बिर्तामोड, झापा/ सामाजिक सेवामार्फत महिला नेतृत्व, सामुदायिक विकास तथा मानवीय सेवामा सक्रिय इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनको आठौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। एक विशेष समारोहबीच सन् २०२५/०२६ की अध्यक्ष लुना बस्नेतले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै सन् २०२६/०२७ की अध्यक्ष रिजु क्षेत्री पाण्डेलाई औपचारिक रूपमा पद हस्तान्तरण गर्नुभएको हो।
कार्यक्रममा इनरह्वील क्लब अफ नेपाल डिस्ट्रिक्ट चेयरमेन डा. सृष्टि श्रेष्ठ प्रजापतिले नवनिर्वाचित अध्यक्ष रिजु क्षेत्री पाण्डेलाई अध्यक्षीय कलर प्रदान गर्नुभयो। निवर्तमान अध्यक्ष लुना बस्नेतले अध्यक्षीय ग्याभल तथा गङ हस्तान्तरण गर्नुभएको थियो भने क्लबकी चार्टर्ड प्रेसिडेन्ट भूमिका पोखरेलले चार्टर्ड सर्टिफिकेट प्रदान गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
पद हस्तान्तरण समारोहमा निवर्तमान अध्यक्ष लुना बस्नेतले आफ्नो एक वर्षे कार्यकालमा क्लबमार्फत सञ्चालन गरिएका सामाजिक, स्वास्थ्य, शिक्षा तथा सेवामूलक गतिविधिको श्रव्यदृश्य प्रस्तुतीकरणमार्फत समीक्षा गर्नुभयो। उहाँले कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कार्यसमिति, सदस्य तथा सहयोगीप्रति आभार व्यक्त गर्दै मायाको चिनो प्रदान गर्नुभयो।
बस्नेतले आफ्नो कार्यकालमा साथ दिने सबै सदस्यको सक्रिय सहयोगका कारण विभिन्न सामाजिक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सफल भएको उल्लेख गर्दै नयाँ नेतृत्वले अझ उत्कृष्ट कार्यसम्पादन गर्दै क्लबलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष रिजु क्षेत्री पाण्डेले पदभार ग्रहणपछि आगामी एक वर्षका लागि क्लबको कार्ययोजना सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेर प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
उहाँका अनुसार आगामी कार्यकालमा महिला सशक्तीकरण, वातावरण संरक्षण, बालबालिकाको शिक्षा तथा स्वास्थ्य प्रवर्द्धन, फोहोर व्यवस्थापन, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, ‘एक सदस्य, एक बिरुवा’ अभियान, निःशुल्क स्वास्थ्य शिविर, पोषणसम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक रूपमा कमजोर बालबालिकाका लागि निःशुल्क छात्रवृत्ति तथा दृष्टिविहीन विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री वितरणजस्ता समाज रूपान्तरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिनेछ।
उहाँले इनरह्वील क्लबलाई केवल सामाजिक संस्था मात्र नभई समुदायको आवश्यकताअनुसार प्रत्यक्ष रूपमा सेवा पुर्याउने सक्रिय संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउँदै सबै सदस्यको सहकार्य र समुदायको सहभागिताबाट योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सन् २०२६/०२७ का लागि नयाँ कार्यसमितिसमेत घोषणा गरिएको छ।
नयाँ कार्यसमितिमा इमिडियट पास्ट प्रेसिडेन्टमा लुना बस्नेत, भाइस प्रेसिडेन्टमा कमला पौडेल, सेक्रेटरीमा अनिता शर्मा, ट्रेजररमा रेखा अग्रवाल, आईएसओमा निशा गिरी टीका, एडिटरमा सृजना थापा तथा सब–एडिटरमा मुनमुन अग्रवाल चयन हुनुभएको छ।
त्यसैगरी, एक्जिक्युटिभ सदस्यमा वर्षा राजभण्डारी, अपेक्षा कार्की, रेणु गोयल, सुनिता खरेल, सपना मैनाली, रिचा अग्रवाल मंगल र अञ्जु अग्रवाल बंशल रहनुभएको छ भने नयाँ सदस्यका रूपमा सृजना मैनाली, अनुस्का तिवारी र प्रमिला अग्रवाललाई जिम्मेवारी प्रदान गरिएको छ।
नवनिर्वाचित अध्यक्ष रिजु क्षेत्री पाण्डेको अध्यक्षता तथा डिस्ट्रिक्ट चेयरमेन डा. सृष्टि श्रेष्ठ प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्लबकी पास्ट प्रेसिडेन्ट रेणु बंशलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने क्लबकी एडिटर सृजना थापाले इनरह्वील प्रार्थना वाचन गर्नुभएको थियो।
कार्यक्रममा डिस्ट्रिक्ट चेयरमेन डा. सृष्टि श्रेष्ठ प्रजापति, इनरह्वील डिस्ट्रिक्ट सेक्रेटरी मञ्जु शाक्य, चार्टर्ड प्रेसिडेन्ट भूमिका पोखरेल, डिस्ट्रिक्ट मेम्बरसिप को–चेयर शुभ कुमाई पाठक तथा जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी प्रमुख वसुन्धरा खड्काले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो। वक्ताहरूले इनरह्वील क्लबले विगतदेखि नै महिला नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी कार्यकाल अझ उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको अर्को आकर्षणका रूपमा निवर्तमान अध्यक्ष लुना बस्नेतका श्रीमान सजेश शिवाकोटी र नवनिर्वाचित अध्यक्ष रिजु क्षेत्री पाण्डेका श्रीमान जीपी पाण्डेबीच मायाको चिनो आदान–प्रदान गरिएको थियो। यसले कार्यक्रमलाई थप आत्मीय र स्मरणीय बनाएको सहभागीहरूले बताएका थिए।
कार्यक्रमको सञ्चालन क्लबकी सचिव अनिता शर्माले गर्नुभएको थियो। समारोहमा विभिन्न सामाजिक संघ–संस्था, इनरह्वीलका सदस्य, शुभेच्छुक तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।









