्सिबल पम्प सञ्चालनमा छन्। ती पम्पबाट दैनिक २ करोड २५ लाख लिटर पानी उत्पादन गरी उपभोक्तालाई २४ घण्टा खानेपानी उपलब्ध गराइँदै आएको छ।

आगलागीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न बारुणयन्त्रका लागि आवश्यक पानी उपलब्ध गराउने उद्देश्यले मुक्तिचोकमा फायर हाइड्रेन्ट स्थापना गरिएको उहाँले बताउनुभयो। आवश्यकताअनुसार अन्य क्षेत्रमा पनि यसको विस्तार गरिने उहाँको भनाइ छ।

विगतमा बिछ्याइएका साना पाइपलाई प्रतिस्थापन गर्दै ठूला पाइप बिछ्याउने काम भइरहेको र आवश्यकताअनुसार अन्य क्षेत्रमा समेत पाइपलाइन विस्तार गर्ने योजना रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ। जग्गा प्लटिङ तथा बाटो निर्माणका क्रममा जथाभावी रूपमा पाइपलाइनमा क्षति पुग्ने गरेको समस्या पनि प्रतिवेदनमा औँल्याइएको छ।

साधारणसभामा संस्थाकी कोषाध्यक्ष शारदा रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा संस्थाको विभिन्न शीर्षकबाट कुल ९ करोड ६० लाख ५९ हजार ६१५ रुपैयाँ १० पैसा आम्दानी भएको छ। सोही अवधिमा कुल ८ करोड १९ लाख १८ हजार ५६ रुपैयाँ ०१ पैसा खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

आम्दानी र खर्चको विवरणअनुसार संस्थाको सञ्चालन बचत १ करोड ४१ लाख ४१ हजार ५५९ रुपैयाँ ६ पैसा रहेको छ।

आर्थिक वर्ष २०८३/८४ को सुरुवातमा बैंक तथा नगद मौज्दात गरी ६ करोड २५ लाख ९२ हजार ८५२ रुपैयाँ ६३ पैसा रहेको कोषाध्यक्ष रिजालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ। संस्थाको लेखा प्रतिवेदन लेखा समिति संयोजक विष्णुप्रसाद चुडालले प्रस्तुत गर्नुभएको थियो।

संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खानेपानी कार्यालय भद्रपुरका प्रमुख सुमन भट्टराईको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि भट्टराई,

संस्थाका सल्लाहकार लोकबन्दु कन्दङ्वा,

जिल्ला समन्वय समिति झापाकी उपाध्यक्ष शान्ता रोक्का,

बिर्तामोड आँखा अस्पतालका अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष जलकुमार गुरुङ,

बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई,

राष्ट्रिय स्वतन्त्र पार्टी बिर्तामोड नगर अध्यक्ष दीपक दिनेश दाहाल,

नेपाली कांग्रेस बिर्तामोड नगर सभापति कुलप्रसाद संग्रौला,

राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष लक्ष्मी गौतम तथा नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष सुव्रत न्यौपानेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत मन्तव्य राख्नुभएको थियो

भने सचिव पारसमणि मैनालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

यसैबीच, संस्थाले आगामी कार्यकालका लागि यही मङ्सिर १४ गते निर्वाचन गर्ने मिति तय गरेको छ।