शुक्रवार, भदौ २६, २०८३
Sancharmanch

मेची आँखा अस्पतालको सेवा अब भद्रपुरबाट पनि, आफ्नै भवनमा आँखा उपचार केन्द्र सञ्चालन

Posted by:
बिहिवार, भदौ २५, २०८३
झापा / मेची आँखा अस्पताल बिर्तामोडले प्रदान गर्दै आएको सेवा थप विस्तार गर्दै भद्रपुरमा शाखा सञ्चालनमा ल्याएको छ। भद्रपुर नगरपालिका–५ मा ‘भद्रपुर आँखा उपचार केन्द्र’ स्थापना गरी बिहीबार एक कार्यक्रमबीच औपचारिक रूपमा उद्घाटन गरिएको हो। मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङ र नगर प्रमुख पोखरेलले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गर्नुका साथै नव–निर्मित भवनको प्रवेशद्वारमा बाँधिएको रिबन काटेर आँखा उपचार केन्द्रको उद्घाटन गर्नुभएको थियो।   भद्रपुर आँखा उपचार केन्द्र आफ्नै जमिनमा स्थापना गरिएको अस्पतालले जनाएको छ। आँखा अस्पताल निर्माणका लागि सत्यनारायण सरियाले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको बताइएको छ । अस्पतालको भौतिक पूर्वाधार निर्माणमा करिब ४ करोड रुपैयाँ खर्च भएको जनाइएको छ। भद्रपुरमा स्थापना गरिएको आँखा उपचार केन्द्रलाई मेची आँखा अस्पतालको वैकल्पिक आँखा अस्पतालका रूपमा अगाडि बढाउने तयारी गरिएको छ। बिर्तामोडमा रहेको अस्पतालमा बिरामीको चाप बढ्दै गइरहेको अवस्थामा भद्रपुरबाट समेत विशेषज्ञसहितको आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको अस्पतालको भनाइ छ। कार्यक्रममा मेची आँखा अस्पतालका सचिव सुरज खत्रीले सञ्चालन गर्नुभएको थियो भने अस्पतालका उपाध्यक्ष सुरेश बंशलले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा आँखा अस्पताल संघका निवर्तमान अध्यक्ष छत्रप्रसाद अधिकारी, भद्रपुर नगरपालिका–५ का वडा अध्यक्ष बन्धु कार्की, मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहाल, मेची आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुरुषोत्तम जोशी, नेपाल भारत मैत्री समाजका अध्यक्ष साथै सामाजिक व्यक्तित्व प्रदीपमणि रेग्मी तथा जग्गादाता परिवारका सदस्य एवं सामाजिक व्यक्तित्व गोविन्दराम सरियालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। भद्रपुर आँखा उपचार केन्द्रले औपचारिक उद्घाटन हुनुअघि नै दुई दिनदेखि आँखा उपचार सेवा सञ्चालन गर्दै आएको बताइएको छ। केन्द्रमा दैनिक करिब ७ सयभन्दा बढी आँखाका बिरामीले उपचार सेवा लिइरहेको अस्पतालले जनाएको छ। सेवा सुरु भएको छोटो समयमै बिरामीको उल्लेख्य उपस्थिति देखिनुले भद्रपुरमा आँखा उपचारसम्बन्धी सेवाको आवश्यकता र मागलाई समेत देखाएको अस्पतालको भनाइ छ। अस्पतालले भद्रपुरबाट उपलब्ध गराउने सेवामा मेची आँखा अस्पताल बिर्तामोडमा उपलब्ध हुने सेवासरहका उपचार सुविधा विस्तार गर्ने तयारी गरेको जनाएको छ। यससँगै पूर्वी झापाका साथै आसपासका क्षेत्रका नागरिकलाई आँखा उपचारका लागि बिर्तामोडसम्म पुग्नुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षको जिम्मेवारीमा रहँदा संस्थालाई दुई पटक देशकै उत्कृष्ट संस्थाका रूपमा पुरस्कृत गराउन सफल भएको बताइएको छ। मेची आँखा अस्पतालको अध्यक्ष बनेपछि उहाँकै नेतृत्वमा अस्पतालको स्तरवृद्धि तथा भौतिक संरचनाको विकास हुँदै आएको देखिएकोछ। अध्यक्ष गुरुङको कार्यकालमा मेची आँखा अस्पतालको सेवा, संरचना र व्यवस्थापनमा विस्तारसँगै भद्रपुरमा समेत अस्पतालकै स्वरूपमा सेवा सुविधा उपलब्ध गराउने गरी नयाँ संरचना निर्माण गरिएको हो। भद्रपुरमा निर्माण गरिएको नयाँ आँखा उपचार केन्द्रले झापासहित आसपासका जिल्लाका नागरिकलाई मात्र नभई छिमेकी मुलुक भारतका नागरिकहरुलाई समेत सहज, पहुँचयोग्य र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। कार्यक्रमका वक्ताहरूले आँखासम्बन्धी समस्या बढ्दै गइरहेको अवस्थामा विशेषज्ञ तथा आधुनिक उपचार सेवा स्थानीय तहमै विस्तार हुनु सकारात्मक भएको बताएका थिए। उनीहरूले भद्रपुरमा स्थापना भएको उपचार केन्द्रले आर्थिक अवस्था कमजोर भएका तथा टाढाबाट उपचारका लागि आउनुपर्ने बिरामीलाई समेत सहज हुने विश्वास व्यक्त गरेका थिए।
सम्बन्धित खबर