सोमवार, साउन २५, २०८३
Sancharmanch

रास्वपा बिर्तामोडद्वारा बहुसरोकारवाला अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted by:
आइतवार, साउन २४, २०८३

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिर्तामोड नगर कार्यसमितिले ‘सुशासन र समृद्धिका लागि’ भन्ने मूल नाराका साथ बहुसरोकारवाला अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

समाजका विभिन्न क्षेत्रका प्रतिनिधि, सरोकारवाला तथा स्थानीय समुदायबीच विचार–विमर्श गर्दै स्थानीय समस्या पहिचान र समाधानका उपाय खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

रास्वपा बिर्तामोड नगरपालिका वडा नं. ३ तथा बिर्तामोड नगर समितिको संयुक्त आयोजनामा आइतबार बिर्ताबजारमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता बिर्तामोड नगर सभापति दीपक दिनेश दाहालले गर्नुभएको थियो।

कार्यक्रममा आम नागरिकले स्थानीय विकास, सुशासन, सार्वजनिक सेवा प्रवाहलगायत विभिन्न विषयमा जिज्ञासा तथा प्रश्न राखेका थिए। नागरिकका प्रश्नको जवाफ दिँदै रास्वपा झापा जिल्ला सचिव विरोध सुवेदीले राजनीतिक दलका कार्यकर्ता भएकै आधारमा सबै समस्या समाधान गर्न नसकिने बताउनुभयो।

आफूहरूले सम्बन्धित निकायसमक्ष सुझाव तथा आवाज पुर्‍याउन सक्ने बताउँदै उहाँले नागरिकका समस्या समाधानका लागि सम्बन्धित निकायको समेत सक्रिय भूमिका आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रका प्रतिनिधि, नागरिक समाज, युवा, व्यवसायी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

स्थानीय स्तरमा देखिएका समस्या, विकासका सम्भावना, सुशासन तथा समृद्धिका विषयमा प्रत्यक्ष छलफल गर्दै विभिन्न समस्याको समाधानका उपाय खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

नेपालमा निर्माण भएका कानूनहरु लागु हुने सन्दर्भमा समस्या भएको साथै सरकारले यसलाई ध्यानमा राख्न जरुरी रहेको चेतना नेपालका संयोजक इन्द्र ओलिले बताउनुभयो ।

रास्वपा बिर्तामोड नगर समितिका सचिव श्रीजन अधिकारीले पार्टीले आगामी दिनमा पनि निरन्तर रूपमा आफ्नो सक्रियता र उचाइ कायम राख्ने बताउनुभयो। नागरिकका सवाललाई प्राथमिकतामा राख्दै जनतासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।

आयोजकका अनुसार पछिल्लो समय स्थानीय तहमा विकासका विभिन्न गतिविधि सञ्चालन भइरहे पनि नागरिकका अपेक्षा र आवश्यकता सम्बोधन गर्न अझ प्रभावकारी समन्वयको आवश्यकता देखिएको छ।

यही आवश्यकतालाई मध्यनजर गर्दै राजनीतिक दलका प्रतिनिधि मात्र नभई समाजका विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याएर समस्या पहिचान तथा समाधानका उपाय खोज्ने प्रयासस्वरूप अन्तरक्रिया आयोजना गरिएको हो।

जनताका समस्या र सारेकारका सवालमा झापा क्षेत्र नं. २ ले निरन्तर काम गरिरहेको साथै नीतिगत सुधारको खाँचो रहेको झापा क्षेत्र नं. २ का सभापती पदमलाल कटुवालले बताउनुभयो ।

कार्यक्रममा बिर्तामोडको समग्र विकास, स्थानीय समस्या, सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शिता, रोजगारी, व्यवसाय प्रवर्द्धन तथा युवाका सवाललगायतका विषयमा नागरिकले प्रश्न गरेका थिए।

सहभागीहरूले आफ्ना क्षेत्रसँग सम्बन्धित समस्या तथा सुझाव लिखित रूपमा समेत प्रस्तुत गरेका थिए। प्राप्त प्रश्न तथा सुझावका आधारमा रास्वपाका नेताहरूले जवाफ दिएका थिए।

रास्वपा बिर्तामोड नगर समितिले स्थानीय नागरिकका समस्या र आवाजलाई राजनीतिक तहमा मात्र सीमित नराखी सरोकारवालाबीच प्रत्यक्ष छलफलमार्फत समाधान खोज्नुपर्ने धारणा अघि सारेको छ।

अन्तरक्रियाका माध्यमबाट स्थानीय तहमा देखिएका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउन तथा नागरिकको सहभागितामा विकासका प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको मुख्य सन्देशका रूपमा ‘तपाईंको विचार, हाम्रो प्रतिबद्धता–समृद्ध बिर्तामोडको आधारशिला’ भन्ने अवधारणा प्रस्तुत गरिएको थियो।

नागरिकका विचार, सुझाव तथा अपेक्षालाई पार्टीका आगामी गतिविधि तथा स्थानीय विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई केवल राजनीतिक गतिविधिका रूपमा सीमित नराखी स्थानीय स्तरका साझा सरोकारका विषयमा छलफल गर्ने खुला मञ्चका रूपमा अघि बढाउने नगर सभापति दीपक दिनेश दाहालले बताउनुभयो।

उहाँका अनुसार यस्तो अभियान नगरका विभिन्न स्थानमा विभिन्न कार्यक्रमसहित आगामी दिनमा समेत निरन्तर सञ्चालन गरिनेछ।

कार्यक्रममा नागरिक, व्यवसायी, युवा तथा विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधिबीच भएको छलफलबाट बिर्तामोडको विकासका लागि व्यवहारिक तथा कार्यान्वयनयोग्य सुझाव प्राप्त भएको आयोजकले जनाएको छ।

कार्यक्रममा रास्वपा वडा नं. ३ का सदस्य दुर्गादेवी अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने वडा नं. ३ का पार्टी सभापति रमेशकुमार बानियाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। नगरका विभिन्न क्षेत्रका नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानले स्थानीय समस्या पहिचान तथा समाधानका लागि सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

सम्बन्धित खबर