शुक्रवार, असार १९, २०८३
Sancharmanch

नेपाली कांग्रेसले निर्धारित समयमै महाधिवेशन गरेर स्थानीय र प्रदेशसभा निर्वाचनको तयारी थाल्ने

Posted by:
शुक्रवार, असार १९, २०८३
विर्तामोड १९ असार / नेपाली कांग्रेसका सहमहामन्त्री डा। डिला संग्रौलाले  निर्धारित समयमै महाधिवेशन गरेर स्थानीय र प्रदेशसभा निर्वाचनको तयारी थाल्ने योजनामा पार्टी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा नेपाली कांग्रेस झापाका पदाधिकारी, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ/नगर सभापति र नेविसंघ, तरुण दल र महिला संघका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भेलालाई  प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो योजना रहेको बताउनुभएको हो । वर्तमान समय डिजिटल युगको समय भएको बताउँदै नेता संग्रौलाले सामाजिक सञ्जालको स्टन्टबाजीले मुलुकको राजनीति हल्लाइदिएको बताउँनुभयो । नेपाली कांग्रेसलाई पनि समयानुकुल बनाउन डिजिटल माध्यमबाट क्रियाशिल सदस्यता अध्यावधिक थालिएको उहाँको भनाई छ । पार्टीले क्रियाशिल सदस्यता वितरण, वडा समितिदेखि केन्द्रीय समितिसम्म ३५ बर्षमुनीका युवा र महिलालाई  समेट्ने नीति लिएको बताउँदै उहाँले पार्टीभित्र युवा र महिलाका लागि विशेष अवसर सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य बसन्त भट्टराईले १४ औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेक सबै पदाधिकारी र सदस्यहरुलाई केन्द्रीय समितिमा समायोजन गरिनुपर्ने इतर समूहको माग सम्बोधन गर्न विधानतः नमिल्ने धारणा राख्नुभयो । झापामा क्रियाशिल सदस्यता अध्यावधिक कार्य राम्ररी भएको बताउँदै उहाँले फिजिकलबाट डिजिटल युगमा जाने पार्टीको अभियान सफल पार्न सबै तहका नेता–कार्यकर्तालाई अपिल पनि गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य राजीव ढुङ्गानाले संगठनको आधारस्तम्भ क्रियाशिल सदस्य रहेको बताउँदै क्षेत्रीय प्रतिनिधि वा महाधिवेशन प्रतिनिधि बन्ने स्वार्थ राखेर क्रियाशिल वितरण नगर्न पनि आग्रह गर्नुभयो । एक फरक प्रसङ्गमा उहाँले रास्वपालाई विश्वासको मत दिएका जनता उक्त पार्टीले मतको सदुपयोग गर्न नसक्ने निष्कर्षमा पुग्न थालेको बताउँदै  सीमाका विषयमा प्रधानमन्त्रीले दिएको अभिब्यक्ति राष्ट्र र राष्ट्रियताका लागि खतरा रहेको टिप्पणी गर्नुभयो । सुशासन र सुकुम्बासीका सवालमा गरेका कामले रास्वपाको नियतमाथि नै प्रश्न उठ्न थालेको उहाँको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले झापामा २२ हजार एकसय ७७ जनाले क्रियाशिल सदस्यता अध्यावधिक गरेको जानकारी दिदै यसकार्यमा खटिने वडासमितिसहित सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपाली कांग्रेस कोशी प्रदेश समितिका सदस्य उत्तम चम्लागाई, महासमिति सदस्य दिपेन्द्र ढकाल, नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, १ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, लक्ष्मीप्रसाद आचार्य, बिनोद ढकाल, दुर्गाप्रसाद प्रसाई, सुदय पनेरु, गङाप्रसाद प्रसाईं, तुलाराम अधिकारी लगायतले क्रियाशिल सदस्यता अध्यावधिकमा देखिएका प्राविधिक समस्याका विषयमा जिज्ञाशा राख्नुभएको थियो । कार्यक्रममा सहजीकरण नेपाली कांग्रेस झापाका सचिव नवीन विमलीले गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु सुधिरकुमार शिवाकोटी, सुरेश सुब्बा, उमा शिवाकोटी, हिमालय कर्माचार्य,  दिपनकुमार श्रेष्ठ, नेपाल तरुण दल केन्द्रीय प्रतिनिधि बहादुर तामाङ, नेपाल लोकतान्त्रिक थारु संघ केन्द्रीय सदस्य शोभा कार्की चौधरी लगायत नेपाली कांग्रेसका क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ÷नगर सभापति एवं भातृ संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
सम्बन्धित खबर