झापा, सुरुङ्गा/ कनकाई उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरुङ्गामा एक भव्य सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

आज बिहीबार कनकाई उद्योग वाणिज्य सङ्घको कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाटमा सांस्कृतिक कार्यक्रमको तयारीका बारेमा जानकारी गराइयो । तिहार, नेपाल सम्बत् ११४७, छठ लगायतका चाडपर्वमा व्यापारी, व्यवसायी तथा सङगीतप्रेमीहरूलाई मनोरञ्जन दिने उद्देश्यका साथ स्थानीय पशुपति अङ्ग्रेजी माविको प्राङ्गणमा आगामी कात्तिक २१ गते शनिवार साँझ ४ः०० बजेदेखि सुरु हुने सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने कार्यक्रमका समन्वयकर्ता एवम् सङ्घका कार्यसमिति सदस्य जबिन तिम्सिनाले जानकारी दिए ।
कार्यक्रममा चर्चित राष्ट्रिय हास्यकलाकार मनोज गजुरेल, भारतीय टेलिभिजन जीटिभीको रियालिटी शो ‘सरोगमप लिटल च्याम्प्स’–२०१९ का सेकेन्ड रनर अप प्रीतम आचार्य र गायक एवम् कार्यक्रम प्रस्तोता राजेश घतानीको प्रस्तुति रहने सङ्घका महासचिव सोमनाथ उप्रेतीले बताए ।

विभिन्न राजनीतिक तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको क्यारिकेचर (नक्कल) का लागि प्रख्यात गजुरेल एक लोकप्रिय नेपाली बौद्धिक हास्यव्यङ्ग्यकार, अभिनेता, लेखक तथा उत्प्रेरक हुन् भने आफ्नो उत्कृष्ट स्वर र प्रस्तुतिले भारत तथा नेपालका लाखौँ दर्शक र दिग्गज सङ्गीतकारहरूको मन जित्न सफल प्रीतम नेपाली साङ्गीतिक आकाशका उज्ज्वल नक्षत्र हुन् । सुरुङ्गाको माटोबाट उदाएर राष्ट्रिय गरिमा कायम गरेका घतानी सफल चलचित्र निर्देशक, गायक र स्टेज हिरो हुन् ।
हरेक क्षेत्रमा राजनीति हावी हुँदै गएको आजको परिवेशमा गीतसङ्गीतको माध्यमबाट सामाजिक तथा सांस्कृतिक एकता कायम गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको कनकाई उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष एवम् हाल सल्लाहकार कुमारमणि पोखरेलले बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्य, झापा क्षेत्र नं. ४ का सङ्घीय सांसद शम्भु ढकाल ‘सुस्केरा’ र खुश्बू ओलीको विशेष आतिथ्य रहने कार्यक्रममा स्थानीय विद्यालयहरूको पनि प्रस्तुति रहने बतइएको छ ।

३ लाख ५० हजार रुपैयाँको खर्चमा सम्पन्न हुने कार्यक्रमका लागि स्थानीय सरकार कनकाई नगरपालिकाबाट १ लाख रुपैयाँको आश्वासन पाइएको र स्थानीय व्यवसायी र सङ्घका कार्यसमिति परिवारबाट बाँकी रकम २ लाख ५० हजार रुपैयाँ खर्च जुटाइने कनकाई उद्योग वाणिज्य सङ्घका अध्यक्ष जनक कार्कीले जानकारी दिए ।
सम्पूर्ण दर्शक÷स्रोताका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको कार्यक्रममा तिहार पर्व मनाउन आएका दाजुभाइ, दिदीबहिनीको पनि व्यापक उपस्थिति रहने अपेक्षा गरिएको छ ।
पत्रकार भेटघाटमा कार्यसमितिका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, उपाध्यक्ष टीकाराम बराल, सदस्य तिलक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।