केशव राज भण्डारी/ झापा,
झापा जिल्लाको मध्यभागमा अवस्थित कनकाई नगरपालिका–४ को कोटीहोम धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलका रूपमा परिचित हुँदै गएको छ। पवित्र कनकाई नदीको पूर्वी किनारमा अवस्थित यस क्षेत्रलाई स्थानीय रूपमा ‘माईधाम’ वा ‘कोटीहोम’का नामले समेत चिनिन्छ।

ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्व बोकेको यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्ने प्रयास भइरहेको छ। धार्मिक आस्था र ऐतिहासिक पहिचानसँग जोडिएको कोटीहोम पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा समेत विकास हुँदै गएको हो।

कोटीहोमको प्रमुख ऐतिहासिक पक्षका रूपमा वि.सं. २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा सञ्चालन गरिएको बृहत् कोटिहोम महायज्ञलाई लिइन्छ। योगी नरहरिनाथले नेपालका विभिन्न स्थानमा सञ्चालन गर्नुभएको सयभन्दा बढी कोटिहोममध्ये यो १३औँ कोटिहोम भएको बताइन्छ। उक्त महायज्ञपछि यस क्षेत्रको धार्मिक पहिचान थप स्थापित भएको स्थानीयको भनाइ छ।

कोटीहोममा विभिन्न धार्मिक अनुष्ठान तथा संस्कार सञ्चालन हुँदै आएका छन्। पूजाआजा, विवाह, व्रतबन्ध तथा पुराणलगायतका धार्मिक कार्यक्रमका लागि यहाँ भक्तजन तथा श्रद्धालु आउने गरेका छन्। विभिन्न थर तथा गोत्रीय संस्थाहरू एकीकृत भएको क्षेत्रका रूपमा समेत कोटीहोमलाई नेपालकै विशिष्ट धार्मिक धामका रूपमा लिइन्छ।

यस परिसरमा दुई दर्जनभन्दा बढी साना–ठूला मन्दिर, धर्मशाला, तथा बगैँचा रहेका छन्। विभिन्न देवी–देवताका मन्दिर तथा प्रतिमासँगै धार्मिक महत्व बोकेका ऐतिहासिक संरचनाले यहाँ आउने भक्तजन तथा पर्यटकलाई आकर्षित गर्ने गरेका छन्।

माघे सङ्क्रान्तिका अवसरमा कोटीहोममा विशेष मेला लाग्ने गर्दछ। उक्त अवसरमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत ठूलो संख्यामा भक्तजन आउने गरेका छन्। कनकाई नदीमा पवित्र स्नान गरी विभिन्न धार्मिक स्थलमा पूजाआजा गर्ने परम्पराका कारण माघे सङ्क्रान्तिमा यहाँ भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ।

यस क्षेत्रको संरक्षण, व्यवस्थापन तथा विकासका लागि व्यवस्थापन समिति गठन गरिएको छ। सामाजिक व्यक्तित्व सेरबहादुर थापाको नेतृत्वमा रहेको समितिले कोटीहोमको धार्मिक तथा ऐतिहासिक महत्वलाई संरक्षण गर्दै क्षेत्रको विकासमा काम गरिरहेको बताइएको छ।

हाल कोटीहोम परिसरमा ऐतिहासिक संरचनालाई पुनर्जीवित गर्ने कामसमेत भइरहेको छ। पुरानो शैली झल्काउने मन्दिर तथा भवन निर्माण र पुनर्निर्माणका काम चरणबद्ध रूपमा अघि बढाइएका छन्। धार्मिक मौलिकता र ऐतिहासिक पहिचानलाई कायम राख्दै परिसरलाई आकर्षक तथा व्यवस्थित बनाउने प्रयास भइरहेको छ।

कोटीहोमका आकर्षणमध्ये वि.सं. २०४२ सालदेखि निरन्तर बलिरहेको धुनी पनि महत्वपूर्ण मानिन्छ। त्यसैगरी ब्रह्मलिङ्गलाई पनि यस क्षेत्रको प्रमुख धार्मिक आकर्षणका रूपमा लिइन्छ।

सोमबार, मंगलबार तथा शनिबारलगायतका दिनमा भक्तजनको आवागमन हुने गरेको आचार्य पुष्प खतिवडाले बताउनुभयो।

उहाँका अनुसार करिब १५ वर्षअघि एक सन्तले यहाँ तपस्या गरेपछि ब्रह्मलिङ्ग पत्ता लागेको धार्मिक विश्वास रहेको छ। यससँग जोडिएको धार्मिक आस्थाका कारण ब्रह्मलिङ्ग दर्शनका लागि समेत भक्तजन आउने गरेका छन्।

प्राकृतिक रूपमा रहेका विभिन्न शिला तथा पत्थर, गौशाला, देवी–देवताका प्रतिमा तथा हरियालीपूर्ण वातावरणले कोटीहोमको आकर्षण थप बढाएको छ। परिसरमा व्यवस्थित रूपमा निर्माण गरिएका बगैँचा तथा गार्डेनिङ क्षेत्रले धार्मिक वातावरणसँगै पर्यटकीय सौन्दर्यसमेत थपेको छ।

धार्मिक आस्था, ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यको संगमका रूपमा रहेको कोटीहोमलाई व्यवस्थित रूपमा विकास गर्न सके झापाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना देखिन्छ।

ऐतिहासिक संरचनाको संरक्षण, धार्मिक सम्पदाको प्रवद्र्धन र आवश्यक पर्यटकीय पूर्वाधार निर्माणसँगै यस क्षेत्रको महत्व अझ विस्तार गर्न सकिने स्थानीयको अपेक्षा छ ।