बिहिवार, असार २५, २०८३
Sancharmanch

धान खेतीमा आधुनिक प्रविधि र विषादीको सुरक्षित प्रयोगबारे कृषक अभिमुखीकरण, दुई कृषक सम्मानित

Posted by:
बिहिवार, असार २५, २०८३

अर्जुनधारा, झापा / झापाको अर्जुनधारा नगरपालिका वडा नं. ४ मा धान खेतीमा आधुनिक प्रविधि तथा विषादी नियन्त्रण सम्बन्धी एकदिने कृषक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अवसरमा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका दुई जना कृषकलाई सम्मानसमेत गरिएको छ।

बिहीबार आयोजित कार्यक्रममा स्थानीय कृषक लक्ष्मी खनालटिकामाया पौडेललाई सम्मान गरिएको थियो।

कृषि बजार व्यवस्थापन समिति, बिर्तामोडको आर्थिक सहयोग, अर्जुनधारा नगरपालिका कृषि विकास शाखाको प्राविधिक सहयोग तथा उमङ्ग कृषि तरकारी, फलफूल, बोटबिरुवा तथा पशुपन्छी कृषक समूह, अर्जुनधारा–४ को आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

अर्जुनधारा–४ स्थित भाङ्गबारीको ज्येष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा अर्जुनधारा नगरपालिका कृषि विकास शाखाका प्रमुख वीरमाया बाँकाबल मगर तथा शाखाका प्राविधिकहरूले धान खेतीमा आधुनिक प्रविधिको प्रयोग, विषादीको सुरक्षित प्रयोग र त्यसका प्रभावका विषयमा प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले यस्ता प्रशिक्षणले कृषकलाई विषादीको सही प्रयोग, त्यसबाट हुने असर तथा सुरक्षित कृषि अभ्यासबारे जानकारी प्राप्त गर्ने राम्रो अवसर मिलेको बताउनुभयो।

राजनीतिज्ञ तथा समाजसेवी कृष्ण हुमागाईंले बिर्तामोड कृषि थोक बजारको सेवा क्षेत्रभित्र अर्जुनधारा पनि पर्ने उल्लेख गर्दै विषादीको अविवेकी प्रयोगका कारण क्यान्सरजस्ता गम्भीर रोग बढ्दो अवस्थामा रहेको भन्दै सचेत रहन कृषकलाई आग्रह गर्नुभयो।

कृषि थोक बजार, बिर्तामोडका अध्यक्ष निरज ओलीले कृषक समूहमार्फत विषादीको प्रयोग र त्यसका असरबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

उहाँले कृषि थोक बजारमा कृषकहरूले आफ्ना कृषि उपज प्रत्यक्ष बिक्री–वितरण गर्न सक्ने व्यवस्था मिलाउन ‘कृषक चौतारी’ सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।

अर्जुनधारा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अम्बरबहादुर कटुवालले विगत केही वर्षदेखि वडामा कृषि आधुनिकीकरणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताउँदै आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादन वृद्धि र कृषकको आम्दानी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विषादी प्रयोगशाला, बिर्तामोडकी प्राविधिक अम्बिका बोहोरा, कृषि बजार व्यवस्थापन समितिकी सदस्य पार्वता बजगाईं लगायतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो।

उमङ्ग कृषि तरकारी, फलफूल, बोटबिरुवा तथा पशुपन्छी कृषक समूहका अध्यक्ष पहलमान खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको स्वागत समूहकी सचिव प्रविना उप्रेतीले गर्नुभएको थियो भने सञ्चालन समूहकी सदस्य गंगा पोखरेल खतिवडाले गर्नुभएको थियो।

सम्बन्धित खबर