सोमवार, कार्तिक २४, २०८३
Sancharmanch

लागुऔषधदेखि चोरीका सामान र अवैध पटाकासम्म बरामद

Posted by:
सोमवार, कार्तिक २४, २०८३
लागुऔषधसहित चार जना पक्राउ तथा नियन्त्रणमा, अवैध सुर्ती, बिलबिजकविनाका सामान र पटाकाजन्य पदार्थ बरामद; फिल्डमा खटिने प्रहरीको योगदानको मूल्याङ्कन हुनुपर्नेमा जोड बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्क क्षेत्रमा पछिल्लो समय प्रहरी सक्रियता बढेको छ। अस्थायी प्रहरी पोस्ट (अप्रपोष्ट) बसपार्कबाट खटिने प्रहरी टोलीले लागुऔषध कारोबार तथा सेवनमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिनेदेखि अवैध रूपमा ओसारपसार गरिएका सामान, पटाकाजन्य पदार्थ र चोरीका सामान बरामद गर्नेसम्मका कामलाई तीव्रता दिएको छ। अस्थायी प्रहरी पोस्ट बसपार्कका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद मण्डलको कमाण्डमा खटिएको टोलीले विभिन्न मितिमा सञ्चालन गरेका कारबाहीका क्रममा लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित चार जना, अवैध सुर्ती ओसारपसारमा संलग्न व्यक्तिहरू, बिलबिजकविनाका कपडा तथा दीपावलीका सामग्रीसहित एउटा अटो, बेवारिसे अवस्थामा रहेका पटाकाजन्य पदार्थ र चोरीका सामान नियन्त्रणमा लिएको विवरण सार्वजनिक भएको छ। प्रहरीका अनुसार २०८३ कार्तिक २२ गते दिउँसो करिब ३ बजे बिर्तामोड नगरपालिका–५ सूर्यदय टोलस्थित मुना तामाङको घरमा कोठा भाडामा बस्दै आएका करिब २२ वर्षीय विशाल राईले लागुऔषध बिक्री वितरण गरिरहेको सूचना प्राप्त भएको थियो। सूचनापछि प्रहरी सहायक निरीक्षक मण्डलको कमाण्डमा खटिएको टोलीले खानतलासी गर्दा प्लास्टिकसहित ६ ग्राम ९३० मिलिग्राम र प्लास्टिकबाहेक ५ ग्राम ४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको थियो। सोही क्रममा लागुऔषध जोख्न प्रयोग हुने एउटा तराजु, तीन थान मोबाइल फोन र नेपाली नगद २८ हजार ९६० रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त घटनामा विशाल राईसहित सोही स्थानमा बस्ने २९ वर्षीय विक्रम राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाइएको छ। घटनास्थल अस्थायी प्रहरी पोस्ट बसपार्कबाट करिब ५०० मिटर पश्चिममा पर्छ। यसअघि कार्तिक ८ गते राति करिब १०ः३० बजे विशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित ताप्लेजुङको फुङलिङ नगरपालिका–३ मेदिबुङ घर भई हाल बिर्तामोड–५ नयाँ बसपार्कस्थित याक्थुम्बा होटलमा कोठा भाडामा बस्दै आएका करिब २५ वर्षीय बविस भण्डारीलाई पक्राउ गरेको थियो। उनको कोठाबाट प्लास्टिकसहित ५.८३ ग्राम र प्लास्टिकबाहेक ३.०१ ग्राम लागुऔषध बरामद भएको थियो। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाइएको थियो। त्यस्तै, कार्तिक ११ गते दिउँसो करिब २ बजे बिर्तामोड–५ नयाँ बसपार्क क्षेत्रमा लागुऔषध सेवन भइरहेको सूचनाका आधारमा प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–२ निवासी २१ वर्षीय अनिष खड्कालाई जाँच गरेको थियो। उनको साथबाट प्लास्टिकसहित १ ग्राम ८०० मिलिग्राम र प्लास्टिकबाहेक ५१० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ, एउटा रेडमी मोबाइल र ६२५ रुपैयाँ नगद बरामद गरिएको थियो। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ। अवैध सुर्ती र बिलबिजकविनाका सामान नियन्त्रणमा लागुऔषध नियन्त्रणसँगै प्रहरीले अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधिमाथि पनि निगरानी बढाएको छ। कार्तिक ११ गते साँझ करिब ७ः३० बजे अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापस्थित भित्री सडकखण्डमा धुलाबारीबाट मातामन्दिरतर्फ आउँदै गरेको मे १ ह ४९१५ नम्बरको अटो जाँच गर्ने क्रममा चार बोरा खुला मडुवा सुर्ती फेला परेको थियो। प्रहरीले अटो, चालक बिर्तामोड नगरपालिका–५ फूलबारी निवासी ३६ वर्षीय टीकाराम राई तथा सुर्तीधनी पाँचथरको फिदिम नगरपालिका–४ निवासी ३५ वर्षीय धनबहादुर थापाले चलाएको ईभी अनटेस्ट स्कुटीसमेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएको थियो। त्यस्तै, कार्तिक १५ गते दिउँसो करिब ४ः३० बजे अर्जुनधारा नगरपालिका–६ लक्ष्मीपुर चोकस्थित धाइजन–शनिश्चरे भित्री सडकखण्डमा शङ्कास्पद अवस्थामा रहेको मे १ ह ३३६८ नम्बरको भाडाको अटो रोक्न खोज्दा चालक र सवार व्यक्ति अटो छाडेर फरार भएका थिए। प्रहरीले अटो जाँच गर्दा कुनै पनि कागजपत्र तथा बिलबिजक नभएका कपडा र दीपावलीमा प्रयोग हुने सामग्री फेला पारेको थियो। प्रहरीका अनुसार उक्त अटोबाट बरामद सामानको कुल अनुमानित मूल्य ३ लाख ८१ हजार ९४० रुपैयाँ रहेको छ। बरामद कपडाको मूल्य ३ लाख ५८ हजार २०० रुपैयाँ र दीपावलीका सामग्रीको मूल्य २३ हजार ७४० रुपैयाँ रहेको विवरण छ। कपडातर्फ लेडिज आउटर १२ पिस, फुलबाउला भेस्ट ३० पिस, ट्र्याकसुट ११५ पिस, नर्थ फेस ज्याकेट ८ पिस, फुल सर्ट पातलो ५६ पिस, फुल सर्ट १५ पिस, हाफ भेस्ट १६५ पिस, मोटो फुल भेस्ट ५९ पिस, हुडी ६६ पिस, जेन्स कुर्ता सुरुवाल ४६ पिस, रातो–सेतो ध्वजा कपडा ३० थान, रामनाम गम्छा २५० पिस, लामो खादा ३० पिस र सेन्डो भेस्ट ६० थान बरामद गरिएको थियो। त्यसैगरी, शुभदीपावली स्टिकर ८४ पिस, ठूलो पाउ स्टिकर १२ बण्डल, शुभलाभ स्टिकर २४० पिस, लक्ष्मी–गणेश स्टिकर २० पिस, सानो पाउ स्टिकर ४८ पिस, शुभ दीपावली १२० पिस, दीपावली स्टिकर ५० पिस, ठूलो दीपावली स्टिकर सात प्याकेट र सानो दीपावली स्टिकर नौ प्याकेट बरामद गरिएको थियो। अटो चालक र त्यसमा सवार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। पटाका र चोरीका सामानसमेत बरामद कार्तिक १८ गते साँझ करिब ६ बजे गस्तीमा रहेको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधाप क्षेत्रमा बेवारिसे अवस्थामा राखिएका पटाकाजन्य पदार्थ बरामद गरेको थियो। अस्थायी प्रहरी पोस्ट बसपार्कबाट करिब १.५ किलोमिटर उत्तरमा फेला परेका ती सामग्रीमा १२ सर्ट सात प्याकेट, राइनो चकलेट ६० प्याकेट, जगमग चकलेट ६६ प्याकेट र रकेट बम नौ प्याकेट रहेका थिए। बरामद सामग्रीको अनुमानित मूल्य ३२ हजार ३५५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। कार्तिक २० गते बिहान करिब ९ः३० बजे नयाँ बसपार्क क्षेत्रमा पसल–पसलमा झिलिमिली बत्ती बिक्री गर्दै हिँडिरहेका दुई जनाबारे सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान गरेको थियो। ताप्लेजुङको फुङलिङ नगरपालिका–६ निवासी २८ वर्षीय अर्जुन गुरुङ र पाँचथरको याङवरक गाउँपालिका–७ फलैँचा निवासी ३३ वर्षीय दोर्णबहादुर बेगा लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले कार्तिक १८ गते बिर्तामोड नगरपालिका–४ स्थित राजेश मण्डलको घरमा आगलागी भएपछि स्टोरबाट सामान निकाल्ने क्रममा झिलिमिली बत्ती चोरी गरी ल्याएको खुलेको प्रहरीको भनाइ छ। उनीहरूको साथबाट ३५ पिस झिलिमिली बत्ती र एउटा टुलबक्स बरामद गरी इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाइएको थियो। फिल्डमा खटिने प्रहरीको योगदानको मूल्याङ्कन कहिले? उमेरले कम भए पनि प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद मण्डल फिल्डमा सक्रिय र सामाजिक रूपान्तरणका गतिविधिप्रति संवेदनशील प्रहरीका रूपमा चिनिन थालेका छन्। बसपार्क क्षेत्रमा लागुऔषध, अवैध ओसारपसार, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि उनले देखाएको सक्रियतामा सामाजिक अभियन्ता उपेन मेन्याङ्बो (लिम्बू) को सहयोगसमेत उदाहरणीय रहेको स्थानीय स्तरमा चर्चा हुने गरेको छ। प्रहरी र समुदायबीचको सहकार्यले अपराध नियन्त्रणमा सकारात्मक परिणाम दिन सक्छ भन्ने उदाहरणका रूपमा बसपार्क क्षेत्रका पछिल्ला गतिविधिलाई लिन सकिन्छ। लागुऔषधजस्ता सामाजिक समस्याले युवा पुस्ता, परिवार र समग्र समुदायलाई असर पार्ने भएकाले यस्ता गतिविधि नियन्त्रणमा प्रहरीको नियमित निगरानी र स्थानीय समुदायको सहयोग दुवै आवश्यक हुन्छ। तर प्रहरी सङ्गठनभित्र फिल्डमा खटिएर जोखिम मोलेर काम गर्ने तल्लो तहका प्रहरी कर्मचारीको योगदानको उचित मूल्याङ्कन हुने गरेको छ कि छैन भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। मासिक तथा वार्षिक उत्कृष्ट प्रहरी घोषणा गर्दा जिम्मेवारी र उपलब्धिको मूल्याङ्कन पारदर्शी तथा निष्पक्ष हुनुपर्छ। अपराध नियन्त्रणमा प्रत्यक्ष रूपमा खटिने प्रहरीको मेहनत र उपलब्धि ओझेलमा पर्नु हुँदैन। प्रहरी सहायक निरीक्षक मण्डलजस्ता कर्मचारीले फिल्डमा देखाएको सक्रियता केवल व्यक्तिगत प्रयासमा सीमित नरही संस्थागत रूपमा प्रोत्साहित हुन सकेमा प्रहरी सेवाप्रतिको जनविश्वास थप बलियो बन्न सक्छ। बसपार्क क्षेत्रलाई सुरक्षित बनाउने अभियानलाई निरन्तरता दिनुका साथै यस्ता काम गर्ने प्रहरी कर्मचारीको योगदानको उचित अभिलेखीकरण, मूल्याङ्कन र सम्मान गर्नु पनि प्रहरी प्रशासनको जिम्मेवारी हो।
सम्बन्धित खबर