झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिर्तामोड नगर समितिको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत अनारमनी आधारभूत विद्यालयमा लागुऔषध न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर रास्वपा कोशी प्रदेशको सर्कुलरअनुसार कोशी प्रदेशभर विभिन्न कार्यक्रम सञ्चालन भइरहेकाछन् ।

सोहि अभियान अन्तर्गतको कार्यक्रममा विद्यालयलाई खेलमैदान सरसफाईका लागि एक थान ब्रस कटरसमेत हस्तान्तरण गरिएको छ ।

शुक्रबार बिर्तामोड नगरपालिका–४ स्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई लागुऔषध दुव्र्यसनबाट हुने असर, त्यसबाट बच्ने उपाय तथा बालबालिकालाई जोखिमबाट जोगाउन अभिभावक र विद्यालयको भूमिकाका विषयमा जानकारी दिने उध्येश्यले आयोजना गरिएको विर्तामोड नगरपालिका वडा नं. ४ का सभापती लक्ष्मि खरेलले बताउनुभयो ।

रास्वपा बिर्तामोड नगर समितिको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चेतना नेपाल र रास्वपा बिर्तामोड नगर समितिको सहकार्यमा लागुऔषध दुर्ब्यसनविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको हो ।

कार्यक्रममा अभिभावक तथा विद्यार्थीबीच सचेतनामूलक जानकारी तथा सहजीकरण चेतना नेपालका सहजकर्ता कल्पना भट्टराई र देवीभक्त आचार्यले गर्नुभएको थियो ।

परिवारले बालबालिकाको बिभिन्न आचरण बाट लागु औषध बारे निगरानी गर्न आवश्यक रहेको रास्वपा बिर्तामोडका उपसभापति अनुप निरौलाको भनाई छ ।

कार्यक्रम रास्वपा बिर्तामोडका उपसभापति अनुप निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा अनारमनी आधारभूत विद्यालय बिर्तामोड–४ का प्रधानाध्यापक टङ्क कटुवाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

अनारमनी प्रहरी चौकीमा लागु औषधमा फसेका बालबालिकाहरु धेरै हुने गरेको नगर सचिव श्रीजन अधिकारीले बताउनुभयो ।

कार्यक्रममा विद्यालय तथा समुदायमा लागुऔषधको प्रयोग र दुव्र्यसन न्यूनीकरणका लागि विद्यार्थी, अभिभावक, विद्यालय तथा समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

बालबालिकालाई लागुऔषधको जोखिमबाट जोगाउन समयमै सचेतना फैलाउनुपर्ने र उनीहरूको गतिविधिमा अभिभावक तथा विद्यालयले निगरानी बढाउनुपर्ने बताइएको थियो ।

कार्यक्रममा रास्वपा बिर्तामोड–४ का सभापति लक्ष्मी खरेलले स्वागत मन्तव्य राख्दै बिर्तामोड नगरपालिकाकै दुर्गम क्षेत्रमा रहेको बिद्यालयको अवस्था अत्यन्तै दयनिय भएको साथै लागु औषधकै कारण विद्यालयमा चोरी हुने गरेको बताउनु भएको छ ।

यसै अवसरमा रास्वपा बिर्तामोड–४ वडा समितिले विद्यालयको खेलमैदानको घाँस काट्न तथा सरसफाइमा प्रयोग गर्न एक थान ब्रस कटर विद्यालयलाई प्रदान गरेको छ।

विद्यालयको भौतिक वातावरण व्यवस्थित राख्न तथा विद्यार्थीका लागि खेलमैदानलाई प्रयोगयोग्य बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री प्रदान गरिएको कार्यक्रम नगर समितिका सचिव श्रीजन अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

विद्यालयमा पटक–पटक चोरीका घटना भइरहेकाले विद्यालयको भौतिक तथा शैक्षिक गतिविधिमा समेत असर परेको विद्यालय पक्षको गुनासो छ।

विगतमा विद्यार्थीका लागि दिवा खाजा बनाउन प्रयोग हुने ग्यास सिलिन्डर, ल्यापटपलगायतका सामग्री चोरी भएको बताइएको छ ।

त्यसैगरी पछिल्लो समय विद्यालयबाहिरको विद्युत् लाइनमा प्रयोग भएका तार चोरी हुँदा पंखालगायत विद्युतीय उपकरण सञ्चालनमा समस्या आएको जनाइएको छ।

गर्मीयाममा पंखा सञ्चालनमा समेत अवरोध हुँदा विद्यालयको पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक टङ्क कटुवालको भनाइ छ ।

विद्यालय परिसर आसपास लागुऔषध प्रयोगकर्ताको जमघट तथा कारोबार हुने गरेको गुनासोसमेत उठाइएको छ ।

यस्तो गतिविधिका कारण विद्यालय आउने बालबालिका जोखिममा पर्न सक्ने भन्दै विद्यालय क्षेत्रको सुरक्षा र निगरानीसँगै बालबालिकालाई घरपरिवार बाटनै निगरानी प्रभावकारी बनाउनुपर्ने रास्वपा बिर्तामोड नगर कमिटिका सदस्य सावित्रा खनाल अधिकारीले बताउनुभयो ।

पटक–पटक हुने चोरीका घटना र विद्यालय आसपास देखिने लागुऔषधसम्बन्धी गतिविधिले विद्यालयको शैक्षिक वातावरणमा चुनौती थपिएको आयोजकको भनाइ छ ।

विद्यालयको सुरक्षासँगै विद्यार्थीलाई सुरक्षित वातावरणमा अध्ययन गर्ने अवस्था सिर्जना गर्न सम्बन्धित निकायको ध्यान जानुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

लागु औषधमा निकोटिनको मात्रा बढि हुने यसको प्रभाव लामो समयसम्म रहने सहजकर्ता कल्पना भट्टराईले बताउनुभयो ।

विद्यालयको सुरक्षा, भौतिक पूर्वाधार संरक्षण तथा विद्यार्थीको सुरक्षित वातावरणका लागि स्थानीय सरकार, विद्यालय व्यवस्थापन, अभिभावक र समुदायबीच समन्वय आवश्यक रहेको बताइएको छ ।

कार्यक्रममार्फत लागुऔषध न्यूनीकरणका लागि सचेतना फैलाउनुका साथै विद्यालयलाई आवश्यक सामग्री सहयोग गरेर सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रयास गरिएको रास्वपा बिर्तामोड नगर समितिले जनाएको छ ।