शुक्रवार, साउन २९, २०८३
Sancharmanch

सरिता अधिकारीको अभिनय रहेको ‘फर्सी कुइएजै’ म्युजिक भिडियो सार्वजनिक

Posted by:
शुक्रवार, साउन २९, २०८३

दुबई । नेपाली कला, संगीत र संस्कृतिलाई विदेशी भूमिमा समेत प्रवर्द्धन गर्ने उद्देश्यले दुबईमा छायांकन गरिएको नयाँ नेपाली म्युजिक भिडियो ‘फर्सी कुइएजै’ सार्वजनिक भएको छ। विकास तिवारीको निर्माणमा तयार भएको भिडियोमा रन्जित रिजाल र सरिता अधिकारीको मुख्य अभिनय रहेको छ।

विदेशमा रहेर पनि नेपाली कला तथा संगीतप्रतिको प्रेमलाई निरन्तरता दिने उद्देश्यले भिडियो निर्माण गरिएको निर्माण पक्षले जनाएको छ। दुबईका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा नेपाली कलाकारहरूको सिर्जनात्मक प्रस्तुति देख्न सकिन्छ।

‘फर्सी कुइएजै’ मा पाकिस्तानी चर्चित गायक आतिफ असलम र नेपाली गायिका बिना घलेको स्वर रहेको छ। गीतमा पदम बिसीको संगीत तथा नेत्र लम्सालको शब्द रहेको छ भने संगीत एरेन्ज तथा कम्पोज सञ्जय शिर्पालीले गर्नुभएको छ।

गीतको भोकल रेकर्डिङ लामा प्रोडक्सनमा गरिएको हो। त्यसैगरी गीतको मिक्सिङ तथा मास्टरिङको काम सञ्जय शिर्पालीले गर्नुभएको निर्माण पक्षले जनाएको छ। मुर्कुङ्गा डिजिटल स्टुडियोसँगको सहकार्यमा तयार गरिएको भिडियोको ग्राफिक्स तथा प्रमोशनल डिजाइन सरोज अधिकारीले गर्नुभएको हो।

म्युजिक भिडियोको निर्देशन नरेशले गर्नुभएको छ भने सिनेमाटोग्राफी नवीनकुमारले गर्नुभएको छ। भिडियोको सम्पादन इलियास शेखले गर्नुभएको हो भने निर्माण विकास तिवारीले गर्नुभएको छ।

भिडियोमा रन्जित रिजाल, सरिता अधिकारी, आशिष पुरुष, विकास तिवारी, ज्याक जङ्ग थापालगायतका कलाकारहरूको अभिनय रहेको छ। कलाकारहरूले दुबईमा रहेर नेपाली सांगीतिक सिर्जनालाई अन्तर्राष्ट्रिय परिवेशमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।

पेरेनिप मोशन पिक्चर्स प्राइभेट लिमिटेडको प्रस्तुति तथा निर्माणमा तयार भएको भिडियो दुबईका विभिन्न आकर्षक तथा रमणीय स्थानमा छायांकन गरिएको हो। विदेशी भूमिमा रहेका नेपाली कलाकार तथा सर्जकहरूलाई जोड्दै नेपाली सिर्जनालाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउने उद्देश्यले भिडियो निर्माण गरिएको निर्माण पक्षको भनाइ छ।

पछिल्लो समय नेपाली कलाकार तथा सर्जकहरूले विदेशमा रहेर पनि नेपाली गीत–संगीत र संस्कृतिलाई प्रवर्द्धन गर्दै आएका छन्। ‘फर्सी कुइएजै’ पनि सोही प्रयासको निरन्तरता भएको निर्माण पक्षले जनाएको छ।

विदेशमा रहेर नेपाली कला र संगीतलाई माया गर्ने कलाकार तथा सर्जकको सिर्जनालाई दर्शकले सकारात्मक रूपमा लिने अपेक्षा गरिएको छ। नेपाली संगीतलाई अन्तर्राष्ट्रिय परिवेशमा प्रस्तुत गर्ने प्रयासले विदेशमा रहेका नेपाली समुदायसँगै नेपालमा रहेका दर्शकमाझ पनि नयाँ सांगीतिक अनुभव प्रदान गर्ने निर्माण पक्षको विश्वास छ।

‘फर्सी कुइएजै’ म्युजिक भिडियो अहिले दर्शकमाझ सार्वजनिक भइसकेको छ।
सम्बन्धित खबर