बिर्तामोड, झापा/ झापाको बिर्तामोड–१ स्थित ग्रिन फिल्ड वल्र्ड स्कुलले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्दै विद्यार्थीलाई भविष्यका प्रविधिमैत्री जनशक्ति बनाउने उद्देश्यका साथ ‘एरोबे रोबोटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ल्याब’ सञ्चालनमा ल्याएको छ।
करिब ४० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको प्रयोगशालाको विद्यालय परिसरमा आयोजित विशेष समारोहबीच औपचारिक उद्घाटन गरिएको हो।
विद्यालयका संस्थापक तथा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतको अध्यक्षता तथा पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका वरिष्ठ फिजिसियन डा. शरद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रयोगशालाको उद्घाटन गरिएको हो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा र विभिन्न क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेतका अनुसार पछिल्लो समय विश्वभर तीव्र गतिमा विकास भइरहेको रोबोटिक्स, कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल प्रविधिसम्बन्धी ज्ञान विद्यालय तहदेखि नै विद्यार्थीहरूमा विकास गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको हो।
उहाँले प्रयोगशालामार्फत विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (एसटीईएम) शिक्षासँग प्रत्यक्ष रूपमा जोड्दै अनुसन्धान, सिर्जनशीलता, नवप्रवर्तन र व्यावहारिक सीप विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका कोअर्डिनेटर बर्नाट लामाले प्रयोगशालामा विद्यार्थीहरूले रोबोट निर्माण, प्रोग्रामिङ, कोडिङ, कृत्रिम बुद्धिमत्ता, डिजाइन थिंकिङ, स्वचालन प्रविधि तथा समस्या समाधानसम्बन्धी व्यावहारिक अभ्यास गर्ने जानकारी दिनुभयो।
उहाँका अनुसार विद्यार्थीहरूले कक्षाकोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक अभ्यासमार्फत व्यवहारमा उतार्ने अवसर प्राप्त गर्नेछन्, जसले उनीहरूलाई प्रविधिको प्रयोगकर्ता मात्र नभई नयाँ प्रविधिको सिर्जनातर्फ पनि प्रेरित गर्नेछ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक तथा शिक्षासेवी गोपालकुमार बस्नेतले वर्तमान शिक्षा प्रणाली केवल पाठ्यपुस्तकमा सीमित हुन नसक्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले विश्व तीव्र गतिमा डिजिटल प्रविधितर्फ अघि बढिरहेको अवस्थामा नेपाली विद्यार्थीलाई पनि सोहीअनुसार सक्षम बनाउन विद्यालयहरूले आधुनिक प्रविधिलाई शिक्षासँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
“अबका विद्यार्थीले प्रविधि प्रयोग गर्ने मात्र होइन, नयाँ प्रविधिको सिर्जना गर्ने क्षमता पनि विकास गर्नुपर्छ,” उहाँले भन्नुभयो।
प्रयोगशालाले विद्यार्थीहरूको कल्पनाशक्ति, अनुसन्धान क्षमता र नवप्रवर्तनलाई व्यवहारमा रूपान्तरण गर्ने थलोका रूपमा काम गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।
विद्यालयका अनुसार प्रयोगशालामा विभिन्न तहका विद्यार्थीहरूले रोबोटिक्स, प्रोग्रामिङ, इलेक्ट्रोनिक्स, कृत्रिम बुद्धिमत्ता, स्वचालित प्रणाली तथा प्रविधिमा आधारित परियोजनामा सहभागी हुने अवसर पाउनेछन्।
यसबाट उनीहरूमा आलोचनात्मक सोच, विश्लेषण क्षमता, समूहमा सहकार्य गर्ने सीप, नेतृत्व विकास तथा नवप्रवर्तनमुखी दृष्टिकोणको विकास हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी अभिभावक तथा अतिथिहरूले विद्यालयले समयको मागअनुसार आधुनिक प्रविधिलाई शिक्षासँग जोड्ने साहसिक कदम चालेको भन्दै प्रशंसा गरेका थिए।
उनीहरूले यस्तो प्रयोगशालाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको ज्ञान र सीप हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमकै अवसरमा विद्यालयले ‘एरोबे रोबोटिक्स’ अन्तर्गत विद्यार्थीहरूले तयार पारेका विभिन्न प्रयोगात्मक परियोजनाको प्रदर्शनसमेत गरेको थियो।
प्रदर्शनका क्रममा एरोप्लेनदेखि रकेटसम्मका नमूनाको सफल उडान गरेर विद्यार्थी तथा अभिभावकलाई रोबोटिक्स प्रविधिको व्यावहारिक प्रयोगबारे जानकारी गराइएको थियो। प्रयोगात्मक अभ्यासले उपस्थित सबैको ध्यान आकर्षित गरेको विद्यालयले जनाएको छ।
विद्यालयले आगामी दिनमा पनि प्रविधिमैत्री शिक्षालाई अझ प्रभावकारी बनाउँदै आधुनिक उपकरण, अनुसन्धानमुखी सिकाइ तथा नवीन प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्ने जनाएको छ।
विश्वव्यापी प्रतिस्पर्धामा सक्षम, सिर्जनशील र अनुसन्धानमुखी जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइने विद्यालयको प्रतिबद्धता रहेको छ।
विद्यालय परिसरमा आयोजित उद्घाटन कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका अश्विनी प्रधानले गर्नुभएको थियो।









