झापा / झापाको बिर्तामोडमा रहेको कृषि उपज थोक बजारलाई काठमाडौंको कालिमाटीस्थित कृषि बजारको मोडलमा विकास गरिने भएको छ । करिब चार बिघा क्षेत्रफलमा फैलिएको कृषि बजारको पुराना संरचना हटाउँदै नयाँ तथा व्यवस्थित संरचना निर्माणका लागि बहुवर्षीय आयोजना अघि बढाउने तयारी गरिएको हो ।

कृषि बजारको आधुनिक संरचना निर्माणका लागि २०७८ सालमा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार काम अघि बढाउने तयारी गरिएको छ। यसअघि आर्थिक वर्ष २०८२/०८३ मा पनि बजेट व्यवस्थापन भए पनि विभिन्न कारणले डीपीआर स्वीकृत हुन नसक्दा निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन। चालु आर्थिक वर्ष २०८३/०८४ का लागि भने करिब तीन करोड रुपैयाँ बजेट व्यवस्थापन भएपछि इ–बिडिङमार्फत ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । डीपीआरअनुसार समग्र संरचना निर्माण सम्पन्न गर्न एक अर्ब रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने बताइएको छ ।

कृषि विभागका उपमहानिर्देशक राजेन्द्रप्रसाद कोइरालासहितको टोलीले बुधबार बिर्तामोडस्थित कृषि उपज थोक बजारको स्थलगत अनुगमन साथै सरोकारवालाहरुसँग छलफल तथा अन्तकृया गरेको थियो ।

बजारको तत्कालीन आवश्यकता पूरा गर्न ४० वटा कोठा निर्माणको ठेक्का प्रक्रिया अघि बढाउने र त्यसपछि बहुवर्षीय आयोजनाका रूपमा बजारको समग्र स्तरोन्नति गर्ने बताइएको छ । पहिलो चरणमा सेक्टर डिमा संरचना निर्माण हुने कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष निरज ओलीले जानकारी दिनुभयो ।

हाल सञ्चालनमा रहेको तरकारी बजार क्षेत्रमा करिब ६० वटा कोठा निर्माणका लागि स्थान व्यवस्थापन गरिनेछ । त्यहाँ व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई बजारको दक्षिणतर्फ रहेको पुरानो भवन भत्काएर सो क्षेत्रमा व्यवस्थापन गर्ने तयारी गरिएको छ । त्यसपछि खाली हुने स्थानमा चरणबद्ध रूपमा नयाँ संरचना निर्माण गरिनेछ ।

बिर्तामोड कृषि बजारलाई सामान्य थोक बजारका रूपमा मात्र नभई पूर्वी नेपालकै प्रमुख कृषि व्यापार केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको छ ।

त्यसका लागि व्यवस्थित पसल तथा कोठा, कृषि उपज भण्डारण, पार्किङ, आवतजावतलगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गरिनेगरि डिपिआर तयार भएको छ ।

हाल बजारमा अव्यवस्थित संरचना, साँघुरो स्थान, पार्किङ तथा शौचालयको समस्या, कृषि उपज राख्ने पर्याप्त ठाउँको अभाव र व्यवसायी तथा कृषकका लागि व्यवस्थित कोठाको कमी रहेको छ।

यी समस्यालाई समाधान गर्दै बजारलाई आधुनिक स्वरूपमा विकास गर्ने योजनाबारे कृषि पूर्वाधारका वरिष्ठ कृषि इन्जिनियर चैतनारायण डङ्गोलले जानकारी गराउनुभएको थियो ।

कृषि विभागले उपलब्ध जग्गाको अधिकतम उपयोग हुने गरी बजारको संरचना विकास गर्ने तयारी गरेको छ ।

झापा, इलाम, पाँचथर र ताप्लेजुङलगायत पूर्वी नेपालका जिल्लाबाट उत्पादन हुने तरकारी, फलफूल तथा अन्य कृषि उपजको सङ्कलन, बिक्री तथा वितरणमा बिर्तामोड महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।

कोशी प्रदेश पूर्वसिँचाइ तथा खानेपानीमन्त्री एकराज कार्कीले बिर्तामोड कृषि बजारको सम्भावना ठूलो रहेको बताउँदै उचित पूर्वाधार र व्यवस्थापन गर्न सके यसलाई काठमाडौंको कालिमाटी बजारकै स्वरूपमा विकास गर्न सकिने बताउनुभयो । पूर्वी नेपालका विभिन्न जिल्लामा उत्पादन हुने कृषि उपजको मुख्य व्यापारिक केन्द्रका रूपमा बिर्तामोडलाई विकास गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले पनि कृषि बजारको स्तरोन्नति आवश्यक रहेको बताउँदै पूर्वाधार विकाससँगै किसान, व्यवसायी र उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने गरी योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

विज्ञहरूले आधुनिक कृषि बजारमा बिक्री कक्ष मात्र पर्याप्त नहुने भन्दै कृषि उपजको वर्गीकरण, ग्रेडिङ, प्याकेजिङ, भण्डारण, लोड–अनलोड, पार्किङ, फोहोर व्यवस्थापन र शीतभण्डारलगायतका सुविधा आवश्यक पर्ने बताएका छन् ।

बजारको दीर्घकालीन विकासका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकार तथा बजार व्यवस्थापन समितिबीच समन्वय आवश्यक रहेको उनीहरूको सुझाव छ ।

बिर्तामोड कृषि बजारमा हाल दैनिक ठूलो मात्रामा कृषि उपजको कारोबार हुँदै आएको छ । अबको केही समयभित्रै करिब तीन करोड रुपैयाँको लागतमा ४० वटा पक्की सटर निर्माण गर्ने तयारी गरिएको छ । त्यसपछि बहुवर्षीय बजेटमार्फत थप संरचना निर्माण गर्दै बजारलाई व्यवस्थित र आधुनिक कृषि व्यापार केन्द्रका रूपमा विकास गर्ने योजना रहेको छ ।