बिर्तामोड, झापा / सामाजिक सेवालाई निरन्तर अभियानका रूपमा अघि बढाउँदै आएको ऊर्जाशील रामधुनी आमा समूह विगत पाँच वर्षदेखि सरकारको पहुँच नपुगेका क्षेत्रमा सहयोग पुर्याउँदै सक्रिय रहँदै आएको छ ।

समूहले आर्थिक अभावमा रहेका तथा समस्यामा परेका नागरिकलाई खाद्यान्न, नगद तथा आवश्यक सामग्रीसहित सहयोग गर्दै आएको छ । मासिक कार्यतालिका नै बनाएर नियमित रूपमा सामाजिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको समूहले जनाएको छ । सोही अभियानलाई निरन्तरता दिँदै समूहले बिर्तामोड नगरपालिका वडा नं. ४ निवासी अपाङ्ग तथा एकल जीवन बिताइरहेका पेल्कु माझीलाई नगद सहयोग गरेको छ ।

पेल्कु माझी श्रीमतीको निधनपछि थप कष्टपूर्ण जीवन बिताउन बाध्य हुनुभएको छ । दम्पतीका कुनै सन्तान छैनन् । दुवै हातखुट्टा चल्न नसक्ने शारीरिक अवस्थाका माझीलाई लामो समयदेखि श्रीमतीले नै स्याहार–सुसार गर्दै आउनुभएको थियो । तर अचानक श्रीमतीको निधनपछि उहाँको दैनिक जीवन झन् कठिन र दयनीय बनेको छ ।

यस्तो विषम परिस्थितिमा समाजसेवी मिरा सिलवालको जन्मदिनको अवसरमा प्राप्त सहयोग रकमबाट पेल्कु माझीलाई नगद सहयोग गरिएको ऊर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा शिवाकोटी (ढकाल) ले जानकारी दिनुभयो ।

समूहका अनुसार मिरा सिलवाल प्रोग्रेसिभ इङ्लिस बोर्डिङ स्कुलकी संस्थापक हुनुका साथै निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) काठमाडौंकी अध्यक्षसमेत हुनुहुन्छ ।

काठमाडौंको चुच्चेपाटी, महाकाल निवासी सिलवालले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै उपलब्ध गराएको सहयोगले विपन्न परिवारको चुलोमा आगो बाल्न र कठिन परिस्थितिमा रहेका नागरिकको जीवनमा आशाको किरण थप्न महत्वपूर्ण योगदान पुगेको समूहले जनाएको छ ।

ऊर्जाशील रामधुनी आमा समूहले आगामी दिनमा पनि समाजका असहाय, अशक्त, ज्येष्ठ नागरिक, एकल महिला तथा विपन्न परिवारको पहिचान गरी सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

स्थानीय समुदायमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण बनेको समूहको यस अभियानको स्थानीयवासीले प्रशंसा गरेका छन् ।