बिर्तामोड, झापा / झापामा पहिलोपटक राष्ट्रियस्तरको मिस्टर कञ्चनजंघा खुला पुरुष तथा महिला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । बिर्तामोडमा सञ्चालित बडी ग्यारेजको आयोजनामा आगामी असोज २० र २१ गते बिर्तामोडमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगिताको तेस्रो संस्करणलाई यसपटक राष्ट्रियस्तरमा विस्तार गरिएको आयोजकले जनाएको छ । यसअघि पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय रूपमा आयोजना गरिएको थियो। प्रतियोगिताबारे जानकारी दिन शनिबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी अघि बढिरहेको जानकारी दिएको हो ।

आयोजकका अनुसार प्रतियोगिताको पहिलो दिन प्रिजजिङ राउन्ड र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुनेछ । देशभरका शारीरिक सुगठन खेलाडीलाई सहभागी गराउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा करिब २०० जना खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ ।

बडी ग्यारेजका सञ्चालक तथा प्रतियोगिता संयोजक राम दाहालका अनुसार पुरुषतर्फ विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ भने खुला प्रतिस्पर्धा हुने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताको मुख्य आकर्षणका रूपमा पुरुषतर्फको विजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। अघिल्लो संस्करणमा विजेताले तीन लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेकोमा यसपटक पुरस्कार राशि उल्लेख्य रूपमा वृद्धि गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा दोस्रो हुने खेलाडीले तीन लाख रुपैयाँ, तेस्रो हुनेले दुई लाख रुपैयाँ, चौथो हुनेले एक लाख रुपैयाँ, पाँचौँ हुनेले ७५ हजार रुपैयाँ र छैटौँ हुने खेलाडीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका सचिव हिमाल खरेलले जानकारी दिनुभयो ।

त्यसैगरी, कोशी प्रदेशमा पहिलोपटक महिला शारीरिक सुगठनतर्फ खुला प्रतिस्पर्धा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महिलातर्फ प्रथम हुने खेलाडीलाई ७५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार रुपैयाँ र तेस्रो हुने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

पुरुषतर्फका प्रत्येक तौल समूहमा दोस्रो हुने खेलाडीलाई सात हजार रुपैयाँ र तेस्रो हुने खेलाडीलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। बाँकी तीन जना उत्कृष्ट खेलाडीलाई ट्रफी तथा मेडल प्रदान गरिने प्रतियोगिता आयोजक समितिका अध्यक्ष पदम श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगितालाई राष्ट्रियस्तरको प्रतिष्ठित शारीरिक सुगठन प्रतियोगिताका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ । खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार राशि बढाइएको र देशभरका उत्कृष्ट खेलाडीलाई बिर्तामोडमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ। प्रतियोगितालाई सफल बनाउन विभिन्न संघ–संस्था, व्यवसायी, खेलप्रेमी तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको आयोजकले जनाएको छ ।

तेस्रो मिस्टर कञ्चनजंघा प्रतियोगिता यसअघि २०८२ साल भदौ २७ र २८ गते आयोजना गर्ने तय गरिएको थियो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा जेनजी आन्दोलनका कारण निर्धारित मितिमा प्रतियोगिता सञ्चालन हुन नसकी स्थगित गरिएको आयोजकले जनाएको छ । स्थगित प्रतियोगिता पुनः नयाँ मिति निर्धारण गरी राष्ट्रियस्तरमा सञ्चालन गर्न लागिएको हो ।

यसअघि सम्पन्न दोस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको उपाधि दिलिपकुमार चौधरीले जितेका थिए । डिएनपी फिटनेस, गाईघाटबाट सहभागी चौधरीले ६५ केजी तौल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका प्रमुख सल्लाहकार सुवास भट्टराईले प्रतियोगिताले झापामा शारीरिक सुगठन खेलको विकाससँगै खेलाडीको प्रतिभा राष्ट्रियस्तरमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले प्रतियोगिता सफल बनाउन खेलाडी, व्यवसायी, संघ–संस्था, सञ्चार क्षेत्र तथा आम नागरिकको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

आयोजकले प्रतियोगितामार्फत झापालाई शारीरिक सुगठन खेलको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने तथा नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने लक्ष्यसमेत लिएको जनाएको छ । विशेषगरी महिला खेलाडीका लागि पहिलोपटक खुला राष्ट्रियस्तरको प्रतिस्पर्धा आयोजना गरिनुले प्रतियोगिताको महत्व थप बढाएको आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलनको सञ्चालन सञ्चारकर्मी रमेश तिवारीले गर्नुभएको थियो।

आयोजकका अनुसार प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा देशभरबाट सहभागी हुने खेलाडीको उत्कृष्ट प्रदर्शनसँगै बिर्तामोडमा राष्ट्रियस्तरको शारीरिक सुगठन खेलको आकर्षणसमेत बढ्ने अपेक्षा गरिएको छ ।