बिहिवार, असोज १५, २०८३
Sancharmanch

कन्याममा ‘वृक्षालय’ सञ्चालन, चिया पर्यटनसँगै स्तरीय आतिथ्य विस्तारको लक्ष्य

Posted by:
बिहिवार, असोज १५, २०८३
इलाम/ लामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा चिया पर्यटनलाई आतिथ्य सेवासँग जोड्ने उद्देश्यसहित ‘कन्याम वृक्षालय’ सञ्चालनमा आएको छ। कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्रको संरचनालाई उपयोग गर्दै वृक्षालय सञ्चालनमा ल्याइएको हो। पर्यटनको सम्भावना उच्च रहेको कन्याममा पर्यटकको बसाइ लम्ब्याउने र चियासँग जोडिएका स्थानीय उत्पादन, संस्कृति तथा खानपानलाई पर्यटनको अनुभवसँग जोड्ने लक्ष्यसहित वृक्षालय सञ्चालन गरिएको सञ्चालक उत्तमकुमार श्रेष्ठले जानकारी दिए। २०८० सालमा चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्रका रूपमा निर्माण सम्पन्न भएको संरचना पूर्णरूपमा उपयोग हुन सकेको थिएन। संरक्षणको अभावमा केही संरचना जीर्णसमेत बनेका थिए। त्यसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्रमार्फत २०८१ असार १८ गते उत्तम प्रगति निर्माण सेवाले उक्त संरचना १० वर्षका लागि भाडामा लिएर सञ्चालन सुरु गरेको हो। सम्झौताअनुसार उपलब्ध पाँचवटा भवनबाहेक वृक्षालयले आफ्नै लगानीमा करिब दुई करोड रुपैयाँ खर्च गरेर थप संरचना निर्माण गरेको जनाएको छ। सञ्चालकका अनुसार वृक्षालयको उद्देश्य होटल सञ्चालनमा मात्र सीमित नभई कन्यामलाई ‘घुम्ने ठाउँ’ भन्दा ‘अनुभव गर्ने गन्तव्य’ का रूपमा विकास गर्नु हो। चियालाई पर्यटनको अनुभवसँग जोड्ने प्रयास इलामको पहिचान चियासँग जोडिएकाले चियालाई पेय पदार्थका रूपमा मात्र नभई पर्यटनको अनुभवका रूपमा प्रस्तुत गर्ने योजना वृक्षालयले अघि सारेको छ। चिया बगान, चिया उत्पादन, स्थानीय किसानको श्रम र चियाको स्वादलाई पर्यटकको अनुभवसँग जोडेर ‘चिया पर्यटन’ प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। वृक्षालयले अमेरिका तथा युरोपेली मुलुकसँगै भारतको बिहार, पश्चिम बंगाल, भुटान, बंगलादेश तथा म्यान्मारबाट समेत पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ। पर्यटकलाई आफ्नै होटलमा सीमित नराखी कन्याम तथा इलाममा रहेका होमस्टे, अन्य होटल र पर्यटकीय गन्तव्यबारे जानकारी गराउँदै समग्र पर्यटन क्षेत्रलाई लाभ पुग्ने गरी अघि बढ्ने सञ्चालकको भनाइ छ। पर्यटकको इलाम बसाइलाई न्यूनतम चार रात पाँच दिनसम्म लम्ब्याउने उद्देश्य पनि राखिएको छ। स्थानीय युवालाई रोजगारी विश्व पर्यटन बजारमा लामो समयको अनुभव हासिल गरेर नेपाल फर्किएका ४० वर्षभन्दा कम उमेरका चार युवाको सामूहिक लगानी तथा व्यवस्थापनमा वृक्षालय सञ्चालनमा आएको हो। हाल वृक्षालयमा २५ जना युवा प्रत्यक्ष रोजगारीमा छन्। रोजगारीमा स्थानीय युवा–युवतीलाई प्राथमिकता दिइएको सञ्चालकले जनाएको छ। वृक्षालयका सञ्चालकका अनुसार पछिल्लो ६ वर्षदेखि नेपालको विभिन्न प्रदेशमा यसको विस्तार हुँदै आएको छ। काठमाडौं, चितवन, लमजुङ, बाँके र इलाममा शाखा सञ्चालनमा रहेको र आगामी दिनमा देशका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने योजना रहेको जनाइएको छ। रैथाने खानपान तथा मौलिक स्वादको प्रवर्द्धन र संरक्षण गर्दै नेपाली आतिथ्यलाई थप स्तरीय बनाउने लक्ष्य वृक्षालयले लिएको छ। एउटै परिसरमा चिया केन्द्र र संग्रहालय वृक्षालयसँगै चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र र चिया संग्रहालयसमेत सञ्चालनमा छन्। यी संरचनाको स्वामित्व तथा व्यवस्थापन भने कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाकै रहेको छ। इलाम आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कन्यामको प्राकृतिक सौन्दर्य, इलामको चिया, कृषिजन्य उत्पादन र नेपाली आतिथ्यसँग जोड्ने प्रयास गरिने वृक्षालयका अध्यक्ष उत्तमकुमार श्रेष्ठले बताए। स्थानीय सरकार, समुदाय, व्यवसायी, पर्यटन क्षेत्र र सञ्चारमाध्यमसँगको सहकार्यलाई प्राथमिकता दिइने उनको भनाइ छ। वृक्षालयले आफ्नो सेवा र पहिचानका लागि ‘तीन स’लाई मूलमन्त्र बनाएको छ। सरसफाइ, सत्कार र स्वादलाई प्राथमिकतामा राख्दै कन्यामलाई केवल घुम्ने ठाउँ नभई पर्यटकले अनुभव गर्न सक्ने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। वृक्षालयले विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामनासमेत व्यक्त गरेको छ। पत्रकार सम्मेलनमा सञ्चालकहरु राजु ढकाल , सन्ताेष कुँवरले समेत धारणा राखेका थिए । कार्यक्रमकाे सञ्चालन तेजेन्द्र शर्माले गरेका थिए ।
सम्बन्धित खबर