बिर्तामोड, झापा/ बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो आठौं कार्यकालमा सम्पन्न भएका विकास, सेवा विस्तार तथा प्रविधिमैत्री व्यवस्थापनका उपलब्धिहरू सार्वजनिक गर्दै आगामी दिनमा अझ आधुनिक, प्रभावकारी र एकीकृत खानेपानी सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले बिहीबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गत आर्थिक वर्ष संस्थाका लागि सेवा विस्तार, गुणस्तर सुधार, प्रविधिको अधिकतम उपयोग तथा उपभोक्ता सन्तुष्टिका दृष्टिले अत्यन्त फलदायी र उत्साहजनक रहेको बताउँदै कार्यकालमा सम्पन्न भएका १६ वटा प्रमुख उपलब्धि सार्वजनिक गर्नुभयो ।

आगामी मंसिरमा संस्थाको नवौं कार्यकालका लागि निर्वाचन हुने तयारी भइरहेका बेला सार्वजनिक गरिएको प्रगति विवरणलाई आगामी योजनाको आधारसमेत मानिएको छ ।

अध्यक्ष बाँस्तोलाका अनुसार संस्थाले हाल बिर्तामोड नगरपालिकाका सबै १० वटा वडा तथा अर्जुनधारा नगरपालिकाको वडा नम्बर ५, ६ र ११ का केही क्षेत्रमा तीनवटा ओभरहेड ट्यांकी र थप दुईवटा उत्पादन आयोजनामार्फत खानेपानी वितरण गरिरहेको छ ।

करिब ५७५ किलोमिटर पाइपलाइन सञ्जालमार्फत ११ हजार धारा जडान गरी चौबीसै घण्टा शुद्ध खानेपानी उपलब्ध गराइँदै आएको उहाँले जानकारी दिनुभयो ।

संस्थामा दर्ता भएका उपभोक्ता ११ हजार भए पनि करिब एक लाख जनसंख्या प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भइरहेको उहाँको भनाइ थियो ।

सेवा विस्तारसँगै संस्थाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन एसियन हाइवेका कारण क्षति पुगेका पुराना पाइपलाइन प्रतिस्थापनलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।

चारआलीको देउनिया पुलदेखि लक्ष्मीपुर घाग्रा पुलसम्म दुवैतर्फ ६–६ किलोमिटर नयाँ पाइपलाइन विस्तार भइरहेको जानकारी दिँदै अध्यक्ष बाँस्तोलाले यसले भविष्यमा खानेपानी आपूर्तिलाई थप सुरक्षित र भरपर्दो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

यस अवधिमा शनिश्चरे रोड, महानन्द चोक, हर्कलाल मार्ग, गरामनी क्षेत्र, माता मन्दिर मार्ग, सगरमाथा चोक–धर्मकाटा रोडलगायत विभिन्न स्थानमा नयाँ एचडीपीई पाइपलाइन विस्तार गरिएको छ ।

ग्रामीण तथा नयाँ बस्तीमा समेत करिब ५२ किलोमिटर अतिरिक्त पाइपलाइन विस्तार गरी नयाँ उपभोक्तासम्म शुद्ध खानेपानीको पहुँच पु¥याइएको संस्थाले जनाएको छ ।

खानेपानी उत्पादन वृद्धि र गुणस्तर सुधारका लागि संस्थाले विभिन्न स्थानमा नयाँ डिप बोरिङ, फिल्टर प्लान्ट, उच्च क्षमताका ट्रान्सफर्मर, पम्प प्रणाली तथा आवश्यक पूर्वाधार निर्माण गरेको छ ।

अर्जुनधारा–६ स्थित आयोजना, विराटपोखर, ट्यांकी नम्बर १ तथा ट्यांकी नम्बर २ आसपासका क्षेत्रमा नयाँ संरचना निर्माण गरी पानी उत्पादन क्षमता उल्लेखनीय रूपमा बढाइएको अध्यक्ष बाँस्तोलाले बताउनुभयो ।

उहाँका अनुसार संस्थाले उपभोक्तामैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै प्रत्येक धारामा ग्राहक नम्बर र क्यूआर कोड सहितको घर नम्बर प्लेट जडान गर्ने अभियान पनि सञ्चालन गरिरहेको छ । यसले उपभोक्ताको पहिचान, सेवा व्यवस्थापन तथा बिलिङ प्रणालीलाई थप सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

संस्थाले पछिल्लो समय जीआईएस (Geographic Information System) प्रविधिको प्रयोगलाई पनि प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । यस प्रणालीमार्फत सम्पूर्ण पाइपलाइन, भल्भ, चेम्बर, पम्प, प्रशोधन केन्द्र तथा ओभरहेड ट्यांकी एउटै डिजिटल नक्सामा हेर्न सकिने व्यवस्था गरिएको छ ।

पाइपलाइन जडान भएको मिति, उपयोग अवधि, मर्मत आवश्यक पर्ने स्थान तथा भविष्यका विस्तार योजनासमेत सहज रूपमा विश्लेषण गर्न सकिने भएकाले यसले व्यवस्थापनलाई थप आधुनिक बनाएको अध्यक्ष बाँस्तोलाको भनाइ छ ।

पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बाँस्तोलाले आगामी कार्यकालका तीन महत्त्वपूर्ण योजना पनि सार्वजनिक गर्नुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षदेखि टेकबहादुर गिरी बसपार्क क्षेत्रमा थप एउटा डिप बोरिङ आयोजना सञ्चालनको अन्तिम तयारी भइरहेको छ, जसलाई संस्थाको छैटौं आयोजनाका रूपमा सञ्चालन गरिनेछ ।

त्यस्तै, बिर्तामोड क्षेत्रमा सञ्चालनमा रहेका अन्य खानेपानी आयोजनालाई क्रमशः एकीकृत गर्दै एकीकृत सामुदायिक बृहत् खानेपानी आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ ।

निकट भविष्यमा चारपाने चोकदेखि दक्षिण बाह्रदशी र हल्दीबारी सीमासम्मका बासिन्दालाई खानेपानी सेवा पुर्याउने उद्देश्यले त्यहाँ पनि नयाँ डिप बोरिङ आयोजना सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ ।

यद्यपि, संस्थाले सेवा प्रवाहका क्रममा विभिन्न चुनौतीहरू सामना गर्नुपरेको जनाएको छ ।

जथाभावी जग्गा प्लटिङ, सडक तथा ढल निर्माण गर्दा समन्वयको अभावका कारण पाइपलाइनमा बारम्बार क्षति पुग्ने गरेको, करिब ३० वर्षअघि विस्तार गरिएका पाइपलाइन अहिले सडकको बीचभाग वा धेरै गहिराइमा परेकाले मर्मत गर्न कठिनाइ भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

तीव्र शहरीकरणका कारण सेवा क्षेत्रमा बसाइँसराइ बढ्दै जाँदा पानीको माग उच्च दरले बढेको र उपलब्ध स्रोतबाट सबै माग तत्काल पूरा गर्न चुनौती रहेको संस्थाले जनाएको छ ।

निर्माणाधीन एसियन हाइवे परियोजनाका कारण विभिन्न स्थानमा पाइपलाइन क्षतिग्रस्त हुँदा पानी आपूर्तिमा अवरोध आएको, सडक तथा ढल निर्माणका क्रममा संस्थासँग आवश्यक समन्वय नहुँदा शुद्ध खानेपानी सेवा प्रभावित भएको तथा मौसम परिवर्तनका कारण पुराना पाइपलाइन फुट्ने र अवरोध हुने समस्या पनि बढ्दै गएको अध्यक्ष बाँस्तोलाले बताउनुभयो।

यस्ता चुनौती समाधानका लागि स्थानीय तह, निर्माण व्यवसायी तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँले जोड दिनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा संस्थाका सल्लाहकार हर्कलाल गिरी, राजकुमार पोखरेल, मदनगोपाल सुब्बा, राजेन्द्रप्रसाद लिङ्देन, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौला, कोषाध्यक्ष शारदा रिजाल लगायत पदाधिकारी, सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव पारसमणि मैनालीले गर्नुभएको थियो ।