झापा / नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ११२औँ जन्मजयन्तीका अवसरमा झापाका चार जना लोकतान्त्रिक अग्रजलाई सम्मान गरिएको छ।

गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान, गौरादह–५, बैगुन्धुराले ९० वर्षभन्दा माथिका चार जना अग्रज नेताहरूलाई उहाँहरूकै निवासमा पुगेर सम्मान गरेको हो। लोकतान्त्रिक आन्दोलनमा उनीहरूले पुर्याएको योगदान, त्याग र संघर्षको सम्मान गर्दै घरमै पुगेर सम्मान कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।

सम्मानित हुनेमा कमल–२ का ९३ वर्षीय खड्गबहादुर ढुंगाना, शिवसताक्षी–११, दूधे निवासी ९३ वर्षीय देउकुमार राई, बिर्तामोड–३, बिर्ताबजारका ९१ वर्षीय डिल्लीप्रसाद सिटौला र सोही वडाका ९६ वर्षीय कृष्णबहादुर दाहाल रहनुभएको छ।

प्रतिष्ठानका अनुसार सम्मानित चारै जना अग्रजले राणाशासनपछिको राजनीतिक संक्रमणदेखि पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, भूमिगत राजनीति, जनमतसंग्रह, सत्याग्रह तथा २०४६ सालको जनआन्दोलनसम्मका विभिन्न राजनीतिक चरणमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो।

लामो समयसम्म लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका यी अग्रजहरूको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ। राजनीतिक परिवर्तनका विभिन्न कालखण्डमा उनीहरूले भोगेको संघर्ष, त्याग र अनुभव वर्तमान पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्ने प्रतिष्ठानको भनाइ छ।

कार्यक्रममा गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठानका अध्यक्ष उत्तमबहादुर चौलागाईंले सम्मान कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो।

उहाँले लोकतान्त्रिक आन्दोलनका क्रममा योगदान पुर्याएका ज्येष्ठ राजनीतिक व्यक्तित्वहरूको योगदानलाई सम्झनु र सम्मान गर्नु समाजको दायित्व भएको बताउनुभएको थियो।

त्यस्तै, नेपाली कांग्रेस महासमिति सदस्य तथा गौरादह नगरपालिकाका निवर्तमान नगर प्रमुख रोहितकुमार शाह,

प्रतिष्ठानका सदस्य भक्तिप्रसाद सिटौला,

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला,

नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिका कोषाध्यक्ष तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङलगायतले सम्मानित अग्रजहरूको राजनीतिक योगदान र संघर्षको स्मरण गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले लोकतन्त्र स्थापनाका लागि विगतमा गरिएको संघर्ष र त्यागलाई नयाँ पुस्ताले बुझ्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले अहिलेको राजनीतिक पुस्ताले ज्येष्ठ नेताहरूको अनुभव, विचार र संघर्षबाट सिक्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई थप सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए।

प्रतिष्ठानले ज्येष्ठ राजनीतिक व्यक्तित्वहरूको योगदानलाई केवल औपचारिक कार्यक्रममार्फत स्मरण गर्नेभन्दा पनि उहाँहरूकै घरमा पुगेर सम्मान गर्दा आत्मीयता र सम्मानको अनुभूति थप प्रभावकारी हुने जनाएको छ। वृद्ध अवस्थामा रहेका राजनीतिक योद्धाहरूको अवस्था बुझ्नुका साथै उहाँहरूको अनुभव नयाँ पुस्तासम्म पर्याउने उद्देश्यले घरमै पुगेर सम्मान गरिएको प्रतिष्ठानको भनाइ छ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेश सुब्बासहित कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। सम्मान कार्यक्रममा सहभागीहरूले लोकतान्त्रिक आन्दोलनमा योगदान पर्याएका ज्येष्ठ व्यक्तित्वप्रति सम्मान व्यक्त गर्दै उहाँहरूको योगदानलाई इतिहासमा सुरक्षित राख्नुपर्नेमा जोड दिएका थिए।

प्रतिष्ठानले आगामी दिनमा पनि लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएका अग्रज व्यक्तित्वहरूको खोजी, सम्मान तथा उहाँहरूको अनुभवलाई नयाँ पुस्तासम्म पुर्याउने अभियानलाई निरन्तरता दिने जनाएको छ।
मरिसकेपछि हुने सम्मान भन्दा जिवितनै रहेका समयमा गरिएको सम्मान वास्तवमा चिरस्थायी सम्म बाँचिरहने सम्मान हुने देखिन्छ ।