शनिवार, असार २०, २०८३
Sancharmanch

नेपाल प्रहरी परिवारलाई स्वरोजगारतर्फ उन्मुख गर्न दुई महिने परम्परागत ढाका बुनाइ तालिम सुरु

Posted by:
शनिवार, असार २०, २०८३
काठमाडौं / गोपाल गौरी दिगो विकास प्रतिष्ठान र नेपाल प्रहरी श्रीमती महिला संघ केन्द्रीय कार्यालयको साझेदारीमा दुई महिने परम्परागत ढाका बुनाइ तालिम उद्घाटन गरिएको छ । महेन्द्र प्रहरी क्लब, भृकुटीमण्डपमा सञ्चालन हुने तालिममा १० जना सहभागी रहने जनाइएको छ । सहभागीहरूमा अमर तथा शहीद प्रहरी परिवार र सकलदर्जा प्रहरी परिवारका सदस्यहरू रहने बताइएको छ । नेपाल प्रहरी र गोपाल गौरी दिगो विकास प्रतिष्ठानबीचको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष इन्दिरा शर्मा नेपाल प्रहरीको अवकाशप्राप्त कर्मचारी भएकाले पनि नेपाल प्रहरी र प्रतिष्ठानबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध कायम रहेको बताइएको छ । प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष इन्दिरा शर्माले स्वागत गर्नुभएको कार्यक्रममा नेपाल प्रहरी श्रीमती महिला संघ केन्द्रीय कार्यालयकी अध्यक्ष नविना क्षेत्री (कार्की)ले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । आयोजकका अनुसार दुई महिनासम्म सञ्चालन हुने तालिमले नेपाल प्रहरीका परिवारका सदस्यलाई सीपमूलक ज्ञान प्रदान गर्दै स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ । तालिम सञ्चालनका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने तालिम २०८३ साल भदौ २१ गते सम्पन्न हुने जनाइएको छ । कार्यक्रमको अध्यक्षता नेपाल प्रहरी श्रीमती महिला संघकी केन्द्रीय अध्यक्ष नविना क्षेत्री (कार्की)ले गर्नुभएको थियो । कार्यक्रममा श्रीमती संघकी सचिव सङ्गीता लम्साल, कोषाध्यक्ष राधिका ज्ञवाली, गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष इन्दिरा शर्मा, महासचिव गीता न्यौपाने, सचिव सुनिता खतिवडा, कोषाध्यक्ष अम्बिका भट्ट, सदस्य बन्दना दाहाल, सल्लाहकार बाबुराम भट्ट, प्रशिक्षक यमुना पुलामी मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन श्रीमती संघकी सहसचिव मञ्जु पौडेलले गर्नुभएको थियो । सीप, स्वरोजगार र आत्मनिर्भरतामा केन्द्रित यस प्रकारका तालिमले नेपाल प्रहरी परिवारका सदस्यहरूको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउनुका साथै परम्परागत नेपाली ढाका बुनाइ कलाको संरक्षण र प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।  
सम्बन्धित खबर