बुधवार, असोज २१, २०८३
Sancharmanch

रास्वपा बिर्तामोड–४ मा १५ टोल समिति गठन

Posted by:
बुधवार, असोज २१, २०८३

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिर्तामोड नगरपालिका–४ ले संगठन विस्तार अभियानलाई तीव्रता दिँदै वडाका विभिन्न १५ वटा टोलमा टोल समिति गठन गरेको छ। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठनलाई वडा तहदेखि टोलसम्म विस्तार गर्ने उद्देश्यले बुधबार वडा परिषद् भेला आयोजना गरी टोल समिति गठन गरिएको हो।

वडा सभापति लक्ष्मीप्रसाद खरेलको सभापतित्वमा सम्पन्न भेलामा रास्वपाका जिल्ला सदस्य डिल्लीराम न्यौपाने, क्षेत्रीय संयोजक गोपाल कटुवाल, नगर सभापति दीपक दाहाल, नगर उपसभापति अनुप निरौला, नगर सचिव श्रीजन अधिकारी, बिर्तामोड ¥याट संयोजक मिलन जिसी, वडा इन्चार्ज अम्बिका राय, वडा नं. ३ का सभापति रमेशकुमार बानियाँ, पूर्व प्रदेश अनुशासन विभाग उपप्रमुख अर्जुन उप्रेती, नगर सदस्य राम बस्नेत, ललिता लिम्बुलगायतको सहभागिता थियो।

रास्वपा प्रदेश तथा जिल्ला कमिटीको निर्देशनअनुसार स्थानीय तहका वडा समितिलाई पूर्णता दिँदै टोल समिति गठन गर्ने अभियान सञ्चालन गरिएको हो। बिर्तामोड नगरपालिकाका सबै वडामा संगठन विस्तार तथा टोल समिति गठनको काम अघि बढिरहेको नगर सभापति दीपक दाहालले जानकारी दिनुभयो।

उहाँका अनुसार आगामी स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर बिर्तामोडका प्रत्येक टोलमा संगठन विस्तार गर्ने अभियान सञ्चालन भइरहेको छ। टोल समिति गठनसँगै पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने र गठन भएका समितिको विवरण जिल्ला कमिटीको पोर्टलमा अद्यावधिक गर्ने तयारी गरिएको छ।

कार्यक्रममा रास्वपाका क्षेत्रीय संयोजक तथा भेलाका प्रमुख वक्ता गोपाल कटुवालले स्थानीय तहमा पार्टीलाई बलियो बनाउन संगठन विस्तारसँगै जनताका वास्तविक समस्या पहिचान र समाधानमा ध्यान दिनुपर्ने बताउनुभयो। स्थानीय तहको निर्वाचनमा रास्वपालाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने रणनीतिका साथ पार्टीका सबै तहका नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

पूर्व प्रदेश अनुशासन विभाग उपप्रमुख अर्जुन उप्रेतीले बिर्तामोडको वास्तविक अवस्था बुझ्न टोल विकास तहसम्म संगठन तथा नागरिक सहभागिता प्रभावकारी हुनुपर्ने बताउनुभयो। स्थानीय तहका समस्या पहिचान गर्न टोलस्तरबाटै तथ्य र आवश्यकता संकलन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

नगर सदस्य चन्द्रा भट्टराईले स्थानीय तहमा अझै पनि सर्वसाधारणका आवाज पर्याप्त रूपमा सम्बोधन हुन नसकेको दाबी गर्नुभयो। जनताका समस्या र गुनासालाई स्थानीय सरकारसम्म प्रभावकारी रूपमा पुर्‍याउन पार्टी संगठनले भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।

वडा इन्चार्ज तथा नगर सदस्य अम्बिका रायले विशेषगरी महिलालाई संगठनमा जोड्न टोलस्तरमा अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो। हरेक टोलमा पुगेर महिलालाई राजनीतिक तथा सामाजिक विषयमा सचेत गराउँदै रास्वपामा आबद्ध गराउन पार्टीका सबै सदस्य एकजुट हुनुपर्ने उहाँको भनाइ थियो।

रास्वपाका पूर्व प्रदेश शिक्षा विभाग सदस्य उत्तम खनालले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीले स्पष्ट रणनीतिका साथ संगठन विस्तार गर्नुपर्ने बताउनुभयो। पार्टीलाई बलियो बनाउन संगठनको आधारभूत तह अर्थात् टोलबाटै काम सुरु गर्नुपर्ने उल्लेख गर्दै उहाँले बिर्तामोडका आन्तरिक समस्या आफूले विभिन्न सामाजिक तथा संघसंस्थामा रहेर काम गर्ने क्रममा नजिकबाट बुझेको बताउनुभयो। नगरभित्रका समस्याको समाधानका लागि रास्वपाले स्थानीय तहमा नेतृत्व स्थापित गर्नुपर्ने उहाँको भनाइ थियो।

वडा सभापति लक्ष्मीप्रसाद खरेलले वडा संगठनलाई थप सुदृढ बनाउँदै प्रत्येक टोलमा समिति गठन गरेर पार्टीको गतिविधिलाई विस्तार गरिने बताउनुभयो। आगामी निर्वाचनलाई लक्षित गरी वडाभित्र विभिन्न संगठनात्मक तथा जनमुखी कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो।

वडा परिषद् भेलामा स्थानीयस्तरमा पार्टीको संगठन विस्तार, जनसम्बन्ध सुदृढीकरण तथा आगामी निर्वाचनको तयारीका विषयमा समेत छलफल भएको जनाइएको छ। टोल समिति गठनसँगै वडा नं. ४ मा पार्टीको संगठनात्मक संरचना थप सक्रिय हुने र स्थानीय मुद्दालाई प्राथमिकताका साथ उठाउने रास्वपाको तयारी छ।

कार्यक्रमको सञ्चालन रास्वपा बिर्तामोड नगरपालिका–४ का सचिव शिव थपलियाले गर्नुभएको थियो।
सम्बन्धित खबर