शिवसताक्षी, झापा / झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ले बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

बिहीबार शिवगञ्ज आधारभूत अस्पतालको नयाँ भवनमा आयोजित शिविर वडा नं. ६ का बासिन्दामा मात्र सीमित नभई नगरभरका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको थियो ।

वडाको बजेट बाट शिवसताक्षी नगरपालिकाभरका नागरिकहरुका लागि सूचना गरेरै शिविर सञ्चालन गरिएको वडा अध्यक्ष मनोज खुला कार्कीले बताउनुभयो ।

मेची आँखा अस्पतालको प्राविधिक सहयोग तथा वडा कार्यालयको एक लाख रुपैयाँ बजेट व्यवस्थापनमा सञ्चालन गरिएको शिविरमा ३५० जना नागरिकले सेवा लिएको जनाइएको छ ।

सेवा लिनेमध्ये २०० जना महिला र १५० जना पुरुष रहेको बताइएको छ ।

वडाले नीति तथा कार्यक्रम निर्माण गर्दा स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्दै नगरका सम्पूर्ण नागरिकहरुले लाभ लिन सक्नेगरी कार्यक्रमको आयोजना भएको वडा सचिव शान्तिराम रिमालले बताउनुभयो ।

शिविरमा सामान्य आँखा परीक्षणदेखि मोतियाबिन्दु लगायतका जटिल समस्याको पहिचान गरिएको थियो ।

परीक्षणका क्रममा १५ जनामा शल्यक्रिया (अपरेसन) गर्नुपर्ने मोतियाबिन्दुको समस्या देखिएको जनाइएको छ । उनीहरूलाई आवश्यक शल्यक्रियासहितको उपचार पनि निःशुल्क उपलब्ध गराइने जानकारी दिइएको छ । वडा नं. ६ ले पारदर्शी ढंग बाट कार्य सम्पादन गरिरहेको वडा सदस्य नरेन्द्र बस्नेतले बताउनुभयो ।

शिविरमा आँखाको परीक्षण, आवश्यक औषधि तथा चस्मा समेत निःशुल्क वितरण गरिएको थियो । गाउँघरमै सेवा पुगेपछि बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा स्वास्थ्य सेवा लिन पाएका थिए ।

विशेषगरी विपन्न तथा असहाय नागरिकका लागि शिविरले ठूलो राहत पुगेको स्थानीयवासीले बताएका छन् । वास्तमै शिविरले नागरिकहरुलाई राहत मिलेको साथै सेवा सुविधा प्राप्त भएको शिवसताक्षी नगरपालिका वडा नं. ११ का अनिश तामाङले बताउनुभयो ।

वडा अध्यक्ष मनोज खुलाल कार्की दोस्रो कार्यकालका लागि वडा नेतृत्वमा रहनुभएको छ ।

सीमित बजेटका बाबजुद नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने जनमुखी कार्यक्रम सञ्चालन गर्दै आउनुभएको उहाँको कार्यशैलीको स्थानीयवासीले प्रशंसा गर्ने गरेका छन् ।

वडाले सबै पक्षलाई हित हुने गरी कार्य सम्पादन गरिरहेको वडा सदस्य गंगा प्रसाद ताजपुरियाले बताउनुभयो ।

पहिलो कार्यकालमा दुःखमा परेका नागरिकलाई आर्थिक सहयोग उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरी उदाहरणीय अभ्यासको सुरुवात गर्नुभएको वडा अध्यक्ष कार्कीले दोस्रो कार्यकालमा मृत्युदर्ता प्रमाणपत्र घर–घरमै पुर्याउने सेवा सुरु गरेर अर्को नवीन अभ्यासको थालनी गर्नुभएको छ ।

वडाले सञ्चालन गरेको शिविर वाट नागरिकहरु खुसी भएको वडा सदस्य गिता दर्जीले बताउनुभयो ।

वडाले स्वास्थ्य, सामाजिक सुरक्षा र सहज सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता जनहितमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

गाउँघरमै विशेषज्ञ आँखा सेवा पुगेपछि सयौँ नागरिक लाभान्वित भएका छन्।

स्थानीय तहको यस्तो जनमुखी अभियानले स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सहज बनाएको विश्वास गरिएको छ ।