बुधवार, असोज २१, २०८३
Sancharmanch

पुण्यतिथिको अवसरमा रोङमा कृषकलाई मिल्क क्यान वितरण

Posted by:
बुधवार, असोज २१, २०८३

इलाम । गोपाल गौरी दिगो विकास प्रतिष्ठानका अध्यक्ष इन्दिरा शर्माका श्रीमान् गोपाल कृष्ण गौतमको पुण्यतिथिको अवसर पारेर इलामको रोङ गाउँपालिका–१, सिरिसेमा दुग्ध उत्पादक कृषकलाई मिल्क क्यान वितरण गरिएको छ।

पितृपक्ष एकादशीका दिन श्री शान्ति दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध कृषकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो। स्थानीय दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्दै दूध उत्पादन तथा संकलनलाई व्यवस्थित बनाउने उद्देश्यले मिल्क क्यान वितरण गरिएको प्रतिष्ठानले जनाएको छ।

कार्यक्रममा श्री शान्ति दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष निर्मलप्रसाद ढकालले दूध उत्पादनमा संलग्न कृषकलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले कृषकको मनोबल बढाउने बताउनुभयो। कृषकलाई आवश्यक सामग्री उपलब्ध गराउँदा उनीहरूलाई आफ्नो पेसाप्रति थप उत्साहित बनाउने उहाँको भनाइ थियो।

कार्यक्रममा आफ्ना धारणा राख्दै श्री कृष्ण प्रणामी सेवा समिति, रोङ–१ का अध्यक्ष माधवप्रसाद घिमिरेले गोपाल गौरी दिगो विकास प्रतिष्ठानले विभिन्न स्थानमा सञ्चालन गर्दै आएका सामाजिक तथा चेतनामूलक कार्यक्रमको प्रशंसा गर्नुभयो। उहाँले प्रतिष्ठानले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा समाजमुखी कार्यक्रमलाई निरन्तरता दिँदै अझ व्यापक रूपमा अघि बढ्ने अपेक्षा व्यक्त गर्नुभयो।

कृषकहरूको तर्फबाट कार्यक्रममा सहभागी डिकमाया भुजेलले कृषकलाई लक्षित गरी मिल्क क्यान वितरण गरिएकोमा खुसी व्यक्त गर्नुभयो। कृषकको दैनिक कामसँग प्रत्यक्ष रूपमा जोडिने सामग्री सहयोगले दूध उत्पादन र संकलनमा सहजता पुग्ने उहाँले बताउनुभयो।

कार्यक्रमकै अवसरमा रोङ गाउँपालिका–१ की क्यान्सरपीडित शिवमाया राईको उपचारका लागि सहयोग रकमसमेत हस्तान्तरण गरिएको थियो। रोङ–१ निवासी तथा हाल जापानको नागोयामा रहनुभएका समाजसेवी टेकेन्द्र थापाले पठाउनुभएको १० हजार रुपैयाँ सहयोग रकम कार्यक्रमकी अतिथि चेलीबेटी गाईपालक समूहकी अध्यक्ष बिनिता राईले शिवमाया राईका बुबा आइतमान राईलाई हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा गोपाल गौरी दिगो विकास प्रतिष्ठानका आजीवन सदस्य पदम विलासीले प्रतिष्ठानले सञ्चालन गर्दै आएका सामाजिक गतिविधि तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो। उहाँले स्थानीय समुदायको आवश्यकता र समस्यालाई केन्द्रमा राखेर सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।

प्रतिष्ठानका तर्फबाट श्री शान्ति दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध ६ जना कृषकलाई ११ लिटर दूध क्षमताका मिल्क क्यान वितरण गरिएको छ। मिल्क क्यान प्राप्त गर्ने कृषकमा यामबहादुर प्रधान, निर्मला राई ढकाल, लीला बर्देवा, सन्तबहादुर राई, डम्बरबहादुर मिजार र तेजबहादुर खवास रहेका छन्।

दूध उत्पादनमा संलग्न कृषकलाई लक्षित गरी गरिएको सहयोगले दूध संकलन तथा ढुवानीका क्रममा हुने समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीयस्तरमा पशुपालन तथा दुग्ध उत्पादनलाई व्यावसायिक बनाउन कृषकलाई आवश्यक सामग्री र प्रोत्साहन उपलब्ध गराउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

गोपाल कृष्ण गौतमको पुण्यतिथिलाई सामाजिक सेवासँग जोड्दै आयोजित कार्यक्रमले एकातर्फ दुग्ध उत्पादक कृषकलाई प्रत्यक्ष सहयोग गरेको छ भने अर्कोतर्फ आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका परिवारलाई सहयोग गर्ने सामाजिक भावनालाई समेत अघि बढाएको छ।

पदम विलासीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय यामप्रसाद गौतमले सहजीकरण तथा सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा स्थानीय कृषक, सामाजिक क्षेत्रका प्रतिनिधि तथा विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो।
सम्बन्धित खबर