बिहिवार, कार्तिक २०, २०८३
Sancharmanch

नेपाली कांग्रेस बिर्तामोड नगर समितिको पद हस्तान्तरण सम्पन्न

Posted by:
बिहिवार, कार्तिक २०, २०८३
नवनिर्वाचित सभापति कुलप्रसाद संग्रौलाले सम्हाले नेतृत्व, वडा नं. ३ मा पनि नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण बिर्तामोड / नेपाली कांग्रेस बिर्तामोड नगर समितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। बिहीबार आयोजित कार्यक्रममा नवनिर्वाचित नगर सभापति कुलप्रसाद संग्रौलालाई निवर्तमान सभापति भोजराज सिटौलाले नगर समितिको माइन्युट, कार्यालयका आवश्यक सामग्री तथा अन्य कागजात बरबुझारथ गर्दै पद हस्तान्तरण गर्नुभएको हो। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्णयअनुसार वडा तहदेखि नगर तहसम्मको अधिवेशन प्रक्रिया असोज ३ गतेदेखि सुरु भई असोज ८ गतेसम्म सम्पन्न भएको थियो। सोही क्रममा बिर्तामोड नगर कार्यसमितिको सभापति, दुई उपसभापति, सचिव र सहसचिव पदका लागि निर्वाचन भएको थियो। अन्य सदस्य पदमा भने निर्विरोध नेतृत्व चयन गरिएको थियो। नगर समितिसँगै बिर्तामोड नगरपालिका वडा नम्बर ३ को नवनिर्वाचित कार्यसमितिलाई पनि पद हस्तान्तरण गरिएको छ। नवनिर्वाचित वडा सभापति गायत्री मैनालीलाई निवर्तमान वडा सभापति प्रेमप्रसाद उप्रेतीले आवश्यक कागजातसहित जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो। पद हस्तान्तरण कार्यक्रममा महाधिवेशन प्रतिनिधि निर्मला गुरुङ, धर्म लक्सम्बा, निवर्तमान नगर सभापति भोजराज सिटौला, वडा सभापतिहरूको तर्फबाट वडा नम्बर ५ का सभापति खगेन्द्र प्रसाई, नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र (क) का सभापति मनोज जङ्ग बुढाथोकी, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हेमराज खरेल कार्यक्रमका प्रमुख अतिथि निवर्तमान केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। वक्ताहरूले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउन आग्रह गर्नुभएको थियो। कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणको कार्यक्रम निवर्तमान सभापति भोजराज सिटौलाको सभापतित्वमा सम्पन्न भएको थियो। उक्त कार्यक्रमको सञ्चालन निवर्तमान सचिव दिवाकर प्रसाईले गर्नुभएको थियो। पद हस्तान्तरणपछि नवनिर्वाचित सभापति कुलप्रसाद संग्रौलाको सभापतित्वमा दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रमको सञ्चालन नवनिर्वाचित नगर सचिव आषिश वनले गर्नुभएको थियो। पद हस्तान्तरणसँगै नवनिर्वाचित नगर तथा वडा नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्।
सम्बन्धित खबर