बिर्तामोड, झापा / झापाको बिर्तामोड कृषि बजारको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य शम्भु ढकाल (सुस्केरा) को नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बिर्तामोड कृषि बजारको वर्तमान अवस्था, व्यवस्थापन, समस्या तथा सुधारका उपायबारे विस्तृत छलफल गरिएको थियो ।

बजारको दीर्घकालीन व्यवस्थापनका लागि कृषक तथा व्यवसायीबाट सुझावसमेत संकलन गरिएको थियो ।

अनुगमनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा बजारका विद्यमान चुनौती र समाधानका सम्भावित उपायहरूबारे सरोकारवालाबीच खुला छलफल भएको थियो ।

सो अवसरमा कृषि बजारका स्टलको अनुगमन गर्दै संसद सम्भु ढकाल(सुस्केराले) ब्यवसायी साथै कृषकहरुसँग समेत अन्तक्रिया गर्नुभएको थियो ।

कार्यक्रममा कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष निरजकुमार ओलीले कृषि बजारको वर्तमान अवस्था, देखिएका समस्या, चुनौती तथा समाधानका लागि समितिले गरिरहेका प्रयाससम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

छलफलका क्रममा कृषि बजार व्यवस्थापनसम्बन्धी विभागले निर्माण गर्ने निर्देशिका, कार्यविधि तथा प्रचलित ऐनमा आवश्यक संशोधन गरी कृषि बजारभित्र बहुतले संरचना निर्माण गर्न सक्ने स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो ।

हाल कृषि बजारसम्बन्धी निर्देशिका, कार्यविधि तथा कानुनमा बहुतले भवन निर्माणका विषयमा स्पष्ट व्यवस्था नहुँदा बजारभित्र एकतले जस्तापाताको छानो भएको संरचनाको डीपीआर तयार भए पनि कार्यान्वयन हुन नसकेको जानकारी सरोकारवालाले गराएका थिए ।

सोही विषयमा सांसद शम्भु ढकाललाई जानकारी गराउँदै आवश्यक कानुनी तथा नीतिगत सुधारका लागि पहल गरिदिन आग्रह गरिएको थियो ।

सरोकारवालाहरूले नीतिगत सुधार, आधुनिक पूर्वाधार निर्माण र कानुनी स्पष्टतामार्फत बिर्तामोड कृषि बजारलाई व्यवस्थित, प्रतिस्पर्धी र दीर्घकालीन रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरेका छन् ।

बिर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष निरजकुमार ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका झापा जिल्लाका नेता तथा कार्यकर्ता, कृषि बजार व्यवस्थापन समितिका पदाधिकारी, कर्मचारी, कृषक तथा व्यवसायीहरूको सहभागिता रहेको थियो ।