रास्वपा बिर्तामोड नगर सचिव सृजन अधिकारीको नेतृत्वमा प्रहरी र सामाजिक अभियन्ताको सहकार्यमा उद्धार
बिर्तामोड । झापाको बिर्तामोडस्थित सालडाँगी आसपास लामो समयदेखि खुला आकाशमुनि रात बिताउन बाध्य काइली तामाङको उद्धार गरी मानव सेवा आश्रममा सुरक्षित आश्रयको व्यवस्था गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिर्तामोड नगर सचिव सृजन अधिकारीको नेतृत्वमा तामाङको उद्धार गरिएको हो। असहाय अवस्थामा जीवनयापन गरिरहनुभएकी उहाँलाई सुरक्षित आवास र संरक्षण उपलब्ध गराउने उद्देश्यले उद्धार अभियान सञ्चालन गरिएको जनाइएको छ।
उद्धार कार्यमा रास्वपा झापा क्षेत्र नम्बर २ का उपसभापति सुनील अधिकारी, सामाजिक अभियन्ता बिक्की राजवंशी तथा बुट्टाबारी प्रहरी बिटको विशेष पहल र सहकार्य रहेको थियो। उनीहरूको समन्वयमा तामाङलाई मानव सेवा आश्रमसम्म पुर्याइएको हो।
लामो समयदेखि असुरक्षित अवस्थामा खुला आकाशमुनि बस्न बाध्य नागरिकलाई उद्धार गरी आश्रयस्थलसम्म पुर्याउनु मानवीय सेवा र सामाजिक उत्तरदायित्वको सकारात्मक उदाहरण हो। यसले समाजमा असहाय तथा संरक्षणको आवश्यकता भएका नागरिकप्रति सामूहिक जिम्मेवारी र संवेदनशीलताको महत्त्वसमेत उजागर गरेको छ।
उद्धार अभियान सफल बनाउन सहयोग गर्ने पार्टीका नेता तथा कार्यकर्ता, सामाजिक अभियन्ता, प्रहरी प्रशासन र स्थानीयवासीप्रति रास्वपा बिर्तामोड नगर समितिले आभार व्यक्त गरेको छ।
राजनीति केवल सत्ता प्राप्ति र राजनीतिक गतिविधिमा मात्र सीमित नभई नागरिकका दुःख, पीडा र समस्यामा साथ दिने माध्यम पनि हुनुपर्छ भन्ने सन्देश यस कार्यले दिएको छ। ‘मानवता पहिलो प्राथमिकता, सेवा हाम्रो जिम्मेवारी’ भन्ने भावनासहित गरिएको यो पहलले सामाजिक सेवामा राजनीतिक तथा सामुदायिक संस्थाको भूमिकालाई स्मरण गराएको छ।