चार करोड ५४ लाखभन्दा बढी आम्दानी र खर्च, नगर विकास कोषको २ करोड ५२ लाख ऋण तिर्न बाँकी
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१२, धाइजनमा रहेको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

बिहीबार संस्थाको सभाहलमा आयोजित साधारणसभा संस्थाका अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा सम्पन्न भएको हो।

साधारणसभामा अध्यक्ष चिमरियाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष साउन मेचे (बादल)ले प्रस्तुत गर्नुभएको थियो।

संस्थाले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्म संस्थाको कुल आम्दानी ४ करोड ५४ लाख ६५ हजार ९३४ रुपैयाँ ७५ पैसा रहेको छ। सोही अवधिमा कुल खर्च पनि ४ करोड ५४ लाख ६५ हजार ९३४ रुपैयाँ ७५ पैसा नै रहेको प्रतिवेदनमा उल्लेख छ।

संस्थाले नगर विकास कोषबाट ५ प्रतिशत ब्याजदरमा लिएको ऋणको साँवा तथा ब्याज भुक्तानी गर्दै आएको छ। प्रतिवेदनअनुसार संस्थाले हालसम्म ऋणको ब्याजबापत १४ लाख ८३ हजार २६६ रुपैयाँ ९९ पैसा र साँवाबापत ५३ लाख २२ हजार १८४ रुपैयाँ ०१ पैसा भुक्तानी गरेको छ।

अझै २ करोड ५२ लाख २२ हजार ५८६ रुपैयाँ ५७ पैसा ऋण तिर्न बाँकी रहेको संस्थाले जनाएको छ।

संस्थामार्फत हालसम्म ३ हजार ८५० वटा खानेपानीका धारा जडान गरिएको छ। उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यसहित संस्थाले सेवा विस्तार तथा व्यवस्थापनका काम गर्दै आएको छ।

साधारणसभाको अवसरमा संस्थालाई जग्गा तथा आर्थिक सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो।

सम्मानित हुनेमा राममाया नेम्बाङ (१ कट्ठा १६ धुर),

घनश्याम चिमरिया (१ कट्ठा),

रामनारायण यादव (१० धुर),

जगन्नाथ भट्टराई (१० धुर),

मनु लिम्बू चेम्जोङ (१ कट्ठा),

श्रीप्रसाद थापा (१० धुर),

मनिषा लिम्बू चेम्जोङ (१० धुर), इन्द्रबहादुर विष्ट (५ कट्ठा), विद्याकुमारी तिम्सिना (१ लाख रुपैयाँ) र जानुकादेवी अर्याल (५ धुर) रहनुभएको छ।

उहाँहरूलाई सम्मानपत्र, दोसल्ला तथा मायाको चिनोसहित सम्मान गरिएको थियो।

त्यसैगरी, वर्षभरि उत्कृष्ट कार्यसम्पादन गर्ने दुई जना कर्मचारीलाई पनि सम्मान गरिएको छ। सम्मानित हुनेमा सहलेखापाल उषा आचार्य मिश्र

र मिटर रिडर राजकुमार राई रहनुभएको छ।

उहाँहरूलाई जनही १५ हजार रुपैयाँ नगद, प्रमाणपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गरिएको थियो।

नियमित रूपमा खानेपानीको महसुल बुझाउँदै आएका उपभोक्तामध्ये एक महिला र एक पुरुषलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुनेमा पुरुषतर्फ गंगालाल दाहाल (गोपाल)

र महिलातर्फ मनु लिम्बू रहनुभएको छ।

जरिवानामा नपरी नियमित महसुल बुझाउने उपभोक्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको संस्थाले जनाएको छ।

कार्यक्रममा सम्मानित हुने मध्ये बाट जग्गा दाता जगन्नाथ भट्टराई,

काकरभिट्टा खानेपानीका अध्यक्ष रोहित बुढाथोकी,

मेचिनगर नगरपालिका वडा नं. ११ का अध्यक्ष रुद्र डाँगी,

खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख सुमन भट्टराई,

कार्यक्रमका प्रमुख अतिथि तिलचन (चिन्तन) पाठक लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कोशी प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तिलचन पाठक (चिन्तन)को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष मैया कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने

सचिव प्रेमसागर घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

साधारणसभामा प्रस्तुत प्रतिवेदनले संस्थाको सेवा विस्तार, आर्थिक अवस्था, ऋण भुक्तानी र उपभोक्ताप्रतिको जिम्मेवारीका विषयलाई उजागर गरेको छ।

संस्थाको दीर्घकालीन आर्थिक व्यवस्थापनसँगै बाँकी ऋण भुक्तानी र उपभोक्तालाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउनु आगामी दिनका महत्त्वपूर्ण चुनौतीका रूपमा देखिएका छन्।