मङ्गलवार, असोज २०, २०८३
Sancharmanch

अर्जुनधारामा अपाङ्गता भएका नागरिकका लागि शिविर सञ्चालन

Posted by:
मङ्गलवार, असोज २०, २०८३

झापा । अर्जुनधारा नगरपालिकामा अपाङ्गता भएका नागरिकको पहिचान, स्वास्थ्य परीक्षण तथा आवश्यक सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले अपाङ्गता सम्बन्धी शिविर सञ्चालन भइरहेको छ। असोज १९ गतेदेखि सुरु भएको शिविर असोज २१ गतेसम्म नगरका विभिन्न तीन स्थानमा सञ्चालन हुने जनाइएको छ।

स्थानीय तहसम्मै सेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको शिविरअन्तर्गत नगरपालिकाका विभिन्न वडालाई पायक पर्ने स्थानमा शिविर सञ्चालन गरिएको हो। नगरका वडा नं. १, २ र ३ का नागरिकका लागि वडा नं. ३ मा शिविर सञ्चालन गरिएको थियो। त्यस्तै वडा नं. ९, १० र ११ का नागरिकलाई लक्षित गरी वडा नं. ११ मा शिविर सम्पन्न भइसकेको छ। बाँकी वडाका नागरिकका लागि भने असोज २१ गते वडा नं. ७ मा शिविर सञ्चालन गरिने अर्जुनधारा नगरपालिका वडा नं. १० का अध्यक्ष खगेन्द्र इङ्नामले जानकारी दिनुभयो।

वडा नं. ३ मा सञ्चालन गरिएको शिविरबाट ३४ जना नागरिकले सेवा लिएका थिए। वडा नं. ११ मा सञ्चालन गरिएको शिविरमा भने त्यसको तुलनामा अझ बढी संख्यामा नागरिकले सेवा लिएको बताइएको छ। स्थानीयस्तरमै शिविर सञ्चालन गरिँदा अपाङ्गता भएका नागरिक तथा उनीहरूका परिवारलाई टाढा गएर सेवा लिनुपर्ने बाध्यता कम भएको आयोजकको भनाइ छ।

शिविरमा अपाङ्गता भएका नागरिकको पहिचानसँगै उनीहरूको स्वास्थ्य अवस्था र आवश्यकताका विषयमा प्रारम्भिक परीक्षण तथा परामर्श प्रदान गरिएको छ। विशेषगरी नाक, कान, आँखा लगायतका क्षेत्रमा देखिएका समस्या तथा अपाङ्गताको अवस्था पहिचान गर्ने कार्य गरिएको जनाइएको छ। शिविरमा आवश्यक प्रक्रिया पूरा गरेका नागरिकलाई अपाङ्गता परिचयपत्र वितरणसम्बन्धी सेवा पनि उपलब्ध गराइएको छ।

अर्जुनधारा नगरपालिकामा अपाङ्गता भएका नागरिकको स्वास्थ्य, पुनःस्थापना तथा सामाजिक समावेशीकरणका क्षेत्रमा करुणा फाउण्डेशन नेपाल, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र अर्जुनधारा नगरपालिकाको त्रिपक्षीय लागत साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। सोही साझेदारीअन्तर्गत अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत शिविर सञ्चालन गरिएको हो।

करुणा फाउण्डेशन नेपाल अर्जुनधारा नगरपालिकाका संयोजक सरेन्द्र गिरीले शिविरमार्फत अपाङ्गता भएका नागरिकलाई उनीहरूकै स्थानीय तहमा आवश्यक सेवा उपलब्ध गराउने प्रयास गरिएको बताउनुभयो। उहाँका अनुसार सबै नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले वडागत रूपमा पायक पर्ने स्थान छनोट गरी शिविर सञ्चालन गरिएको हो।

अपाङ्गता भएका नागरिकको पहिचान समयमै हुन नसक्दा उनीहरूले राज्यबाट प्राप्त गर्न सक्ने सेवा, सुविधा तथा अधिकारबाट समेत वञ्चित हुनुपर्ने अवस्था रहँदै आएको छ। यस्तो अवस्थामा स्थानीयस्तरमा सञ्चालन हुने पहिचान तथा पुनःस्थापना शिविरले अपाङ्गता भएका नागरिकलाई आवश्यक सेवासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नगरपालिकाले अपाङ्गता भएका नागरिकको अवस्थाबारे तथ्यांक संकलन, पहिचान, परिचयपत्र वितरण तथा आवश्यक पुनःस्थापना सेवासँग जोड्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ। शिविरबाट प्राप्त विवरणका आधारमा आवश्यकताअनुसार सम्बन्धित नागरिकलाई थप स्वास्थ्य परीक्षण, उपचार, पुनःस्थापना तथा अन्य उपलब्ध सेवामा जोड्ने पहल गरिने बताइएको छ।

अर्जुनधारामा तीन दिनसम्म सञ्चालन हुने शिविरले नगरका विभिन्न वडामा रहेका अपाङ्गता भएका नागरिकलाई स्थानीयस्तरमै सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अपाङ्गता भएका नागरिकको अधिकार, स्वास्थ्य र पुनःस्थापनाका क्षेत्रमा प्रभावकारी काम गर्नुपर्ने आवश्यकता देखिएको छ।
सम्बन्धित खबर