बिहिवार, साउन १४, २०८३
Sancharmanch

नेपालमै पहिलो पटक बिर्तामोडमा राष्ट्रियस्तरको मेन्स हेयर ग्रुमिङ प्रतियोगिता, साउन १६ गते फिनाले

Posted by:
बिहिवार, साउन १४, २०८३

बिर्तामोड, झापा/ नेपालका बार्बर तथा हेयर आर्टिस्टहरूको प्रतिभालाई राष्ट्रियस्तरमा परिचित गराउने, नयाँ अवसर सिर्जना गर्ने तथा ग्रुमिङ उद्योगलाई थप व्यावसायिक, सिर्जनशील र प्रतिस्पर्धी बनाउने उद्देश्यले झापाको बिर्तामोडमा नेपालकै पहिलो राष्ट्रिय मेन्स हेयर ग्रुमिङ प्रतियोगिता सञ्चालन भइरहेको छ।

देशभरका प्रतिभावान हेयर आर्टिस्टलाई एउटै मञ्चमा ल्याएर उनीहरूको सीप, सिर्जनशीलता र व्यावसायिक क्षमताको मूल्याङ्कन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको फिनाले आगामी साउन १६ गते शनिबार बिर्तामोडमा हुने भएको छ।

प्रतियोगिताबारे जानकारी दिन बिहीबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले यो प्रतियोगिता नेपालको ग्रुमिङ उद्योगका लागि नयाँ सुरुवात भएको जनाएको छ।

राजश्री सप्लायर्सएसटी युनिसेक्स सैलुनको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताले नेपाली हेयर स्टाइलिस्टलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न प्रेरणा दिने विश्वास आयोजकको छ।

राजश्री सप्लायर्सका सञ्चालक राजकुमार साहका अनुसार प्रतियोगितामा देशभरबाट ६० जना बार्बर तथा हेयर आर्टिस्ट सहभागी भएका छन्।

प्रतिस्पर्धीहरूले आफ्नो सिर्जनात्मक क्षमता, आधुनिक हेयर स्टाइलिङ कला तथा प्राविधिक दक्षता प्रस्तुत गर्दै विभिन्न चरण पार गरेका छन्। प्रतियोगिताले विशेषगरी युवा हेयर आर्टिस्टलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने राष्ट्रिय मञ्च उपलब्ध गराएको उहाँले बताउनुभयो।

एसटी युनिसेक्स सैलुनका सञ्चालक सुमन ठाकुरका अनुसार प्रतियोगिताको प्रारम्भिक चरण पूर्ण रूपमा डिजिटल माध्यमबाट सञ्चालन गरिएको थियो।

सहभागीहरूले फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युबलगायत सामाजिक सञ्जालमार्फत आफ्ना सिर्जनात्मक हेयर स्टाइल, हेयर कट तथा ग्रुमिङ कला प्रस्तुत गरेका थिए। विभिन्न चरणको मूल्याङ्कनपछि उत्कृष्ट प्रदर्शन गर्ने १० जना प्रतियोगी फिनालेका लागि छनोट भएका छन्।

उहाँका अनुसार फिनालेमा छनोट भएका प्रतियोगीबीच बिर्तामोडमा प्रत्यक्ष प्रतिस्पर्धा हुनेछ।

निर्णायकको उपस्थितिमा उनीहरूले निश्चित समयभित्र आफ्नो सिर्जनशीलता, प्राविधिक दक्षता, आधुनिक शैली तथा व्यावसायिक प्रस्तुति प्रदर्शन गर्नेछन्।

प्रत्यक्ष प्रतिस्पर्धाले प्रतियोगीहरूको वास्तविक क्षमता मूल्याङ्कन गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।

राजश्री सप्लायर्सका प्रोप्राइटर धर्म साहले प्रतियोगिताको निर्णायक मण्डलमा नेपालका चर्चित हेयर स्टाइलिस्ट निलडेभिड कटुवाल, राम गुरुङसरोज थापा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार अनुभवी निर्णायकहरूको उपस्थितिले प्रतियोगितालाई अझ विश्वसनीय र प्रतिस्पर्धात्मक बनाउनेछ।

प्रतियोगिताका विजेतालाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने प्रतियोगीले ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

त्यसैगरी उत्कृष्ट हेयर कलर क्रियटिभिटी प्रदर्शन गर्ने प्रतियोगीलाई थप १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन तथा फिनाले सम्पन्न गर्न करिब ९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिता सफल बनाउन स्थानीय तह, विभिन्न संघ–संस्था, व्यवसायी तथा सहयोगी निकायबाट सहयोग प्राप्त भएको जनाइएको छ। आयोजकले सहयोग गर्ने सबै संस्था तथा व्यक्तिप्रति आभार व्यक्त गरेको छ।

पत्रकार सम्मेलनमा आयोजकहरूले नेपालमा ग्रुमिङ उद्योग तीव्र रूपमा विस्तार भइरहे पनि हेयर आर्टिस्टहरूको सीपलाई राष्ट्रिय स्तरमा मूल्याङ्कन गर्ने यस्ता प्रतियोगिता अभाव रहेको उल्लेख गरे। यही आवश्यकतालाई मध्यनजर गर्दै पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएको उनीहरूको भनाइ थियो।

आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक बनाउँदै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जना गर्ने लक्ष्यसमेत आयोजकले सार्वजनिक गरेको छ।

आयोजकका अनुसार प्रतियोगिताले बार्बर तथा हेयर आर्टिस्टहरूको सीप विकास, व्यावसायिक पहिचान, रोजगारीका अवसर विस्तार तथा नेपालको ग्रुमिङ उद्योगलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्रतियोगिताको फिनाले हेयर स्टाइलिङ क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूका लागि विशेष आकर्षणको केन्द्र बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
सम्बन्धित खबर