बिर्तामोड, झापा/ श्रम संस्कृति पार्टी झापाले जनकपुरधामस्थित रामजानकी मन्दिरमा पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ र पार्टीका कार्यकर्तामाथि भएको भनिएको दुर्व्यवहारको निष्पक्ष छानबिन गरी घटनामा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।
बिहीबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष केशव भण्डारीले धार्मिक आस्था र नेपालको संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रताको अधिकारअनुसार प्रत्येक नागरिकले कुनै पनि धार्मिक स्थलमा सम्मानपूर्वक दर्शन गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै त्यस अधिकारमाथि हस्तक्षेप गर्ने, त्रास सिर्जना गर्ने तथा धार्मिक आस्थालाई विवादको विषय बनाउने गतिविधि निन्दनीय भएको बताए।
उनका अनुसार पार्टीका अध्यक्ष साम्पाङ मधेश प्रदेशका राजनीतिक तथा संगठनात्मक कार्यक्रममा सहभागी हुने क्रममा पूर्वनिर्धारित कार्यतालिकाअनुसार रामजानकी मन्दिरमा दर्शन गर्न पुगेका बेला उनी र पार्टीका कार्यकर्तामाथि दुर्व्यवहार भएको थियो। भण्डारीले यसअघि पनि पार्टीका सांसद आरेन राईप्रति यस्तै प्रकारको व्यवहार भएको दाबी गर्दै पछिल्लो घटनाले धार्मिक सहिष्णुता र नागरिक अधिकारमाथि प्रश्न उठाएको बताए।
पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले पार्टी स्वदेशी लगानी, श्रमदान र उत्पादनमुखी विकासको अवधारणालाई अघि बढाउँदै आएको उल्लेख गर्दै पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङमाथि भएको व्यवहार जातीय विभेदबाट प्रेरित भएको पार्टीको ठहर रहेको बताए। उनले यस्ता घटनाले सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्ने भएकाले राज्यले निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरे।
उनले सामाजिक सञ्जालमार्फत पार्टीका सांसदलाई लक्षित गर्दै ज्यान मार्ने धम्कीसमेत दिइएको दाबी गर्दै त्यस विषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। यस्ता गतिविधिले लोकतान्त्रिक अभ्यास, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सुरक्षित रूपमा राजनीतिक गतिविधिमा सहभागी हुने अधिकारमाथि चुनौती सिर्जना गर्ने उनको भनाइ थियो।
अध्यक्ष भण्डारीले समाजमा निषेधको राजनीति गर्ने, जातीय द्वन्द्व भड्काउने तथा सामाजिक सद्भाव बिगार्ने प्रयास गर्ने तत्वप्रति पार्टी सचेत रहेको उल्लेख गर्दै विकास, श्रम, उत्पादन र आपसी सहकार्यको मार्गमा अघि बढेको समाजलाई विभाजन गर्न खोज्ने गतिविधिविरुद्ध सबै नागरिक सचेत हुनुपर्ने धारणा राखे। उनले कुनै पनि बहानामा समाजलाई जातीय वा धार्मिक आधारमा विभाजित गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।
भण्डारीले धार्मिक स्थलमा पुग्ने सबै नागरिकको शान्ति–सुरक्षाको प्रत्याभूति गराउने दायित्व सरकारको भएको उल्लेख गर्दै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन राज्य संवेदनशील र जिम्मेवार बन्नुपर्ने बताए। उनले उक्त घटनालाई सम्पूर्ण हिन्दु धर्मावलम्बीसँग जोडेर व्याख्या गर्न नहुने पनि स्पष्ट पारे। उनका अनुसार वास्तविक सनातन हिन्दु धर्मावलम्बीहरूले कहिल्यै पनि अमर्यादित, असहिष्णु वा अराजक गतिविधिलाई समर्थन गर्दैनन्।
पत्रकारहरूले श्रम संस्कृति पार्टी जातीय आधारमा स्थापित राजनीतिक दल हो कि भन्ने जिज्ञासा राखेपछि अध्यक्ष भण्डारीले पार्टी कुनै जाति वा समुदाय विशेषको नभई श्रम, उत्पादन, समानता र सामाजिक न्यायको पक्षमा रहेको बताए। उनले नेपाली समाजलाई विगतदेखि नै जातीय तथा धार्मिक विभेदका आधारमा विभाजन गर्ने प्रयास हुँदै आएको उल्लेख गर्दै नागरिकहरू यस्ता गतिविधिप्रति सचेत हुनुपर्ने धारणा व्यक्त गरे।
श्रम संस्कृति पार्टीले सनातन हिन्दु धर्मसहित नेपालका सबै धर्म, भाषा, जातजाति, संस्कृति र परम्पराप्रति समान सम्मान रहेको पुनः स्पष्ट गर्दै देशमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबै पक्षले संयमता अपनाउनुपर्ने जनाएको छ। पार्टीले आफ्ना नेता तथा कार्यकर्तालाई पनि संयमित, अनुशासित र शान्तिपूर्ण ढंगले आफ्ना गतिविधि सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ।
पत्रकार सम्मेलनमा पार्टीका नेतृ ससिता राई, हिमालय प्रकाश कन्दङवा लगायत जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारसँग प्रभावकारी कदम चाल्न माग गरेका थिए।








