झापा / झापाको मेचिनगर नगरपालिका वडा नं. १३ चारआलीस्थित त्रिदेव क्याम्पसले अध्ययनरत विद्यार्थीलाई शैक्षिक यात्राका क्रममा आइपर्ने आकस्मिक तथा व्यावहारिक समस्यामा सहयोग गर्ने उद्देश्यले विद्यार्थी कल्याण कोष स्थापना गर्ने भएको छ। क्याम्पसको १९औँ क्याम्पस सभा तथा २०औँ स्थापना दिवसका अवसरमा कोष स्थापनाको घोषणा गरिएको हो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्तोष न्यौपानेले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा सहभागिता बढाउन र आर्थिक अभावका कारण अवसरबाट वञ्चित हुन नदिन कोष आवश्यक देखिएको बताए। उनका अनुसार विद्यार्थीलाई केवल कक्षाकोठाको अध्ययनमा सीमित नराखी उनीहरूको समग्र व्यक्तित्व विकासमा सहयोग पुग्ने गरी कोष परिचालन गरिनेछ।

कोषबाट क्याम्पसमा अध्ययनरत विद्यार्थी आकस्मिक रूपमा बिरामी परेमा सहयोग उपलब्ध गराइनेछ। छात्रवृत्तिका लागि तोकिएको मापदण्डमा नपरे पनि आर्थिक समस्यामा रहेका विद्यार्थीलाई आवश्यक सहयोग गर्ने व्यवस्था कोषमा राखिएको छ। त्यस्तै, अतिरिक्त क्रियाकलापमा क्याम्पसको प्रतिनिधित्व गर्दै अन्यत्र जानुपर्ने विद्यार्थीलाई समेत कोषबाट सहयोग उपलब्ध गराउने क्याम्पसले जनाएको छ।

क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईले क्याम्पस सभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा कोष स्थापनाको प्रक्रियासँगै मेचीनगर नगरपालिकामा क्याम्पसको तर्फबाट स्वयंसेवकका रूपमा परिचालित २१ जना विद्यार्थीलाई संस्थापक दाताको पहिचान दिइएको उल्लेख छ। कोष सञ्चालनका लागि आवश्यक कार्यविधिसमेत तयार भइसकेको सञ्चालक समितिका अध्यक्ष न्यौपानेले जानकारी दिए।
चुनौतीलाई अवसरमा बदल्ने योजना
स्थापना दिवसका अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनले विद्यार्थी कल्याणसँगै क्याम्पसको शैक्षिक र भौतिक विकासलाई पनि प्राथमिकतामा राखेको छ। विद्यार्थी संख्या कम भएका कारण कक्षा सञ्चालन गर्न नसकिने विषय पहिचान गरी त्यस्ता विषयमा अध्यापनरत प्राध्यापकलाई अन्य विषय अध्ययनका लागि प्रोत्साहित गर्ने योजना क्याम्पसले अघि सारेको छ।

क्याम्पसको नियमित आयस्रोत व्यवस्थापनलाई थप व्यवस्थित बनाउन विभिन्न क्षेत्रसँग सहकार्य गर्ने र सामुदायिक तथा शैक्षिक संस्थाबीच स्वस्थ प्रतिस्पर्धाका लागि नियमित अन्तरक्रिया गर्ने योजना पनि प्रतिवेदनमा समेटिएको छ।

क्याम्पसले नवनिर्मित भवनको रङरोगन गर्ने, दोस्रो चरणको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्तिको प्रक्रिया अघि बढाउने तथा स्नातकोत्तर तहमा थप विषय सञ्चालन गर्ने योजना बनाएको छ।

विद्यार्थी र समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउन कार्यक्रम सञ्चालन गर्ने, अनुसन्धानमा आधारित लेख तथा सामग्री तयार गरी प्रकाशन गर्ने र प्रविधिमैत्री ज्ञान तथा सीप प्रदान गर्ने योजना पनि क्याम्पसले अघि सारेको छ। त्यसैगरी क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीको पेशागत वृत्ति विकाससँगै सेवा सुविधालाई समयानुकूल बनाउने विषयलाई समेत आगामी योजनामा समेटिएको छ।
तीन करोडभन्दा बढीको कारोबार
क्याम्पस प्रमुख भट्टराईले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार त्रिदेव क्याम्पसले गत आर्थिक वर्षमा ३ करोड ३९ लाख १८ हजार ४४६ रुपैयाँ बराबरको कारोबार गरेको छ।

क्याम्पसको दीर्घकालीन आर्थिक आधार बलियो बनाउन दाताहरूले आफन्तको नाममा ५ लाख रुपैयाँ बराबरका अक्षयकोष स्थापना गरेको प्रतिवेदनमा उल्लेख छ। सामुदायिक क्याम्पसका रूपमा आर्थिक स्रोतको दिगोपनालाई प्राथमिकता दिँदै थप अक्षयकोष तथा सहयोग जुटाउने प्रयास भइरहेको क्याम्पसले जनाएको छ।

त्रिदेव क्याम्पसले समुदायसँगको सम्बन्धलाई पनि आफ्नो शैक्षिक गतिविधिको महत्वपूर्ण पाटोका रूपमा अघि बढाएको छ। सामुदायिक क्याम्पसको अवधारणाअनुसार विभिन्न विद्यालय तथा समुदायमा शिक्षा र स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको क्याम्पसले जनाएको छ।
५२ पूर्वविद्यार्थी सम्मानित
२०औँ स्थापना दिवसका अवसरमा क्याम्पसले विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तित्व तथा विद्यार्थीलाई सम्मान गरेको छ। क्याम्पसका दाता, उत्कृष्ट प्राध्यापक र उत्कृष्ट विद्यार्थीका साथै त्रिदेव क्याम्पसबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरी बाहिरिएका ५२ जना पूर्वविद्यार्थीलाई सम्मान गरिएको थियो।

उत्कृष्ट शिक्षकका रूपमा तोयानाथ दाहाल र उर्मिला सापकोटा सम्मानित भए। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई समेत सम्मान गरिएको क्याम्पसले जनाएको छ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्तोष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहनियन्त्रक डा. गोविन्द गुरागाईं प्रमुख अतिथि थिए।

कार्यक्रममा पब्लिक क्याम्पस पूर्वाञ्चलका अध्यक्ष तथा सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुन अधिकारी, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद् सदस्य तथा दमक बहुमुखी क्याम्पसका प्रमुख यज्ञप्रसाद गिरी, अर्जुनधारा क्याम्पसका प्रमुख कृष्ण थापा, सीता रमेश क्याम्पसका प्रमुख पुष्पराज अधिकारी, क्याम्पसका पूर्वसञ्चालक समिति अध्यक्ष हरि घिमिरे, पूर्वक्याम्पस प्रमुख माधव प्याकुरेल तथा स्वतन्त्र विद्यार्थी युनियनकी उपाध्यक्ष मनिषा सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा क्याम्पसको शैक्षिक विकास, सामुदायिक भूमिका र विद्यार्थीको भविष्यसँग जोडिएका विषयमा वक्ताहरूले धारणा राखेका थिए।

सावित्रा दाहाल भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक समिति उपाध्यक्ष भक्त खेवाङले स्वागत गरेका थिए। स्थापना दिवसको अवसरमा स्वेच्छा खड्काले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन्।