शनिवार, साउन १६, २०८३
Sancharmanch

खिर खाने दिनको अवसरमा कृषि बजार व्यवस्थापन समिति बिर्तामोडद्वारा १६ कृषकलाई निःशुल्क स्प्रे ट्याङ्की वितरण

Posted by:
शुक्रवार, साउन १५, २०८३
बिर्तामोड, झापा / श्रावण १५ अर्थात् खिर खाने दिनको अवसर पारेर कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले काफ्नो कार्यक्षेत्रमा पर्ने आठ स्थानीय तहका कृषकलाई निःशुल्क स्प्रे ट्याङ्की वितरण गरेको छ । कृषकलाई आधुनिक कृषि प्रविधिको प्रयोगमा प्रोत्साहन गर्दै उत्पादन लागत घटाउन तथा कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ । बिर्तामोडस्थित कृषि बजार परिसरको कृषक चौतारीमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईको प्रमुख आतिथ्यमा स्प्रे ट्याङ्की वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख महतराले नगरपालिकाको तर्फ वाट पनी कृषकहरुलाई विभिन्न कार्यक्रमहरुसँग सँगै न्युनतम समर्थन मूल्य निर्धारण गर्दै अनुदान सहयोग गरिरहेको बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरूले कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिक खेतीको प्रवद्र्धन तथा कृषकलाई आवश्यक कृषि सामग्री उपलब्ध गराउने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । यस वर्ष सिमिति कृषकले अवसर पाइ पनि आगामि आर्थिक वर्षमा अन्य कृषकहरुलाई थप कार्यक्रमको बनाएर अगाडि वढ्ने कृषि बजार ब्यवस्थापन समितिका अध्यक्ष निरज कुमार ओलीले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका बिर्तामोड नगर सभापति दीपक दाहालले कृषि बजारको विकासका लागि आफुहरुले पनि संघ सरकारसँग पहल गरिरहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले कृषकलाई सहयोग गर्ने कार्यक्रम आयोजना गरेकोमा कृषि बजार ब्यवस्थापन समितिलाई धन्यवाद दिनुभयो । कृषि बजार व्यवस्थापन समितिका सदस्य तथा किसान प्रतिनिधि पूर्णबहादुर खड्काले बजार समितिले सानो कार्यक्रम मार्फत भए पनि सहयोगको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष निरजकुमार ओलीका अनुसार समितिको कार्यक्षेत्रभित्र रहेका आठ वटा स्थानीय तहका कृषकलाई लक्षित गरी निःशुल्क स्प्रे ट्याङ्की वितरण गरिएको हो । यसअन्तर्गत बिर्तामोड नगरपालिका, कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, हल्दीबारी गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाबाट दुई–दुई जनाका दरले छनोट गरिएका १६ जना कृषकलाई स्प्रे ट्याङ्की प्रदान गरिएको उहाँले जानकारी दिनुभयो। अध्यक्ष ओलीले कृषकलाई आधुनिक कृषि उपकरणको प्रयोगमा अभ्यस्त बनाउँदै उत्पादनको गुणस्तर र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएसँगै यस्ता सामग्री कृषकका लागि आवश्यक बन्दै गएको उल्लेख गर्दै आगामी दिनमा पनि कृषकमैत्री कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार कृषि बजार व्यवस्थापन समितिले केवल कृषि उपजको व्यवस्थापनमा मात्र नभई कृषकको क्षमता अभिवृद्धि, कृषि प्रविधिको विस्तार तथा उत्पादनमुखी कार्यक्रम सञ्चालनलाई समेत प्राथमिकतामा राख्दै आएको छ। कृषकलाई आवश्यक उपकरण, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै कृषि पेशालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने दिशामा समिति निरन्तर सक्रिय रहेको उहाँको भनाइ थियो। कार्यक्रममा सहभागी कृषकहरूले कृषि सामग्री वितरणले खेतीपातीलाई सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा अझ व्यापक बनाउन आग्रह गरेका थिए। उनीहरूले कृषि उत्पादनको लागत घटाउन तथा समयमै रोग तथा किराको व्यवस्थापन गर्न स्प्रे ट्याङ्की उपयोगी हुने बताएका थिए। कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष निरजकुमार ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किसान प्रतिनिधि सदस्य पार्वता बजगाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन समितिका सदस्य तथा व्यापारी प्रतिनिधि खगेन्द्र महतोले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न स्थानीय तहका कृषक, कृषि बजार व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि, व्यापारी तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकले कृषकको हित र कृषि क्षेत्रको दिगो विकासका लागि आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सम्बन्धित खबर