मङ्गलवार, असोज १३, २०८३
Sancharmanch

समाजलाई सम्पत्ति हस्तान्तरण गरेर प्रतिष्ठान स्थापना : माता अंगीरस दुर्गा मन्दिर प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न

Posted by:
मङ्गलवार, असोज १३, २०८३

झापा । माता अंगीरस दुर्गा मन्दिर प्रतिष्ठान, अर्जुनधारा–६, झापाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार अर्जुनधारा–६ स्थित प्रतिष्ठानको कार्यालयमा आयोजित साधारण सभा प्रतिष्ठानका संस्थापक अध्यक्ष ओमभक्त सेडाईको अध्यक्षतामा सम्पन्न भएको हो।

अर्जुनधारा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष हरिश्चन्द्र बाँस्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, सामाजिक व्यक्तित्व, जनप्रतिनिधि, विभिन्न समुदायका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रम प्रतिष्ठानका सचिव पारसमणि मैनालीले सञ्चालन गर्नुभएको थियो।

साधारण सभामा प्रतिष्ठानको स्थापना, उद्देश्य, सामाजिक योगदान तथा आगामी दिनमा सञ्चालन गरिने गतिविधिका विषयमा समेत चर्चा गरिएको थियो। कार्यक्रममा प्रतिष्ठान स्थापनाको पृष्ठभूमि र त्यसमा प्रमुख संरक्षक पद्यमादेवी सेडाईले गर्नुभएको योगदानलाई विशेष रूपमा स्मरण गरिएको थियो।

प्रतिष्ठानकी प्रमुख संरक्षक पद्यमादेवी सेडाईले आफ्नो जीवन संघर्षपूर्ण अवस्थाबाट अघि बढेको बताउनुभयो। बाल्यकालमै बिरामी भएर जीवनको कठिन अवस्था सामना गर्नुपरेको र बाबुको साथबिना जीवन संघर्ष गर्दै सामाजिक उत्थानमा योगदान पुर्‍याउँदै आएको उहाँले स्मरण गर्नुभयो।

जीवनमा अनेकौँ कठिनाइका बीच आफूले आर्जन गरेको सम्पत्तिलाई व्यक्तिगत स्वार्थमा सीमित नराखी समुदायको हितमा उपयोग गर्ने उद्देश्यले प्रतिष्ठानलाई आफ्नो सम्पत्ति हस्तान्तरण गरेको उहाँको भनाइ थियो।

आफूले जीवनभर संघर्ष गरेर प्राप्त गरेको सम्पत्तिबाट समाजलाई केही योगदान गर्नुपर्छ भन्ने भावनाका साथ प्रतिष्ठान स्थापना गर्न सहयोग गरेको बताउँदै सेडाईले सामाजिक सेवाको क्षेत्रमा प्रतिष्ठानलाई अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

प्रतिष्ठानका संस्थापक अध्यक्ष ओमभक्त सेडाईका अनुसार प्रमुख संरक्षक पद्यमादेवी सेडाई तेह्रथुम जिल्लाको आठराईबाट झापा आउनुभएको हो। झापा आएपछि उहाँले आफ्नी आमा नारायणी सेडाईको सेवामा आफूलाई समर्पित गर्नुभएको थियो।

जीवनको लामो समय परिवार तथा समाजसँग जोडिएर बिताउनुभएकी पद्यमादेवीले आफ्नो नाममा रहेको ५५ धुर जग्गा समुदायको हितका लागि हस्तान्तरण गरेपछि त्यसैको आधारमा माता अंगीरस दुर्गा मन्दिर प्रतिष्ठान स्थापना गरिएको अध्यक्ष सेडाईले बताउनुभयो।

व्यक्तिगत सम्पत्तिलाई समुदायको हितमा समर्पित गर्ने निर्णय आफैँमा महत्वपूर्ण सामाजिक उदाहरण भएको उहाँको भनाइ थियो। प्रतिष्ठान स्थापनाको उद्देश्य धार्मिक गतिविधिमा मात्र सीमित नराखी सामाजिक उत्थान, मानवसेवा तथा समुदायको हितमा काम गर्ने रहेको अध्यक्ष सेडाईले स्पष्ट पार्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले पनि व्यक्तिगत सम्पत्तिलाई सामाजिक हितका लागि समर्पण गर्ने संस्कारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए। सामाजिक संस्था स्थापना गरेर मात्र उद्देश्य पूरा नहुने भन्दै संस्थाले आगामी दिनमा पारदर्शी, प्रभावकारी र समाजको आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।

साधारण सभामा बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, सामाजिक व्यक्तित्व कविन्द्र सेडाई, पूर्व प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई, मारवाडी समुदायका प्रतिनिधि, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रतिष्ठानको पहिलो अधिवेशनसमेत सम्पन्न गरिएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा टंकप्रसाद सेडाई चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा पारसमणि मैनाली, सचिवमा रामप्रसाद सेडाई र कोषाध्यक्षमा नवीनकुमार अग्रवाल गोहेल चयन हुनुभएको छ।

कार्यसमिति सदस्यहरूमा इश्वरी श्रेष्ठ, चन्द्रदेवी सेडाई, हेमराज कडरिया र सुरेशकुमार अग्रवाल लगायत चयन हुनुभएको प्रतिष्ठानले जनाएको छ।

नयाँ कार्यसमिति चयन भएसँगै प्रतिष्ठानले आगामी दिनमा सामाजिक तथा धार्मिक गतिविधिलाई थप व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। प्रतिष्ठानले स्थानीय समुदायसँग सहकार्य गर्दै सामाजिक सेवा, धार्मिक संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा काम गर्ने लक्ष्य राखेको बताइएको छ।

समाजमा आफ्नो जीवनकालमा आर्जन गरेको सम्पत्ति र स्रोतलाई समुदायको हितमा समर्पण गर्ने अभ्यास पछिल्लो समय कम हुँदै गएको अवस्थामा पद्यमादेवी सेडाईले आफ्नो नाममा रहेको ५५ धुर जग्गा समुदायलाई हस्तान्तरण गरेर प्रतिष्ठान स्थापना गर्न योगदान पुर्‍याउनु उदाहरणीय कार्यका रूपमा प्रस्तुत गरिएको छ।

तेह्रथुमको आठराईबाट झापा आएर आफ्नो जीवनलाई नयाँ परिवेशमा अघि बढाउनुभएकी सेडाईले पारिवारिक जिम्मेवारीसँगै सामाजिक दायित्वलाई समेत प्राथमिकता दिनुभएको प्रतिष्ठानका पदाधिकारीहरूको भनाइ छ। उहाँको व्यक्तिगत जीवन संघर्ष र त्यसबाट प्राप्त अनुभवलाई सामाजिक सेवामा रूपान्तरण गर्ने प्रयास प्रतिष्ठानको स्थापनासँग जोडिएको छ।

साधारण सभाले प्रतिष्ठानको विगत एक वर्षको गतिविधिको समीक्षा गर्दै आगामी दिनका लागि संस्थागत योजना निर्माण गर्ने बाटोसमेत खोलेको छ। संस्थालाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै स्थानीय समुदायको आवश्यकता र अपेक्षाअनुसार कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

धार्मिक आस्था र सामाजिक सेवाको भावनालाई एकै ठाउँमा जोडेर स्थापना गरिएको माता अंगीरस दुर्गा मन्दिर प्रतिष्ठानले आगामी दिनमा आफ्नो सामाजिक भूमिका विस्तार गर्ने अपेक्षा गरिएको छ। व्यक्तिगत सम्पत्तिलाई सामुदायिक हितमा समर्पित गर्ने उद्देश्यबाट सुरु भएको प्रतिष्ठानको यात्रालाई स्थानीय स्तरमा सामाजिक उत्तरदायित्वको एउटा उदाहरणका रूपमा समेत हेरिएको छ।

प्रथम वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भएसँगै नयाँ नेतृत्वले प्रतिष्ठानलाई थप सक्रिय बनाउने जिम्मेवारी पाएको छ। अब संस्थाले स्थापना हुँदाको उद्देश्य, प्रमुख संरक्षकको योगदान र समुदायप्रतिको प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्दै सामाजिक सेवाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान निर्माण गर्नुपर्ने चुनौतीसमेत नयाँ कार्यसमितिसामु रहेको छ।
सम्बन्धित खबर