मेचीनगर, झापा / झापाको मेचीनगर नगरपालिका–१०, धुलाबारीस्थित श्री महाकालेश्वर शिवालय एवं पुण्यश्वरी दुर्गा मन्दिर हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा मात्र नभई धार्मिक पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा पनि स्थापित हुँदै गएको छ ।

आकर्षक शैलीमा निर्माण गरिएको मन्दिर परिसरमा दैनिक पूजाआजा, धार्मिक अनुष्ठान, गंगा आरती तथा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन हुन थालेपछि स्थानीयसँगै बाहिरी जिल्लाबाट समेत भक्तजनको आगमन बढ्न थालेको छ ।

धुलाबारी बजारबाट करिब एक किलोमिटर दक्षिणमा अवस्थित मन्दिरको स्थापना वि.सं. २०५२ सालमा खगेन्द्र पौडेलको नेतृत्वमा गरिएको हो । स्थानीय समाजसेवी, श्रद्धालु, मुट्ठी दाता तथा विभिन्न सहयोगीहरूको योगदानबाट सुरु भएको यो धार्मिक अभियान आज व्यवस्थित मन्दिरका रूपमा विकसित भएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केदार गौतमका अनुसार मन्दिर निर्माणमा प्रदेश सरकारबाट २० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ भने बाँकी रकम भक्तजन तथा विभिन्न दाताको व्यक्तिगत सहयोगबाट जुटाइएको हो ।

हालसम्म मन्दिर निर्माणमा करिब ४५ देखि ५० लाख रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो। मन्दिरको आय–व्यय विवरण छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष गौतमका अनुसार महाकालेश्वर शिवालय एवं पुण्यश्वरी दुर्गा मन्दिरमा मेचीनगरसहित झापाका विभिन्न क्षेत्र र अन्य जिल्लाबाट समेत भक्तजन दर्शनका लागि आउने गरेका छन् । मन्दिरमा नियमित पूजाआजा, विशेष पर्व तथा अवसरमा धार्मिक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

विशेषगरी गंगा आरती, वर्षभर मनाइने २६ वटा एकादशी, महाशिवरात्रि, तीज, बडादसैं, श्रीकृष्ण जन्माष्टमी तथा अन्य धार्मिक उत्सवका अवसरमा विशेष पूजा, भजन–कीर्तन र आध्यात्मिक कार्यक्रम आयोजना गरिने गरेको उहाँले बताउनुभयो ।

धार्मिक गतिविधिसँगै मन्दिर परिसरलाई सामुदायिक उपयोगसँग पनि जोडिएको छ । यहाँ विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठान तथा सामाजिक कार्यक्रम सञ्चालन गर्न मिल्ने व्यवस्थित भवन निर्माण गरिएको छ । यसले मन्दिरलाई केवल पूजा–आराधनाको स्थलमा सीमित नराखी समुदायका विभिन्न धार्मिक तथा सामाजिक गतिविधिको केन्द्रका रूपमा समेत स्थापित गरेको छ ।

अध्यक्ष गौतमले मन्दिर परिसरमा निर्माणाधीन सामुदायिक भवन सम्पन्न गर्न स्थानीय सरकारबाट थप सहयोग प्राप्त भए यस क्षेत्रलाई धार्मिक पर्यटनको नमुना गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार आवश्यक पूर्वाधार विकास, प्रचारप्रसार तथा सरकारी सहयोग प्राप्त भए मन्दिर मेचीनगरकै पहिचान र गौरवका रूपमा स्थापित हुन सक्ने पर्याप्त सम्भावना रहेको छ ।

सीमित क्षेत्रफलमा निर्माण गरिए पनि मन्दिरको वास्तुकला, कलात्मक संरचना र परिसरको व्यवस्थापनले आगन्तुकको ध्यान आकर्षित गर्ने गरेको छ । सफा, शान्त र आध्यात्मिक वातावरणका कारण यहाँ पुग्ने भक्तजनले धार्मिक अनुभूतिसँगै मानसिक शान्तिको अनुभव गर्ने गरेका छन् ।

मन्दिर व्यवस्थापन समितिले धार्मिक गतिविधिलाई अझ प्रभावकारी बनाउने उद्देश्यले परिसरमा नियमित योग शिविर सञ्चालन गरिरहेको छ ।

साथै बालबालिका र युवापुस्तामा नैतिक, आध्यात्मिक तथा सांस्कृतिक शिक्षाको विकास गर्ने लक्ष्यसहित गीता पाठशाला स्थापना गर्ने तयारी पनि अघि बढाइएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार समितिका सम्पूर्ण पदाधिकारीहरुको यस अभियानलाई सफल बनाउन सक्रिय साथ रहेको छ ।

धार्मिक आस्था, सामाजिक एकता, सांस्कृतिक संरक्षण र पर्यटन प्रवद्र्धनलाई एकैसाथ अघि बढाउने उद्देश्यका साथ सञ्चालन भइरहेको महाकालेश्वर शिवालय एवं पुण्यश्वरी दुर्गा मन्दिरले पछिल्लो समय मेचीनगरको धार्मिक पहिचानलाई थप मजबुत बनाउँदै लगेको छ ।

स्थानीयवासीका अनुसार सरकारी निकाय, समुदाय र भक्तजनको निरन्तर सहयोग कायम रहन सके भविष्यमा यो मन्दिर पूर्वी नेपालको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुने प्रबल सम्भावना रहेको छ ।