अर्जुनधारा, झापा / झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ ले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ ।

वडाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत कृषकको उत्पादन लागत घटाई कृषि कार्यलाई सहज बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

वडा अध्यक्ष भीष्म मिश्रले आफ्नो कार्यकालदेखि नै प्रत्येक वर्ष कृषकमैत्री कार्यक्रमलाई प्राथमिकतामा राख्दै कृषि औजार वितरण गर्दै आएको बताउनुभयो। आर्थिक वर्ष २०८२/०८३ मा यस कार्यक्रमका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

यस वर्ष वितरण गरिएका सामग्रीमध्ये १ सय जना कृषकलाई एक चक्के म्यानुअल हलो तथा ७० जना कृषकलाई सामान ओसारपसारका लागि प्रयोग हुने फर्माना (ट्रली) प्रदान गरिएको छ ।

वडा कार्यालयबाट ५० प्रतिशत अनुदानमा कृषि उपकरण प्राप्त भएपछि खेतीपातीमा सहजता आउने र उत्पादन लागत घट्ने विश्वासका साथ कृषकहरू उत्साहित बनेका छन् । स्थानीय कृषक देवीचरण सापकोटाले अनुदानमा प्राप्त औजारले कृषि कार्यमा प्रत्यक्ष सहयोग पुगेको बताउनुभयो ।

स्थानीय लिलादेवी मिश्रले वडा नं. ९ ले कृषि, पूर्वाधार तथा जनहितका विभिन्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै यस्ता कार्यक्रमले स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गर्नुभयो ।

कृषकमैत्री कार्यक्रमलाई निरन्तरता दिँदै आएको वडा नं. ९ को यस पहलले कृषि आधुनिकीकरण, उत्पादन वृद्धि तथा कृषकको आर्थिक सशक्तीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।