आइतवार, साउन २४, २०८३
Sancharmanch

बिर्तामोडमा टिभिएस अर्बिटर इलेक्ट्रिक स्कुटर सार्वजनिक, १५८ किलोमिटर रेन्ज र स्मार्ट प्रविधि

Posted by:
शनिवार, साउन २३, २०८३
बिर्तामोड, झापा/ नेपालको विद्युतीय दुईपाङ्ग्रे सवारी बजारलाई लक्षित गर्दै टिभिएस मोटर कम्पनीले नयाँ विद्युतीय स्कुटर टिभिएस अर्बिटर झापाको बिर्तामोडस्थित पाथीभरा अटोलिंक टिभिएस सोरुममार्फत सार्वजनिक गरेको छ । सहरी यात्रालाई सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले बजारमा ल्याइएको अर्बिटरमा लामो रेन्ज, स्मार्ट कनेक्टिभिटी, आधुनिक सुरक्षा प्रणाली तथा प्रयोगमैत्री डिजाइनलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । स्कुटर सार्वजनिक कार्यक्रम पाथीभरा अटोलिंकका सञ्चालक सजेश शिवाकोटीको अध्यक्षता तथा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष मिजास पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा पाथीभरा अटोलिंककी प्रवन्ध निर्देशक लुना बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि पोखरेलसँगै पाथीभरा अटोलिंकका सञ्चालकहरू सजेश शिवाकोटी, हेम खड्का र याम कार्कीले संयुक्त रूपमा टिभिएस अर्बिटरको औपचारिक शुभारम्भ गर्नुभएको थियो। जगदम्बा मोटर्समार्फत नेपाली बजारमा बिक्री वितरण गरिने अर्बिटर सहरी जीवनशैली र विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर विकास गरिएको कम्पनीका रिजनल म्यानेजर अर्जुन खनालले जानकारी दिनुभयो। उहाँका अनुसार स्कुटरमा ३.१ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ, जसले १५८ किलोमिटर आईडीसी रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। उन्नत वायुगतिकीय डिजाइनका कारण ऊर्जा दक्षता बढ्नुका साथै एकपटकको चार्जमा लामो दूरीसम्म यात्रा गर्न सकिने खनालले बताउनुभयो। सहरी आवागमनका लागि आवश्यक आराम, स्थिरता र नियन्त्रणलाई ध्यानमा राखेर स्कुटरको संरचना विकास गरिएको उहाँको भनाइ छ। टिभिएस अर्बिटरको प्रमुख विशेषतामध्ये १४ इन्चको अगाडिको पाङ्ग्रा पनि रहेको कम्पनीले जनाएको छ। खनालका अनुसार उद्योगमै पहिलोपटक १४ इन्चको अगाडिको पाङ्ग्रा प्रयोग गरिएको हो। यसले विभिन्न सडक परिस्थितिमा स्कुटरको सन्तुलन, स्थिरता तथा नियन्त्रणमा सुधार ल्याउने कम्पनीको विश्वास छ। स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट तथा इको र पावर गरी दुईवटा राइडिङ मोड उपलब्ध छन्। यसका अतिरिक्त मोबाइल एपसँग जोडिने सुविधा, एलईडी हेडलाइट, कलर एलसीडी डिस्प्ले, फोन कल तथा सन्देशको सूचना, टर्न–बाइ–टर्न नेभिगेसन र ओटीए (ओभर द एयर) सफ्टवेयर अपडेटको सुविधा पनि रहेको जनाइएको छ। त्यस्तै, स्कुटरमा जियो–फेन्सिङ, चोरी तथा दुर्घटनाको सूचना, स्कुटर ढलेको जानकारी, लाइभ लोकेसन ट्र्याकिङ, ब्याट्रीको अवस्था तथा ओडोमिटर जाँच गर्न सकिने सुविधा उपलब्ध रहेको रिजनल म्यानेजर खनालले बताउनुभयो। यी सुविधाले सवारी साधनको सुरक्षा तथा प्रयोगकर्ताको डिजिटल अनुभवलाई थप सहज बनाउने कम्पनीका सञ्चालक साथै सामाजिक ब्यक्तित्व सजेश शिवाकोटीले बताउनुभयो । उपयोगितालाई पनि विशेष प्राथमिकता दिइएको अर्बिटरमा ८४५ मिलिमिटर लामो फ्ल्याट सिट, २९० मिलिमिटरको फराकिलो फुटबोर्ड तथा दुईवटा हेल्मेट अट्ने ३४ लिटर क्षमताको अन्डर–सिट स्टोरेज उपलब्ध छ। ठाडो एर्गोनोमिक ह्यान्डलबारका कारण लामो समयसम्म स्कुटर चलाउँदा पनि आरामदायी अनुभव हुने कम्पनीको दाबी छ। कार्यक्रमका प्रमुख अतिथि मिजास पोखरेलले नेपालको सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राख्दा टिभिएस अर्बिटर नेपाली उपभोक्ताका लागि उपयोगी विद्युतीय सवारीको विकल्प बन्न सक्ने बताउनुभयो। विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा आधुनिक प्रविधि, आराम र भरपर्दो यात्राका लागि अर्बिटर प्रभावकारी हुन सक्ने उहाँको विश्वास थियो। रिजनल म्यानेजर खनालले टिभिएसको विद्युतीय स्कुटर आईक्युबले नेपाली बजारमा पाएको सफलतापछि अर्बिटरले पनि कम्पनीको विद्युतीय दुईपाङ्ग्रे सवारी बजारमा उपस्थिति थप मजबुत बनाउने अपेक्षा व्यक्त गर्नुभयो। देशभर फैलिएको बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई खरिददेखि बिक्रीपछिको सेवासम्म सहज अनुभव प्रदान गर्ने उहाँले बताउनुभयो। टिभिएस अर्बिटर नियोन सनबस्र्ट, कोस्मिक टाइटेनियम र मार्सियन कपर गरी तीन आकर्षक रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यसको परिचयात्मक मूल्य दुई लाख ८१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। विश्वव्यापी रूपमा स्वच्छ तथा दिगो यातायात प्रणालीप्रति आकर्षण बढिरहेका बेला लामो रेन्ज, स्मार्ट प्रविधि, सुरक्षा सुविधा र उपयोगितामूलक डिजाइनसहित सार्वजनिक गरिएको टिभिएस अर्बिटरले नेपाली विद्युतीय स्कुटर बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ। कम्पनीले आधुनिक प्रविधिसहितको यो स्कुटरले सहरी यात्रालाई थप सहज, सुरक्षित र वातावरणमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
सम्बन्धित खबर